भर्खरै : Sorry, your browser does not support inline SVG.
कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या | गाईजात्राका सांस्कृतिक प्रस्तुतिलाई निरन्तरता दिनुपर्नेमा जोड | कोहलपुरमा सट्टेबाजी खेलाएको आरोपमा ४२ जना पक्राउ | स्वास्थ्यकर्मीमाथि आक्रमण गरे ५ वर्षसम्म कैदको प्रस्ताव | इरानमाथि ट्रम्पको कडा चेतावनीपछि चर्कियो विरोध | असोज ८ देखि १२ गतेसम्म बाढी–पहिरोको जोखिम, राति यात्रा नगर्न आग्रह |

उदयपुर र झापामा जंगली हात्तीको आतंक, घर भत्किएपछि स्थानीय त्रसित

उदयपुर र झापामा जंगली हात्तीको आतंक, घर भत्किएपछि स्थानीय त्रसित

काठमाडौं,१५ असार । उदयपुर र झापाका विभिन्न बस्तीमा जंगली हात्ती प्रवेश गरी घर भत्काउने, अन्नबाली नष्ट गर्ने र स्थानीयलाई त्रसित बनाउने घटना बढ्दै गएको छ।

उदयपुरको चौदण्डीगढी नगरपालिका–७ कुमाङ लामाचौर क्षेत्रमा आइतबार राति जंगली हात्ती प्रवेश गर्दा कम्तीमा ६ वटा घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

प्रहरीका अनुसार बुद्धिमान राई, राधा विक, रोशन विक, बमबहादुर विक, वीरबहादुर मगर र दिलबहादुर मगरका कर्कटपाताको छानो भएका काठका घर हात्तीले भत्काएको छ। घरमा रहेको अन्नपातसमेत हात्तीले नष्ट गरेको जनाइएको छ।

हात्ती गाउँमा प्रवेश गरेपछि स्थानीयवासी रातारात घर छाडेर सुरक्षित स्थानतर्फ भागेका थिए। घरमा क्षति पुगेका परिवारका लागि चौदण्डीगढी नगरपालिकाले अस्थायी बसोबासको व्यवस्था गरेको छ।

प्रहरीका अनुसार कोशीटप्पु क्षेत्रबाट आएको हात्तीको समूह हाल लामाचौर र ४५ चोक आसपासको जंगल क्षेत्रमा रहेको छ। स्थानीयको सुरक्षाका लागि प्रहरी परिचालन गरिएको छ।

यता झापाको मेचीनगर–४ बाहुनडाँगीमा पनि भारततर्फबाट छावासहित आएका जंगली हात्तीका बथान गाउँमा प्रवेश गर्न थालेपछि स्थानीय त्रसित बनेका छन्।

दैनिक ४० देखि ५० वटासम्मको हात्तीको समूह कहिले गाउँमा, कहिले चियाबारी र झाडी क्षेत्रमा बस्ने गरेको स्थानीयले बताएका छन्। हात्तीको त्रासका कारण अभिभावकले बालबालिकालाई विद्यालय पठाउनसमेत कठिन भएको जनाएका छन्।

स्थानीयवासी, युवा, प्रहरी र जनप्रतिनिधिले साइरन बजाउने तथा अन्य उपाय अपनाएर हात्तीलाई मानव बस्तीबाट टाढा धपाउने प्रयास गरिरहेका छन्।

मेचीनगर–४ का वडाध्यक्ष अर्जुन कार्कीले जंगली हात्तीको समस्या स्थानीय तहको प्रयासले मात्र समाधान नहुने भन्दै संघीय सरकारले दीर्घकालीन र प्रभावकारी योजना ल्याउनुपर्ने आवश्यकता औँल्याएका छन्।

 


Thali Mobile Pvt.Ltd.