भर्खरै : Sorry, your browser does not support inline SVG.
कर्णालीलाई पर्दामा उतार्ने यात्रा: अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको तयारी पुरा | एक महिनामै ६१ हजारभन्दा बढी नेपाली विदेशिए रोजगारीका लागि | १९५०–५३ को युद्धमा मारिएका १२ चिनियाँ सैनिकका अवशेष चीन पठाइयो | कलङ्कीबाट स्रोत नखुलेको रकमसहित २ जना पक्राउ | साइबर अपराध बढ्दै, सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धान प्रभावित : आईजीपी कार्की | भक्तपुरको शैक्षिक गुणस्तर सुधारमा प्राध्यापकहरूको भूमिका महत्वपूर्ण : मेयर प्रजापति | सरकारी सफ्टवेयर र सूचना प्रविधि अध्ययन गर्न कार्यदल गठन | विपद् जोखिम न्यूनीकरणका लागि प्रभावकारी कार्ययोजना बनाएर अघि बढ्ने प्राधिकरण |

धान उत्पादनमा कमी

धान उत्पादनमा कमी

लमजुङ । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा यसवर्ष धान उत्पादन घटेको छ । गत वर्षको तुलनामा यसवर्ष धानखेती गरिएको क्षेत्रफलको आधारमा क्षेत्रफल घट्दा धान उत्पादनमा समेत कमी आएको हो ।गत वर्ष १४ हजार २६० हेक्टर जमिनमा धान खेती गरिएकामा यसवर्ष १२ हजार एक सय २५ हेक्टर क्षेत्रफलमा गरिएको धानखेतीबाट ४० हजार ५० मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी तथा अर्थविज्ञ मदन रेग्मीले बताउनुभयो । उहाँका अनुसार यसवर्ष जिल्लामा दुई हजार एक सय ३५ हेक्टर जमिनमा धान खेती कम भएको र गत वर्षको तुलनामा चार हजार सात सय २६ मेट्रिक टन धान कमी भएको छ ।

यसवर्ष जिल्लामा खेतीयोग्य जमिनमध्ये ९७ प्रतिशतमा धान खेती गरिएको थियो भने करिब तीन प्रतिशत जमिन बाँझो रहेको छ । समयमै वर्षा, पर्याप्त मल र उन्नत जातका धानको बीउको अभाबका साथै क्षेत्रफल पनि कम हुँदा उत्पादनसमेत कमी हुन थालेको छ । गतवर्ष १४ हजार दुई सय ६० हेक्टर क्षेत्रफलमा लगाइएको धान खेतीबाट ४४ हजार सात सय ७६ मेट्रिकटन धान उत्पादन भएको थियो ।सुन्दरबजार नगरपालिका–४ का लक्ष्मण लामिछानेले गतवर्ष करिब ३० रोपनी क्षेत्रफलमा धानखेती गर्नुभएकामा यसवर्ष २० रोपनी क्षेत्रफलमा गरिएको धान खेतीबाट करिब ७० मुरी धान उत्पादन भएको उहाँको भनाइ थियो । गत वर्षमा ३० रोपनीमा धानखेती गर्दा ८० देखि १०० मुरिसम्म धान उत्पादन गर्दै आए पनि गोरु, कामदार अभावलगायत कारण कम क्षेत्रफलमा धानखेती गर्नु परेको उहाँले बताउनुभयो ।

त्यस्तै वडाध्यक्षसमेत रहनुभएका सोही स्थानका कृष्णप्रसाद अधिकारीले विगतमा ३० रोपनीमा जमिनमा धानखेती गर्दै आए पनि यसवर्ष गत १० रोपनी जमिनमा मात्र धानखेती गर्नुभयो । प्रतिरोपनी एकमुरी धान उत्पादन भएको उहाँको भनाइ थियो । जिल्लामा धानखेतीमा कमी हुनाकमा साथै उत्पादन पनि घट्दै गइरहँदा बजारको चामल खरिद गरेर खानुपर्ने जिल्लावासीको बाध्यता कायम छ ।त्यस्तै आर्थिक वर्ष २०७६ / २०७७ मा १४ हजार दुई सय ८० हेक्टर क्षेक्रफल जमिनमा लगाइएको धान खेतीबाट ४४ हजार चार सय २५ मेट्रिकटन धान उत्पादन भएको थियो । यस्तै २०७५ / ७६मा १४ हजार दुई सय ३० हेक्टर जमिनमा ४४ हजार एक सय ५५ मेट्रिकटन र २०७४ / २०७५ मा १४ हजार सात सय ९१ हेक्टर जमिनमा ४४ हजार पाँच सय ४५ मेट्रिक टन धान उत्पादन भएको थियो ।

यसैगरी आर्थिक वर्ष २०७३ / २०७४ मा १४ हजार चार सय ९६ हेक्टर जमिनमा ४३ हजार आठ सय ३० मेट्रिकटन, २०७२ / २०७३ मा १५ हजार आठ सय हेक्टर जमिनमा ४० हजार पाँच सय ७८ मेट्रिकटन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।सबैभन्दा बढी जिल्लाकै ठूला फाँट भोर्लेटार, चक्रतीर्थ, धमिलिकुवा, साइलीटार, अल्काटार, भोटेओडार, अलैँचेफाँट रामचोकबेँसीलगायत क्षेत्रमा धान उत्पादन राम्रो भएको उक्त केन्द्रले जनाएको छ । केन्द्रका सूचना अधिकारी रेग्मीले भन्नुभयो, “जिल्लामा सवित्री, रामधान, सुक्खा–१, सुक्खा–२, सुक्खा–३, लोकतन्त्र, सुनौलो र सुगन्धजस्ता जातका धान किसानले लगाउँदै आएका छन् ।’’किसानले पानी कम हुने ठाउँमा भने सुक्खा–१, सुक्खा–२, सुक्खा–३ लगाउने गरेका छन् । जिल्लामा ४५ हजार ५० हेक्टर क्षेत्रफल खेतीयोग्य जमिनमध्ये १५ हजार हेक्टर जमिनमा धानखेती हुने गरेको उहाँको भनाइ थियो ।

Mohotsav


Thali Mobile Pvt.Ltd.