एजेन्सी । जलवायु शिखर सम्मेलनमा इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीचको द्वन्द्वको असर पनि देखिएको छ । इजरायलको उपस्थितिलाई लिएर यूएईमा चलिरहेको सम्मेलनमा इरानी प्रतिनिधिले विरोध जनाएका छन् ।
झण्डै दुई सय देशका प्रतिनिधिहरूलाई कोप २८ मा जलवायु परिवर्तनका कारण विश्वव्यापी तापक्रम वृद्धिलाई सीमित गर्ने प्रयासहरू बढाउन दबाब छ । तर अहिले आठौँ हप्ता पुगेको इजरायल–हमास द्वन्द्वले शिखर सम्मेलनलाई केही छायाँमा पारिरहेको विश्लेषण गरिएको छ ।
जलवायु वार्तामा इरानी प्रतिनिधिमण्डलको नेतृत्व गरेका ऊर्जामन्त्री अली अकबर मेहराबियनले विरोधमा आफूहरु सम्मेलनस्थलबाट बाहिरिएको प्रतिक्रिया दिएको समाचार संस्था एएफपीले जनाएको छ ।
कोप–२८ मा इजरायलको उपस्थितिलाई ‘सम्मेलनको लक्ष्य र दिशानिर्देश विपरीत’ मानेको र त्यसको विरोधमा सम्मेलनस्थलबाट बाहिरिएको उनले बताए । अस्ति बिहिवार इरानी राष्ट्रपति इब्राहिम राईसी वार्तामा सहभागी नहुने र मेहराबियनले शिखर सम्मेलनमा भाग लिने भनिएको थियो ।
