एजेन्सी । स्वतन्त्र उम्मेदवार रोडोल्फो हर्नान्डेजलाई दोस्रो चरणको निर्वाचनमा झिनो मतान्तरले पराजित गर्दै काेलम्बियाकाे राष्ट्रपतिमा वामपन्थी उम्मेदवार गुस्ताभो पेट्रो निर्वाचित भएका छन् । उनी आइतबार कोलम्बियाको राष्ट्रपतिमा निर्वाचित भएकाे राज्य सञ्चालित राष्ट्रिय नागरिक रजिस्ट्रीले जानकारी दिएको हो ।
नवनिर्वाचित राष्ट्रपति पेट्राेले ११,२८०,६९४ मत प्राप्त गरेका छन् । पेट्रो कोलम्बिया गठबन्धनका लागि वामपन्थी ऐतिहासिक सम्झौताका उम्मेदवार हुन् । उनले कूल खसेको मतको ५०.४४ प्रतिशत प्राप्त गरेका हुन् । यस्तै उनका निकटतम प्रतिद्वन्द्वी हर्नान्डेजले १०,५७९,८०३ अर्थात् ४७.३१ प्रतिशत मत प्राप्त गरेका छन् ।
नवनिर्वाचित राष्ट्रपतिले ट्विटरमा भनेका छन्– यो ‘उत्सव’ को दिन हो । ‘पहिलो लोकप्रिय विजयको उत्सव मनाऔँ’ पेट्रोले लेखेका छन् । ‘यो विजय भगवानको लागि हो, जनता र यसको इतिहासको लागि हो। आज सडक र चौकको दिन हो ।’ ६२ वर्षीय पेट्रो राजधानी बोगोटाका सिनेटर र पूर्व मेयर हुन् । उनी कुनै समय एम १९ नामक छापामार लडाकु समूहको नेता समेत रहेको टाइम्स म्यागजिनको अनलाइन संस्करणले जनाएको छ । उनले अगस्ट ७ का दिन राष्ट्रपतिको पदभार ग्रहण गर्नेछन् ।
निर्वाचन अधिकारीहरूले यसअघि मतदानको दिनमा मतदान प्रक्रिया सामान्य रूपमा अघि बढेको बताएका थिए तर पछि एक सैनिक र एक चुनावी साक्षीको मृत्यु भएको खबर आएको थियो भने रक्षामन्त्री डिएगो मोलानोले कोलम्बियाको क्रान्तिकारी सशस्त्र बलको आक्रमणमा एक सैनिकको मृत्यु भएको छ बताएका छन् ।

