भर्खरै : Sorry, your browser does not support inline SVG.
गाजाको ९९ प्रतिशतभन्दा बढी भूभाग प्रदूषित, २३ लाख प्यालेस्टिनीको स्वास्थ्य जोखिममा | सुनकोशी-मरिणको १६ अर्बको ठेक्का रद्दमा बालेन टिममाथि प्रश्न, सात दिनभित्र कागजात बुझाउन निर्देशन | मलेसिया जाने कामदारबाट अर्बौँ ठगीको आरोप : दुई पूर्वमन्त्रीसहित १० जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति | बङ्गलादेशमा राजनीतिक हिंसा चर्कियो, आगजनी र बम विस्फोटका घटनापछि १२४ जना पक्राउ | पोखरामा प्यारापाइलट उत्पादन गर्ने पहिलो स्कुल सञ्चालनमा, १ करोड ५० लाख लगानी | भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरु, ८४ विद्यालयका ३२ सयभन्दा बढी विद्यार्थी सहभागी | असोजमा महँगी ६.३७ प्रतिशत पुग्यो, घिउतेल र फलफूलको मूल्य सबैभन्दा धेरै बढ्यो | नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी बढुवा लिएको आरोपमा अनुसन्धान विभागका अधिकृतविरुद्ध मुद्दा |

चिकित्सा शिक्षा आयोगको टोली अनुगमन गर्न कर्णाली स्वास्थ्य विज्ञानमा

चिकित्सा शिक्षा आयोगको टोली अनुगमन गर्न कर्णाली स्वास्थ्य विज्ञानमा

खलङ्गा । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा चिकित्सा शिक्षा आयोगको टोली पुगेको छ । कर्णाली प्रतिष्ठानमा एमबिबीएस अध्ययनका लागि आवश्यक तयारीबारे अनुगमन गर्न डा सतीशकुमार देव नेतृत्वको टोली कर्णालीमा पुगेको हो । डा कालुसिंह खत्री, डा पवन हमाल, डा प्रकाश थापा, डा प्रतीक ज्ञवाली र नेपालगञ्ज नर्सिङ क्याम्पसका एक प्रतिनिधिसहितको टोली जुम्ला पुगेको प्रतिष्ठानका रजिस्ट्रार विश्वराज काफ्लेले बताउनुभयो । टोलीले जुम्लामा एमबिबीएस पठनपाठनका लागि चाहिने बिरामी सङ्ख्या, अस्पतालको अवस्था, अस्पतालले गर्ने सेवाप्रवाहको अवस्था, शिक्षक, कक्षाकोठा, आधारभूत विज्ञानका लागि आवश्यक भौतिक संरचना र ल्याब तथा उपकरणको अनुगमन गर्नेछ ।

प्रतिष्ठानका रजिस्ट्रार काफ्ले भन्नुभयो, “एमबिबीएस पठनपाठनका लागि आवश्यक तयारी पूरा भइसकेको छ । पाँच महिनादेखि चिकित्सा शिक्षा आयोग टोलीको प्रतीक्षामा थियौँ । कोरोनाका कारण ढिलो भयो ।” टोलीले कर्णाली प्रतिष्ठानको स्थलगत अनुगमनपछि प्रतिवेदन तयार पारेर आयोगमा पेश गरेपछि सिट निर्धारण गर्नेछ । यही शैक्षिक सत्रबाट पठनपाठन शुरु हुने तयारीका साथ काम भएको प्रतिष्ठानका रजिस्ट्रार काफ्लेले बताउनुभयो । एमबिबीएस पढाइ शुरु गर्नका लागि आवश्यक तयारी भइरहेको प्रतिष्ठानका रेक्टर डा निरेश थापाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सकेजतिको सबै तयारी भइरहेको छ, आशा छ यही शैक्षिक सत्रदेखि एमबिबीएस पढाउनका लागि आयोगले अनुमति दिनेछ ।” एमबिबीएस अध्ययनका लागि चिकित्सा शिक्षा आयोगको टोली जुम्ला पुगेपछि कर्णालीवासी उत्साहित छन् । यहाँ अध्ययन गरेका चिकित्सकले स्वास्थ्य शिक्षा लिएर स्वास्थ्य सेवा दिन पाउने भएकामा कर्णालीवासी खुशी भएको प्रतिष्ठानका रेक्टर डा थापाले बताउनुभयो । कर्णालीमा एमबिबीएस पठनपाठन शुरु हुनु निकै खुशीको विषय भएको नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महत बताउनुभयो ।

उहाँले भन्नुभयो, “एक त कर्णालीमा चिकित्सक पढ्न सुगमका विद्यार्थी आउने भए । कर्णालीका युवाले चिकित्सक पढ्न जिल्लाबाहिर महङ्गो खर्चेर जानुपरेन । कर्णालीबाट स्वास्थ्य शिक्षा र स्वास्थ्य सेवा फैलाउने कार्य हुनुले दुर्गमताको पहिचान हटाएर सुगमतातिर फर्किएको आभाष दिलाएको छ ।” चिकित्सा शिक्षा ऐनअनुसार यहाँ पढ्ने विद्यार्थीले अनिवार्य दुई वर्ष प्रतिष्ठानले खटाएको क्षेत्रमा सेवा गर्नु पर्नेछ । स्वास्थ्य सेवा, जनशक्ति र समग्र विकासका लागि फाइदाजनक नै हुनेछ । यस क्षेत्र स्वास्थ्य पर्यटनको ‘हब’ बन्न सक्ने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।

चिकित्सा शिक्षा आयोगको टोली जुम्ला पुगिसकेकाले कर्णालीमा एमबिबीएस अध्ययनका लागि आशा जागेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका उपकुलपति डा मङ्गल रावल बताउनुभयो । उहाँले भन्नुभयो, “टोली जुम्ला पुगेको छ, हामीले जति सकेका छौँ, कुनै कसुर बाँकी नराखेर काम गरेका छौँ । आइतबारदेखि अनुगमन हुनेछ । यो कर्णालीका लागि शुभसङ्केत हो ।” स्वास्थ्य सेवा, शिक्षा र अनुसन्धानलाई टेवा पु¥याउनका लागि एमबिबीएस पठनपाठनले निकै मद्दत पुग्नेछ । “एमबिबीएस मेडिकल कलेजको आधार हो । एमबिबीएस पठनपाठनले मेडिकल कलेज भएको प्रमाणित गर्छ । अब निकट भविष्यमै कर्णालीमा एमबिबीएस पठनपाठन शुरु हुने अपेक्षा गरिएको छ”, उपकुलपति रावलले भन्नुभयो ।

 


Thali Mobile Pvt.Ltd.