भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक | मानव अधिकार आयोगको प्रतिवेदन पुनरावलोकन गर्न ओलीको माग, निर्णय सच्याउन निवेदन | ‘कर हटाउने होइन, विकल्प पनि देखाउनुस्’ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले | निर्माण व्यवसायीसँग प्रधानमन्त्रीको छलफल : समस्या समाधान र लगानी वातावरण सुधारमा सरकार प्रतिबद्ध | सरकारी खाता बन्द, अन्तिम दिन भुक्तानीको उच्च चाप | राहदानी विभाग अगाडि एक पुरुषको आत्मदाह प्रयास, वीर अस्पतालमा उपचार हुँदै | नक्कली भुटानी शरणार्थी काण्डमा टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहित १५ जना दोषी ठहर |

दोलखामा शिवप्रसाद भण्डारीसहितका नेताहरू एमालेमा समाहित, संगठन मजबुत हुने विश्वास

दोलखामा शिवप्रसाद भण्डारीसहितका नेताहरू एमालेमा समाहित, संगठन मजबुत हुने विश्वास

दोलखा, ११ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) दोलखाका संस्थापक नेता शिवप्रसाद भण्डारी पुनः एमालेमै फर्किएका छन् । नेतृ कल्पना भण्डारी, भीमेश्वर नगरपालिकाकी पूर्वउपमेयर शान्त बस्नेतसहित जिल्लाका प्रभावशाली नेता तथा कार्यकर्ताहरू पनि एमालेमा समाहित भएका छन् ।

भण्डारी एमाले दोलखाको दुई कार्यकाल पार्टी प्रमुख, पार्टी केन्द्रीय अनुशासन आयोग सदस्य तथा पूर्व जिविस उपसभापति भइसकेका नेता हुन् । सोमबार बिहान चरिकोटमा आयोजित पुनर्मिलन कार्यक्रममार्फत संस्थापक नेता भण्डारीसहितलाई एमाले दोलखाका उम्मेदवार एवं पूर्वसञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ ले औपचारिक रूपमा पार्टीमा स्वागत गरेका थिए ।

कार्यक्रममा एमाले नेता तथा पूर्वमन्त्री आनन्दप्रसाद पोखरेल, संस्थापक नेताद्वय जितवीर लामा र लालकुमार केसी, केन्द्रीय सदस्यहरू रचना खड्का, श्यामकुमार बस्नेतलगायत जिल्लाका अगुवा नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो । पुनर्मिलन कार्यक्रममा बोल्दै नेता भण्डारीले एमालेको सम्पूर्ण शक्ति एकजुट भएर जनतामाझ जाँदा मात्रै विजय हासिल गर्न सकिने बताए । उनले दोलखामा पार्टीलाई पहिलो शक्ति बनाउन सबै नेता–कार्यकर्तालाई समन्वय र सहकार्यसहित सक्रिय बन्न आह्वान गरे । ‘अब विभाजन र अन्तर्विरोध होइन, एकताको सन्देश लिएर जनताको घरदैलोमा पुग्नुपर्छ,’ उनको भनाइ थियो ।

नेता भण्डारीले आगामी निर्वाचनमा एमाले उम्मेदवार पार्वत गुरुङलाई विजयी गराउन आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको समेत बताए । ‘दोलखाको विकास र स्थायित्वका लागि एमालेको जित आवश्यक छ,’ उनले भने । चार वर्षअघि एमाले विभाजनपछि भण्डारी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) मा पोलिटब्युरो सदस्यको जिम्मेवारीमा थिए । पार्टी महाधिवेशनका क्रममा उनी घनश्याम भुसाल प्यानलबाट उपमहासचिव पदका उम्मेदवार बनेका थिए । अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको बहुमत निर्णयप्रति असहमति जनाउँदै भण्डारीसहित दोलखाका बहुसङ्ख्यक नेता–कार्यकर्ता पुनः एमाले एकतामा फर्किएका हुन् ।

एमाले नेताहरूले भण्डारीसहित अन्य नेताहरूको पुनरागमनले दोलखामा पार्टीको संगठन थप मजबुत बन्ने विश्वास व्यक्त गरेका छन् । पुराना नेताहरूको अनुभव र कार्यकर्तामाझको प्रभावले आगामी चुनावी अभियानमा सकारात्मक ऊर्जा थप्ने अपेक्षा गरिएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.