भर्खरै : Sorry, your browser does not support inline SVG.
नदीमा सिधै फोहोर पानी नफाल्न उद्योगहरूलाई विभागको कडा निर्देशन | जलवायु परिवर्तनसँग जुध्न नेपालको चार प्रस्ताव, ५३ देशको समर्थन | आज र भोलि बाढीपहिरोको जोखिम, यी राजमार्गमा सतर्क रहन आग्रह | भोटेकोशी बाढीपहिरो : सुरुङभित्र ३७ शव फेला, ११औँ दिन चिनियाँ नागरिकको जीवितै उद्धार | काठमाडौँका विभिन्न क्षेत्रमा आठ दिन बिजुली कटौती हुँदै, कुन ठाउँमा कहिले ? | स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार |

आज र भोलि बाढीपहिरोको जोखिम, यी राजमार्गमा सतर्क रहन आग्रह

आज र भोलि बाढीपहिरोको जोखिम, यी राजमार्गमा सतर्क रहन आग्रह

काठमाडाैं, १३ कार्तिक । बङ्गालको खाडीमा विकसित चक्रवातको प्रभावले आज र भोलि देशका पूर्वी तथा मध्य क्षेत्रमा ठूलो वर्षा हुने सम्भावना छ । वर्षाका कारण नदी तथा खोलामा बाढी आउने, पहाडी क्षेत्रमा पहिरो खस्ने र तराईका विभिन्न स्थानमा डुबान हुने जोखिम बढेको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार नारायणी, बागमती, कमला, कन्काई र कोशी नदी तथा आसपासका क्षेत्रमा पानीको सतह उल्लेख्य बढ्न सक्नेछ । भोलि पनि यी नदीका जलाधार क्षेत्रमा वर्षा हुने र केही स्थानमा आकस्मिक बाढीको मध्यम जोखिम रहने अनुमान गरिएको छ । पर्सिदेखि भने वर्षा कम भएसँगै बाढीको जोखिम पनि घट्ने अपेक्षा गरिएको छ ।

कोशी र नारायणी नदीका जलाधारसँग जोडिएका उच्च हिमाली क्षेत्रमा हिमपात र हिमपहिरोको जोखिमसमेत रहेकाले नदी आसपासका बासिन्दा तथा यात्रुलाई सतर्क रहन आग्रह गरिएको छ ।

यी राजमार्गमा विशेष सावधानी अपनाउन आग्रह

जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले पहाडी र भिरालो भूभाग भएका राजमार्ग खण्डमा पहिरो खस्ने, ढुङ्गा झर्ने र सडक भासिने सम्भावना रहेको जनाएको छ । नदी किनारका सडक खण्डमा यात्रा गर्दा विशेष सावधानी अपनाउन पनि केन्द्रले आग्रह गरेको छ ।

विशेषगरी नारायणगढ–मुग्लिन सडक खण्ड, कोशी तथा सिद्धार्थ राजमार्गका पहिरोको जोखिम भएका क्षेत्र, कान्ति राजमार्ग, अरनिको राजमार्ग र बागमती जलाधार क्षेत्रसँग जोडिएका सडकमा जोखिम बढी रहेको जनाइएको छ । सानाठूला खोला तथा कल्भर्टमा पानीको बहाव बढ्दा सडकमा क्षति पुग्न सक्ने भएकाले जोखिमयुक्त सडक खण्डमा यात्रा गर्दा सतर्कता अपनाउन सम्बन्धित निकायले आग्रह गरेका छन् ।

आज कहाँ-कहाँ ठूलो वर्षा र हिमपातको सम्भावना ?

मौसम पूर्वानुमान महाशाखाका अनुसार बङ्गालको खाडीमा विकसित चक्रवातको प्रभावले पूर्वी नेपालबाट हिजोदेखि सुरु भएको वर्षा र हिमपात देशका विभिन्न क्षेत्रमा फैलिएको छ । आज दिउँसोदेखि वर्षा अझ बढ्न सक्ने तथा केही स्थानमा ठूलो वर्षा र हिमपात हुने सम्भावना रहेको छ ।

महाशाखाका अनुसार आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा ठूलो वर्षा हुन सक्नेछ । त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा ठूलो वर्षा र हिमपातको सम्भावना छ । वर्षाका बेला नदी किनार, खोल्सा र पहिरोको जोखिम भएका क्षेत्रमा नजान तथा यात्रा गर्नुअघि सडकको अवस्था बुझेर मात्र गन्तव्यतर्फ लाग्न आग्रह गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.