काठमाडौँ । ललितपुरको प्रसिद्ध रातो मछिन्द्रनाथ रथका पाङ्ग्रा पुनः निर्माण गर्ने काम सम्पन्न भएको छ। आगामी २०८३ सालको रथजात्रालाई लक्षित गर्दै माघ ९ गते श्रीपञ्चमीका दिन विधिवत् रूपमा सुरु गरिएको पाङ्ग्रा निर्माण कार्य हिजो सम्पन्न भएको रथ निर्माण टोलीका नाइके दिलकुमार बाराहीले जानकारी दिनुभयो।
पाङ्ग्रा निर्माण सम्पन्न भएसँगै आज सिद्ध पूजा गरिनेछ। सामान्यतया हरेक १२ वर्षमा पाङ्ग्रा परिवर्तन गर्ने परम्परा भए पनि गएको भदौ २४ गते नवयुवा आन्दोलनका क्रममा भएको आगजनीमा रथका दुई पाङ्ग्रा जलेर क्षतिग्रस्त भएपछि यस वर्ष पुनः निर्माण गरिएको हो।
२०८४ सालमा १२ वर्षे जात्रा पर्ने भए पनि २०८३ सालमै नयाँ पाङ्ग्रा बनाउनु आवश्यक भएको बाराहीले बताउनुभयो। रथ निर्माण कार्य पुल्चोकमा गरिने परम्परा रहेको छ भने पाङ्ग्रा निर्माण ललितपुरको बेलाछेँ टोलमा गरिन्छ।
पाङ्ग्रा निर्माणसम्बन्धी काठको काम नेवार समुदायअन्तर्गत बाराही र बोसी जातिका व्यक्तिहरूले गर्दै आएका छन्। रथका चारवटा पाङ्ग्रालाई हरिसिद्धि, लुप्तसंहार, टीकाभैरव र नन्दीकुन्द गरी चार भैरवको प्रतीकका रूपमा मान्ने चलन छ। रातो मछिन्द्रनाथको रथजात्रा २०८३ साल बैशाख ५ गते रथारोहण गरी बैशाख ८ गतेदेखि पुल्चोकबाट रथ तान्दै सुरु गरिने कार्यक्रम तय भएको छ।