काठमाडौं । सरकारी अनुदानको रासायनिक मल नपाएपछि पर्साका किसानले निजी व्यापारीसँग चर्को मूल्यमा खरिद गर्न बाध्य भएका छन् । सरकारी स्वामित्वका कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जमा विगत तीन महिनादेखि युरिया मलको अभाव भएपछि यहाँका किसान निजी व्यापारीसँग चर्को मूल्यमा खरिद गर्न बाध्य भएका हुन् ।
प्रति बोरा ९५० केजी० युरिया मल रु सात सयमा बिक्री गर्नुपर्नेमा स्थानीय व्यापारीले मलको कृत्रिम अभाव सिर्जना गरी कालाबजारी गर्ने गरेका छन् । फलस्वरुप रु ७०० मा प्रतिबोरा पाउने युरिया मल किसानले रु १००० देखि रु १५०० सम्म खरिद गर्न बाध्य भएको पर्सा रामगढबाका किसान शेषमन पण्डितको भनाइ छ ।
एकातिर सरकारी अनुदानको मलको अभाव हुनु र अर्कोतिर भारतबाट तस्करी भई नेपाल भित्रिने गुणस्तरहीन मलको बढी मूल्य तिरेर खरिद गर्नुपर्ने बाध्यता रहेको अर्को किसान विजय पण्डितको गुनासो छ । पर्साका सुदूरग्रामीण क्षेत्रमा मल बेच्ने व्यापारीको भने आफ्नै पीडा छ । एक त भनेजति मल पाउँदैन भने अर्कोतिर भाडा बढी लाग्ने र बाटोभर प्रहरीले दुःख दिने गरेकाले महँगोमा बेच्नुपर्ने बाध्यता रहेको उनीहरुको भनाइ छ ।
धानका लागि आवश्यक पर्ने रासायनिक मल युरिया ल्याउन सरकारले आवश्यक प्रक्रिया शुरु गरेपनि लकडाउनका कारण भारतको कलकत्ता बन्दरगाहबाट विगत तीन महिनादेखि आउन नसकेको बताउँदै कृषि सामग्री कम्पनी प्रादेशिक कार्यालय वीरगञ्जका प्रदेश प्रबन्धक गोरखनाथ केसीले भने, “अहिले पनि पर्सा जिल्लामा एक हजार टन युरिया मलको आवश्यकता छ ।” मल अभावका कारण धानखेती प्रभावित भएको छ । हाल यस कार्यालयमा पोटास २५ टन र डिएपी आठ टन मौज्दात अवस्थामा रहेको छ ।rss
