काठमाडौं । नेपाली कांग्रेसले पार्टीले समर्थन गरेका उम्मेदवारलाई विजयी बनाउन विद्रोही उम्मेदवारलाई अनुरोध गरेको छ । नत्र पार्टी विधानबमोजिम कडा कारबाही गरिने जनाएको छ ।
कांग्रेसले विज्ञप्ति जारी गर्दै वैशाख २१ गतेभित्र आफ्नो उम्मेदवारी निष्क्रिय गरी पार्टीका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन सहयोग गर्ने विद्रोही उम्मेदवार र त्यस्ता उम्मेदवारका प्रस्तावक र समर्थकलाई कारबाही गर्न सक्ने जनाएको हो ।
पार्टीका आधिकारिक उम्मेदवार तथा पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध विद्रोही उम्मेदवारी दर्ता गराएका र त्यस्ता उम्मेदवारका प्रस्तावक र समर्थक बनेका पार्टी सदस्यले आफ्नो उम्मेदवारीप्रति पुनः विचार गरेर सार्वजनिक रूपमा वक्तव्य प्रकाशित गरी उम्मेदवारी निष्क्रिय गराउन आग्रह गरेको छ ।
सक्रियतापूर्वक प्रचार अभियानमा संलग्न हुन निर्देशानुसार अनुरोध गरिएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए । उम्मेदवारी फिर्ताका लागि निर्वाचन आयोगले वैशाख १६ गते बिहान १० देखि अपराह्न ५ बजेसम्म समय निर्धारण गरेको थियो ।
उक्त समयमा कतिपय स्थानीय तहका उम्मेदवार स्वयंले आफ्नो उम्मेदवारी फिर्ता लिएका र कतिपय उम्मेदवारको उम्मेदवारी प्राविधिक कारणवश फिर्ता लिएका उम्मेदवारको नाम पनि उम्मेदवारको सूचीमा कायमै रहेको देखिएको कांग्रेसको भनाइ छ ।
