भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ | बागमतीमा होटल व्यवसायीको नयाँ पहल, पर्यटन मेला र १३ जिल्लामा संघ विस्तारको निर्णय | तारकेश्वरको जरङ्खुमा डोजरले जमिन काटेपछि पहिरो, ५० घर जोखिममा! | शिक्षा विधेयकमा सातै प्रदेशका सुझाव समेटिँदै, मन्त्रालयले थाल्यो समीक्षा | चितवन र मकवानपुरका मौरीघारमा विनाशकारी ‘सानो खपटे कीरा’ को सङ्क्रमण | सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित | गएराति विभिन्न ठाउँमा वर्षा, आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना | गरिमा चौधरी हत्या प्रकरणमा सरकार झुक्यो, ३ बुँदे सहमति; कठोर सजायका लागि नयाँ कानुन बन्दै |

चन्द्रागिरिले हरेक हप्ता राजमार्ग सरसफाइ गर्ने

चन्द्रागिरिले हरेक हप्ता राजमार्ग सरसफाइ गर्ने

काठमाडौं । चन्द्रागिरि नगरपालिकाले हरेक हप्ता राजमार्ग सरसफाइ गर्ने भएको छ । काठमाडौँ उपत्यका भित्रिने मुख्य नाकामा रहेको चन्द्रागिरिले सडक सौन्दर्यका लागि हरेक हप्ता सडक सरसफाइ गर्ने भएको हो । नगरपालिकाका प्रमुख घनश्याम गिरीले यात्रुले जथाभावीरुपमा बसभित्रबाट सडकमा फोहोर फाल्दा सडकको सौन्दर्य बिग्रँदै गएकाले हप्ताको एकपटक सडक सरसफाइ गर्न लागेको जानकारी दिनुभयो ।

“चन्द्रागिरिले चालु आर्थिक वर्षका लागि सडक सरसफाइमा रु २० लाख रकम विनियोजन गरेको छ”, नगरप्रमुख गिरिले भन्नुभयो । यस्तै, चन्द्रागिरिले राजमार्गको बीचभागमा सडक डिभाइडर, तारजाली राख्नका साथै त्यसमा इनामेल तथा रङरोगन गर्नका लागि रु ५० लाख विनियोजन गरेको छ । चन्द्रागिरिको थानकोट नाका हुँदै दैनिक एक लाखभन्दा बढी निजी तथा सार्वजनिक सवारी साधन उपत्यका प्रवेश गर्दै आएका छन् ।

उक्त नगरपालिकाले रु एक करोड लागतमा पिप्लामोड–नागढुङ्गा–कलङ्की क्षेत्रमा सडक बत्तीसमेत राख्न लागेको छ । अहिले ५०० सडकबत्ती राख्ने योजना बनाएको सो नगरपालिकाले आगामी दिनमा २०० बत्ती थप गर्ने बताएको छ । यसैगरी, सो नगरपालिकाले राजमार्ग क्षेत्रमा हुने आपराधिक क्रियाकलापको नियन्त्रणका लागि दुई महिना पहिला नै सिसि क्यामरासमेत जडान गरिसकेको छ ।

उक्त नगरपालिकाले रु एक करोडको लगानीमा ६८ वटा अत्याधुनिक सिसि क्यामरा जडान गरेको थियो । वाग्मती प्रदेशकै सबैभन्दा ठूलो नगरपालिका चन्द्रागिरिका १५ मध्ये ११ वडा राजमार्ग क्षेत्रमा पर्दछन् । चन्द्रागिरि नगरपालिकामै एशियाली विकास बैँकको सहयोगमा नेपालकै पहिलो सुरुङ मार्गसमेत निर्माण हुन लागेको छ । जसको निर्माण कार्य धमाधम भइरहेको छ । रासस

 


Thali Mobile Pvt.Ltd.