१ भदौ २०७७ काठमाडौं । नक्कली मुद्रा कारोवार गर्ने र अनलाइन ठगी गर्ने विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले सामाजिक सञ्जालमा एक महिलालाई आफू लण्डनको बुपा क्यामवाल अस्पतालको डाक्टर रहेको र नेपाल आएपछि बिहे गर्ने भनी रु ४८ लाख ५४ हजार ४२० ठगी गर्ने रिपब्लिका दि एङ्गोलाका सिल्भा एन्टोनियो दा कोस्टालाई पक्राउ गरेको हो ।
पीडित महिलालाई नयाँ वर्षको अवसरमा हिराको औँठी, घडी, सुनको सिक्री र नगद रु दुई लाख ३० हजार पाउण्ड पठाएको र सामानको भन्सार र एक्सचेञ्ज चार्ज बुझाउन प¥यो भनी उक्त रकम ठगी गर्ने विदेशी नागरिक कोस्टालाई शुक्रबार सोल्टी होटलबाट पक्राउ गरिएको महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए ।
महिलासँग कोस्टाले भन्सार छुटाउनका लागि थप रु २० लाख मागेपछि प्रहरीको टोलीले शुक्रबार सोल्टी होटलबाट नियन्त्रणमा लिएको हो । पक्राउ व्यक्तिले सोहीदिन अर्की युवतीबाट पनि रु ३७ हजार ठगी गरेको अनुसन्धानमा खुलेको छ । खानतलासीका क्रममा कोष्टाको कोठाबाट नक्कली नोट बनाउन प्रयोग हुने केमिकल र कागजसमेत बरामद गरेको छ ।
नेपाली रु तीन लाख १५ हजार ७४५, अमेरिकन डलर ९००, एटिएम कार्ड, ल्यापट एक थान, नक्कली नेपाली एक हजारका नोट तीन थान, नोट आकारको कालो कागजको बण्डल, ए फोर पेपरलगायतका सामग्री प्रहरीले बरामद गरेको छ । पक्राउ व्यक्तिलाई कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको महाशाखाले जानकारी दिएको छ ।
