भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

‘अहिले किरा फट्याङ्ग्रा परेको पानी खानुपरेको छैन’

‘अहिले किरा फट्याङ्ग्रा परेको पानी खानुपरेको छैन’

ढोरपाटन । “अहिले कुवा, पोखरीको पानी खानुपरेको छैन, धारोमा दिनदिनै पानी आउँछ, जति दुःख पाउनु पहिले नै पाइयो, पानीको समस्या हट्यो, अहिले किरा फट्याङ्ग्रा परेको पानी खानुपरेको छैन ।”तमानखोला गाउँपालिका–६ नर्जाखानीकी मनकुमारी छन्त्यालको घरै अगाडि अहिले खानेपानीको धारो बनेको छ । दैनिक धारोमा आउने स्वच्छ पानीले छन्त्यालको वर्षौंदेखिको दुःख भुलाएको छ । गाउँमा खानेपानीको समस्याले गर्दा स्थानीय घण्टौँ समय पानी बोक्नमा बिताउनुपथ्र्यो तर अहिले सबैको घरघरमा धारो बनेको छ । नर्जाखानी बागलुङको सबैभन्दा उच्च स्थानमा रहेको बस्ती हो । उच्च पहाडमा रहेको नर्जाखानी गाउँ नजिक पानीको मुहान नहुँदा स्थानीयलाई खानेपानीको समस्या भोग्नुपरेको हो । खानेपानीसँगै स्वास्थ्य, शिक्षा, यातायात, विद्युत्लगायत विकासका पूर्वाधारसमेत पछि परेको त्यहाँ अहिले त्यस्तो समस्या छैन । पहिले एक गाग्री खानेपानी भर्न घण्टौँ यात्रा गरेको छन्त्यालले स्मरण गर्नुभयो । अहिले घर छेउकै धारोमा पानी भर्न पाउँदा उहाँ दङ्ग हुनुहुन्छ ।

“खानेपानी नजिक थिएन, टाढा गएर पनि सफा पानी पानइँदैनथ्यो, धमिलो र किरा फट्याङ्ग्रा घुमिर रहेको पानी हुन्थ्यो, त्यो पानीलाई कपडाले छानेर ल्याउथ्यौँ”, छन्त्यालले भन्नुभयो, “अहिले घरै अगाडि आँगनमा धारो छ, जति बेला पानी भरे पनि हुन्छ, पहिलेको जस्तो फोहर पानी प्रयोग गर्न पर्दैन ।”पानी बोक्न दैनिक पाँच÷सात घण्टा बित्ने गरेको सुनाउँदै अहिले त्यो समय अन्य काममा सदुपयोग भएको उहाँको भनाइ छ । छन्त्यालले नर्जाखानीवासीले वर्षौंदेखि भोग्दै आएको समस्या खानेपानी नै मुख्य भएको भन्दै अहिले सिङ्गो गाउँलेमा खुसी छाएको बताउनुहुन्छ ।“बिहान उज्यालो नहुँदै उठेर एक गाग्री बाकेर पानी लिन एक डेढ घण्टा हिँड्नुपथ्र्यो, धारोमा पुग्दा लामो लाइन हुन्थ्यो”, खुसी हुँदै छन्त्यालले भन्नुभयो, “अहिले घरमै धारो छ, लाइन कुर्नु परेन, जति बेला जति भरे पनि भयो, अहिले कति हो कति सजिलो भएको छ ।”स्थानीय सिर्जना छन्त्यालले घरघरमा धारो बनेपछि बारीमा तरकारी उत्पादन गर्न र सरसफाइमा निकै सहज भएको बताउनुभयो । उहाँले घरमा धारो नहुँदा सरसफाइ र तरकारी खेती गर्न निकै समस्या हुने गरेको भन्दै अहिले त्यो समस्या हटेको बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “एक दुई घरले मात्रै होइन, यहाँ त सिङ्गो गाउँले नै दुःख पायो, खानेपानी बोक्दैमा दिन बित्थ्यो, बिहान उज्यालो नहुँदै पँधेरो गएको आउँदा ९/१० बज्थ्यो, सरसफाइ र तरकारी खेती गर्न समस्या थियो, वस्तुभाउलाई पानी खुवाउनका लागि तलै खोलामा पु¥याउनुपथ्र्यो, अहिले बारीमा हरियो सागसब्जी उत्पादन भएका छन्, ट्वाइलेट बाथरुम सफा भए, वस्तुभाउले सहजै पानी पिउन पाएका छन् ।”

तमानखोला गाउँपालिकाले अघिल्लो वर्ष रु ३८ लाख लगानी गरेर एक घर एक धारा निर्माण गरेको हो । स्थानीयले वर्षौंदेखि खानेपानीको समस्या भोग्दै आएको हुँदा आफू जनप्रतिनिधि भएर आएपछि खानेपानीमा लगानी गरेको गाउँपालिकाका अध्यक्ष जोकलला बुढामगरले बताउनुभयो ।“गाउँमा स्थानीयले खानेपानी समस्या भोग्दै आए, यसभन्दा अगाडि गाउँमा पानी ल्याउन निकै प्रयास गरियो, बजेट अभावले आउन सकेन, अहिले स्थानीय सरकार बनेपछि सुरुका दिनदेखिनै खानेपानीमा लगानी गर्न थालेको अहिले गाउँका सबै घरमा खानेपानीको व्यवस्थापन भएको छ”, अध्यक्ष बुढामगरले भन्नुभयो ।एक घर एक धाराअन्तर्गत नर्जखानीमा एक सय १४ व्यक्तिगत धारा र चार सार्वजनिक धारा निर्माण गरिएको छ । वडा नम्बर ६ कै भित्रीवनमा अहिले एक घर एक धारा कार्यक्रम सञ्चालनमा रहेको अध्यक्ष बुढामगरले बताउनुभयो । गाउँपालिकाभित्रका सबै वडाका नागरिकलाई स्वच्छ र सफा खानेपानी पुर्‍याउन गाउँपालिकाले विभिन्न निकाय र सरकारसँग समन्वय गरेर योजना अगाडि बढाइरहको बुढामगरले बताउनुभयो ।गाउँपालिकासहित प्रदेश, सङ्घ सरकार र साझेदार निकाय नेवा, कादुरी तथा ब्रिटिस गार्खा वेलफेयरमार्फत खानेपानी योजना निर्माणको काम अगाडि बढेको उहाँको भनाइ छ । अध्यक्ष बुढामगर भन्नुहुन्छ, “केही वर्ष अगाडिसम्म गाउँपालिकाका धेरै नागरिक शुद्ध खानेपानीको पहुँचभन्दा टाढा थिए, अहिले सबै वडाका ६० प्रतिशत घरमा एक घर एक धारा निर्माण भइसकेको छ, केही योजना सम्पन्न हुने क्रममा छन् ।”उहाँले केही वर्षमै गाउँपालिकाका सबै घरमा खानेपानीको सहज पहुँच पु¥याउने बताउनुभयो । भौगोलिक विकटताले सबै गाउँ र बस्तीमा खानेपानी पु¥याउन ढिला भएको भन्दै अहिले धेरै ठाउँमा एक घर एक धारा निर्माण भइसकेको बुढामगरले बताउनुभयो ।

 


Thali Mobile Pvt.Ltd.