काठमाण्डौ । कोरोना प्रभावित ऋणीले ऋण तिर्न पुस मसान्तसम्म समय पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशनमा आउँदो पुस मसान्तसम्म भुक्तान गर्नुपर्ने म्याद थप गर्न निर्देशन दिएको हो । यस्तै होटल, ट्राभल, ट्रेकिङ्ग र हवाई सेवा जस्ता बाह्य पर्यटकमा निर्भर रहनुपर्ने व्यवसायीलाई परेको कोरोनाको असर मूल्याङ्कन गरी २०७९ असार मसान्तसम्म हुन आउने ब्याजलाई छुट्टै हिसाब राखी दुई वर्षसम्ममा कम्तीमा चार किस्तामा असुली गर्ने व्यवस्था मिलाउनु जनाइएको छ ।
राष्ट्र बैंकले यस्तो ब्याजलाई पनि पुँजीकरण गर्न नपाइने र थप हर्जाना तथा पेनाल ब्याज नलाग्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ । कोरोनाको जोखिम न्यूनीकरणका लागि जारी भएको निषेधाज्ञालाई मध्यनजर गरी ऋणीहरुले २०७८ असारसम्म भुक्तानी गर्नु पर्ने ईएमआईरईक्यूआई वा अन्य साँवा ब्याज निषेधाज्ञाको कारणले भुक्तानी गर्न नसकेको अवस्थामा ऋणीको वित्तीय स्थिति मूल्याङ्कन गरी २०७८ पुस मसान्तसम्म भुक्तानी म्याद थप गर्न सक्नेछन् ।
राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिँदै कोरोनाबाट अति प्रभावित क्षेत्रहरु रेष्टुरेण्ट, पार्टी प्यालेस, सार्वजनिक यातायात, शिक्षण संस्था, मनोरञ्जन व्यवसाय तथा नगद प्रवाह अवरुद्ध भएका लघु, घरेलु, साना तथा मझौला व्यवसायीलाई असर मूल्याङ्कन गरी पुस मसान्तसम्म भुक्तान गर्नुपर्ने साँवा तथा ब्याज एक वर्षसम्म म्याद थप गरी कम्तिमा चार किस्तामा असुली गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो । यस्तो ब्याजलाई पुँजीकरण गर्न नपाइने तथा पेनाल ब्याज नलाग्ने व्यवस्था मिलाउन समेत भनिएको छ ।
