भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ | बागमतीमा होटल व्यवसायीको नयाँ पहल, पर्यटन मेला र १३ जिल्लामा संघ विस्तारको निर्णय | तारकेश्वरको जरङ्खुमा डोजरले जमिन काटेपछि पहिरो, ५० घर जोखिममा! | शिक्षा विधेयकमा सातै प्रदेशका सुझाव समेटिँदै, मन्त्रालयले थाल्यो समीक्षा | चितवन र मकवानपुरका मौरीघारमा विनाशकारी ‘सानो खपटे कीरा’ को सङ्क्रमण | सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित | गएराति विभिन्न ठाउँमा वर्षा, आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना | गरिमा चौधरी हत्या प्रकरणमा सरकार झुक्यो, ३ बुँदे सहमति; कठोर सजायका लागि नयाँ कानुन बन्दै |

दाना–खुर्कोट प्रसारण लाइन निर्माण सकियो

दाना–खुर्कोट प्रसारण लाइन निर्माण सकियो

म्याग्दी । म्याग्दीमा कालीगण्डकी करिडोरअन्तर्गत २२० केभी क्षमताको दाना–खुर्कोट सबस्टेशन र प्रसारण लाइन निर्माण सकिएको छ । म्याग्दीको दाना र पर्वतको खुर्कोटमा दुई सबस्टेशन तथा बीचमा ११० टावर बनाएर ३९।६ किलोमिटर तार तान्ने काम सकिएको छ । आयोजनाका सहायक प्रबन्धक लक्ष्मण फुँयालले दाना र खुर्कोटमा सबस्टेशनका साथै प्रसारण लाइनको पूर्वाधार निर्माण र उपकरण जडानको काम सकिएको बताउनुभयो ।

“टावर ठड्याउने, तार तान्ने र सबस्टेशनको उपकरण जडान सकेर आन्तरिक परीक्षण शुरु गरेका छौँ”, उहाँले भन्नुभयो, “सबस्टेशन चार्ज र परीक्षणको तयारीका लागि कार्यतालिका बनाउँदैछौँ ।” करिब १५ दिनभित्र सबस्टेशन र प्रसारण लाइन सञ्चालनमा ल्याउने तयारी छ । एशियाली विकास बैंकको सहयोगमा नेपाल विद्युत् प्राधिकरणले सन् २०१६ देखि शुरु गरेको यो आयोजना लक्ष्यभन्दा दुई वर्ष ढिला सकिएको हो । सन् २०१८ को नोभेम्बरमा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।

आयोजना निर्माणमा रु तीन अर्ब खर्च भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । सन् २०१६ मा रु दुई अर्ब ९० करोडमा टाटा प्रोजेक्ट्स र चिन्ट इलेक्ट्रिक जेभीसँग ठेक्का सम्झौता भएको थियो । कालीगण्डकी तथा सहायक नदी र मुस्ताङमा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली केन्द्रीय ग्रिडमा जोड्न सबस्टेशन र प्रसारण लाइन निर्माण गरिएको आयोजना प्रमुख चन्दनकुमार घोषले बताउनुभयो ।

“यो सबस्टेशन र प्रसारण लाइन कालीगण्डकी करिडोरको विद्युत् विकासको आधार हो”, उहाँले भन्नुभयो, “सबस्टेशन र प्रसारण लाइन कुरेर बसेका धेरै जलविद्युत् आयोजना निर्माणले तीव्रता पाउनेछन् ।” जग्गा अधिग्रहण, मुआब्जा वितरण, वन क्षेत्रको जग्गा प्राप्ति, बाढी र पहिरोका कारण आयोजना निर्माण प्रभावित भएको हो । म्याग्दीका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले लामो समयको प्रयासपछि पोखरेबगरको विवाद समाधान गरेर आयोजना निर्माण गर्ने वातावरण बनाएको बताउनुभयो ।

पोखरेबगरका जग्गाधनीसँगको विवादले त्यहाँ छ टावर बनाउन दुई वर्षसम्म प्रयास गर्नुपरेको थियो । आयोजना निर्माणसँगै ४२ मेगावाट क्षमताको मिस्ट्रीखोला, पाँच मेगावाटको घलेम्दीखोला र १३।६ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजनाको विद्युत् केन्द्रीय लाइनमा जोडिने अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताउनुभयो । थापाखोला र घलेम्दी यसअघि नै निर्माण सम्पन्न भए पनि प्रसारण लाइनको अभावमा पूर्ण क्षमतामा सञ्चालन हुनसकेका थिएनन् । निर्माणको अन्तिम चरणमा पुगेको मिस्ट्रिखोला जलविद्युत् आयोजनाले संरचनाको परीक्षण शुरु गरेको छ ।रासस

 


Thali Mobile Pvt.Ltd.