निर्वाचन आचारसंहिता कार्यान्वयनमा आयोग प्रतिबद्धः आयुक्त भण्डारी

निर्वाचन आचारसंहिता कार्यान्वयनमा आयोग प्रतिबद्धः आयुक्त भण्डारी

कास्की, । निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन आचारसंहिता विपरीतका कार्य रोक्न आयोग प्रतिबद्ध रहेको बताउनुभएको छ । निर्वाचन आयोगले आज पोखरामा आयोजना गरेको प्रदेशस्तरीय मिडिया अभिमुखीकरण कार्यक्रममा उहाँले निर्वाचनमा भाग लिएका सबै राजनीतिक दलले गरेको प्रतिबद्धताअनुसार आचारसंहितालाई कडाइका साथ कार्यान्वयन गरिने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “दलहरुसँगको छलफल र परामर्शबाट नै निर्वाचन आचारसंहिता बनाइएको हो । सबै दलले यसको पालना गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएकाले आचारसंहिता प्रभावकारी कार्यान्वयनमा आयोग प्रतिबद्ध छ ।”

आयुक्त भण्डारीले निर्वाचनलाई स्वच्छ, निष्पक्ष बनाउन आयोग लागिपरेको बताउँदै सात महिनाको अन्तरालमा स्थानीय निर्वाचन सम्पन्न गरी प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन गर्न लागिएको बताउनुभयो । उहाँले आसन्न निर्वाचनका लागि आवश्यक निर्वाचन सामग्री व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकीका सचिव मनमाया भट्टराई पँगेनीले निर्वाचन सामूहिक रुपमा जस प्राप्ति गर्ने र अपनत्व लिने सामूहिक कार्य भएको बताउनुभयो । उहाँले सबै सरोकारवालाले आ–आफ्नो तर्फबाट सहयोग गरेमा निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गर्न सकिने उल्लेख गर्नुभयो ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सञ्चारमाध्यमहरूले आधिकारिक सूचना र समाचार सम्प्रेषण गरी निर्वाचनलाई सफल पार्ने र निर्वाचन आचारसंहिता उल्लङ्घनमा पहरेदार वाच डगको भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । उहाँले सञ्चार प्रतिष्ठान, पत्रकार र कर्मचारीले कसैको पक्ष वा विपक्षमा समाचार प्रकाशन वा प्रसारण गर्न नहुनेमा जोड दिनुभयो । प्रवक्ता शर्माले समानुपातिक निर्वाचनतर्फको मतपत्र दुर्गमका नौ जिल्लामा बाहेक अन्य सबै जिल्लामा ढुवानी गरिसकिएको जानकारी दिनुभयो ।  कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले निर्वाचनलाई स्वतन्त्र र भयरहित बनाउन तीनवटै सरक्षा निकायसँगै जिल्लामा एक हजार ६ सय म्यादी प्रहरीलाई तालिम प्रदान गर्ने काम भइरहेको बताउनुभयो ।

उहाँले निर्वाचनमा प्रतिकूल प्रभाव पार्ने समाचार सम्प्रेषण नगर्न ध्यानाकर्षण गराउनुभयो । कार्यक्रममा प्रदेश निर्वाचन अधिकारी हुमप्रसाद पराजुली, पत्रकार महासङ्घ कास्की शाखाका अध्यक्ष विमला भण्डारी, प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्रप्रसाद न्यौपानेलगायतले निर्वाचनलाई सफल बनाउन आमसञ्चारमाध्यमको ठूलो भूमिका रहने उल्लेख गर्नुभयो ।

 


Thali Mobile Pvt.Ltd.