नयाँ बसपार्क विष्णुमति करिडोरमा वृक्षरोपण

नयाँ बसपार्क विष्णुमति करिडोरमा वृक्षरोपण

काठमाडौँ । काठमाडौँको गोंगबुस्थित नयाँ बसपार्क विष्णुमति करिडोरमा वृक्षरोपण गरिएको छ ।अधिकार सम्पन्न वाग्तमी सभ्यता एकीकृत विकास समितिले लोत्से बहुद्देश्यीय प्रालि नयाँ बसपार्कको सहकार्यमा आज बिहान विष्णुमति करिडोरमा २०० विभिन्न जातका फलफूल तथा बिरुवा वृक्षरोपण गरेको हो ।समितिका आयोजना प्रमुख नवराज प्याकुरेलले समितिले काठमाडौँ उपत्यकाभित्रका नदी प्रणाली वाग्मती र त्यसका सहायक नदीको करिडोर निर्माण गर्ने र त्यसको वातावरण सुधार गर्ने कार्य गर्दै आइरहेको जानकारी दिनुभयो ।उहाँले नदीलाई हरियाली बनाउने उद्देश्यअनुसार वाग्मती, विष्णुमति, रुद्रमति, महोहरालगायतका उपत्यकाका मुख्य खोला तथा नदीमा करिडोर निर्माण गर्ने काम समितिले तीव्ररुपमा अगाडि बढाएको बताउनुभयो । काठमाडौँ उपत्यकाभित्र मात्र नभई देशभरका ठूला सहरमा यस्ता कार्यक्रम अगाडि सार्नुपर्ने उहाँको भनाइ छ ।

कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष पुन्यप्रसाद ९सरोज० सिटौलाले नेपालको राष्ट्रिय बसपार्क क्षेत्रमा हुने सवारी जाम कम गर्न करिडोरले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । “करिडोर निर्माणसँगै विष्णुमति करिडोरका सडकमा हुने सवारी जाममा कमी आउँछ”, उहाँले भन्नुभयो । नेपालका सबै नदीको किनारामा करिडोर निर्माण गर्नसके सवारी जाम कम हुनुका साथै राजधानीको सुन्दरता थपिने उहाँले बताउनुभयो ।नयाँ बसपार्क सञ्चालनको जिम्मा पाएको लोत्से बहुद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरले विष्णुमति करिडोरमा रोपिएका बिरुवाको जिम्मा लोत्सेले लिने बताउनुभयो । उक्त बिरुवा रोपेसँगै बसपार्कको सुन्दरता बढ्ने उहाँको भनाइ थियो ।नेपाल प्रहरीका तत्कालीन महानिरीक्षक सर्वेन्द्र खनालले विसं २०७६ चैत २१ गते उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदूषण नियन्त्रणका लागि कार्ययोजना तयार गर्दै उपत्यकाका मुख्य खोला किनारामा करिडोर निर्माणको काम अगाडि बढाउनुभएको थियो ।

 


Thali Mobile Pvt.Ltd.