भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

खोप लगाउन दबाब

खोप लगाउन दबाब

चितवन । यसअघि मापदण्डमा परेर पनि कोरोना विरुद्धको खोप लगाउन वास्ता नगरेकाहरूले यस पटक खोप लगाइदिन दबाव दिएका छन् । जिल्लामा आज र भोलि गरेर ११ हजार जनालाई खोप लगाइँदै छ । जिल्लाका सात पालिकाका ७९ केन्द्रमार्फत खोप लगाउन लागिएको हो । विसं २०१४ जेठ २५ गतेदेखि २०१६ जेठ २५ गतेभित्र जन्मिएका वृद्धवृद्धालाई मात्रै खोप लगाइने छ । मापदण्डमा नपरेका र छुटेकाले

सम्बन्धित स्वास्थ्य कार्यालयमा दबाव दिँदै आएका छन् । राजनीतिक दल, पद र प्रतिष्ठाको धाक लगाउँदै उक्त समूहमा नपरेकाहरूले पनि ‘खोप लगाइदिन प¥यो’ भन्दै दबाव दिन थालेका हुन् । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकप्रसाद तिवारीले तोकिएको उमेर समूहबाहेकका कसैलाई पनि खोप लगाउन सम्भावना नै नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “थेग्नै नसक्ने गरी दबाव आएको छ ।

” उहाँले सरकारले निश्चित उमेर समूह र सङ्ख्या तोकेर निश्चित खोप मात्रै पठाएकाले तोकिएकाबाहेक कसैलाई पनि खोप लगाउन नसकिने बताउनुभयो । अतिरिक्त खोप नभएकाले अन्यलाई लगाउन सक्ने सम्भावना नरहेको उहाँको भनाइ छ । यसअघि खोप लगाउँदा लक्षित समूहकाले खोप लगाउन अस्वीकार गरेको ठाउँमा अन्यले लगाएको भए पनि अहिले त्यस्तो अवस्था नरहेको उहाँको भनाइ छ ।

चीन सरकारको अनुदानमा प्राप्त भेरोसिल नामक खोप जो जहाँ छ त्यहीँ लगाउने गरी दिइन थालिएको हो । हरेक वडामै खोपको व्यवस्था गरिएको छ । कतिपय वडाहरू जोडेर खोप केन्द्र तोकिएको छ । भरतपुर महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख दीपक सुवेदी सबैतिरबाट खोप लगाइदिन दबाव आएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “चिनेका र अत्यावश्यकबाहेक कसैको पनि फोन उठाउन सकेको छैन ।”

उहाँले आआफ्नो वडाको खोप केन्द्रमा नै गएर खोप लगाउनसमेत आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “एउटा वडाको व्यक्ति अर्को वडामा जाँदा खोप व्यवस्थापनमा समस्या पर्छ ।” नेपाल सरकारले जारी गरेका नागरिकता, ज्येष्ठ नागरिक परिचयपत्र, लाइसेन्स जस्ता कुनै पनि परिचयपत्रका आधारमा खोप लगाइने उहाँले बताउनुभयो । कुनै पनि परिचयपत्र नभएकाका लागि भने सम्बन्धित वडाको सिफारिसमा खोप लगाउने व्यवस्था गरिएको छ ।

यस्तै भेरोसिलको पहिलो डोज लगाएर दोस्रो डोज नलगाएकाहरूले पहिलो खोप लगाएको कार्ड लिएर आएमा भने दोस्रो डोज खोप लगाइने व्यवस्था गरिएको छ । यसअघि काठमाडौँसहित केही जिल्लामा भेरोसिलको पहिलो डोज लगाइएको थियो । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले अन्य जोखिममा रहेका समूहका लागि खोपको माग गरेर पत्राचार गरिएको भन्दै अहिले लक्षित समूहबाहेक अन्यलाई खोप

लगाउन नसकिने बताउनुभयो । उहाँले खोप आए लगत्तै लक्षित र जोखिममा परेकाहरूलाई क्रमशः खोप लगाइने भएकाले यस अभियानमा सहयोग गरिदिन अनुरोध गर्नुभयो । प्रत्येक खोप केन्द्रमा नेपाल प्रहरीले सुरक्षा दिने छ । बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खोप लगाइने छ ।

कोरोना कहरका कारण भिडभाड नगरी स्वास्थ्य मापदण्डको पालना गर्दै खोप दिन लागिएको हो । खोप केन्द्रमा छुटपुट भएकालाई जेठ २७ गते एउटा पालिकामा एक ठाउँमा खोप दिने व्यवस्था रहेको छ ।जिल्लामा यसअघि दुई चरणको खोप अभियान सम्पन्न भएको छ । ती अभियानमा ३९ हजार जनताले पहिलो खोप लगाएका छन् ।

 


Thali Mobile Pvt.Ltd.