गुल्मी, ३ फागुन । नेपाल विद्युत प्राधिकरणले तम्घासदेखि बुर्तिबाङसम्म निर्माण सम्पन्न १३२ केभी डबल सर्किट प्रसारण लाइन आजदेखि परीक्षणसहित सञ्चालनमा ल्याउने भएको छ ।
यो प्रसारण लाइन रेसुङ्गा नगरपालिका–७ उनाएचौरस्थित तम्घास सवस्टेशनदेखि ढोरपाटन नगरपालिका–२ खल्टुबोटस्थित बुर्तिबाङ सवस्टेशनसम्म जोडिएको छ । लाइनमार्फत १३२ हजार भोल्ट क्षमताको विद्युत प्रवाह गरिने प्राधिकरणले जनाएको छ ।
उच्च भोल्टेजका कारण हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै प्राधिकरणले सर्वसाधारणलाई प्रसारण लाइनका टावरमा नचढ्न , तार वा संरचना नछुन , टावर वरिपरि नजान तथा पशुचौपायालाई नछोड्न आग्रह गरेको छ । जोखिम संकेत गरिएका स्थानबाट टाढा रहन र बालबालिकालाई सचेत गराउन पनि अनुरोध गरिएको छ । परीक्षणका क्रममा कतै झिल्का देखिए वा अन्य जोखिम देखिएमा नजिकको प्रहरी चौकी वा प्राधिकरण कार्यालयमा तुरुन्त जानकारी गराउन भनिएको छ । उक्त संरचना ‘बुर्तिबाङ–पौदीअमराई–तम्घास–सन्धिखर्क–गोरुसिंगे १३२ केभी प्रसारण लाइन आयोजना’ अन्तर्गत निर्माण गरिएको हो ।
यो लाइनको रुट पर्ने क्षेत्रहरूमा गुल्मीका विभिन्न वडा तथा बस्तीका साथै बागलुङ जिल्ला का वडिगाड गाउँपालिका र ढोरपाटन क्षेत्र समावेश छन् । आयोजना सञ्चालनमा आएपछि यी जिल्लामा विद्युत आपूर्ति थप स्थिर र विश्वसनीय हुने अपेक्षा गरिएको छ । प्राधिकरणका अनुसार प्रसारण लाइन **बुटवल**स्थित सवस्टेशनबाट अर्घाखाँची हुँदै गुल्मी र बागलुङसम्म जोडिएको संरचनासँग समन्वयमा सञ्चालन हुनेछ । विभिन्न स्थानमा निर्माण गरिएका सवस्टेशनहरूले विद्युत ओभरलोड कम गर्न र लाइन स्थायित्व बढाउन मद्दत गर्नेछन् ।
करिब चार अर्ब रुपैयाँभन्दा बढी लागतमा निर्माण गरिएको यस आयोजनाले लामो दूरीबाट आउने विद्युत आपूर्तिमा देखिने समस्या कम गर्ने विश्वास गरिएको छ । गुल्मीका उपभोक्ताले बारम्बार बत्ती जाने समस्याबाट राहत पाउने अपेक्षा गरिएको छ ।

