काठमाडौं । राजनीतिक दलहरूलाई आर्थिक वर्ष २०७८ र ०७९ को लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ । एक साताभित्र प्रतिवेदन सार्वजनिक गर्न र त्यसको जानकारी आयोगलाई गराउन कानुनबमोजिम आयोगमा लेखा परीक्षण प्रतिवेदन बुझाइसकेका ८२ दललाई निर्देशन दिएको हो ।
राजनीतिक दलसम्बन्धी ऐन,२०७३ बमोजिम आयोगमा दर्ता कायम रहेका दलहरूले आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र कानुनबमोजिम इजाजत प्राप्त लेखा परीक्षकबाट लेखा परीक्षण गराई एक महिनाभित्र आयोगमा प्रतिवेदन पेस गर्नुपर्ने कानुनी व्यवस्था छ ।
निर्वाचन आयोगले लेखा परीक्षण प्रतिवेदन समयमा पेस नगर्ने दलहरूलाई ढिला हुनुको कारणबारे पत्राचार गरेको छ । आयोगले गत आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदन तोकिएको समयसीमाभित्रै पेस गर्ने दललाई पेस गरेको लेखा परीक्षण प्रतिवेदन ७ दिनभित्र सम्बन्धित दलको कार्यालय वा वेबसाइट, आमसञ्चारमाध्यम र सामाजिक सञ्जालका माध्यमबाट सार्वजनिक गर्न र सोको जानकारी आयोगमा गराउन भनेको छ ।
