भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

नुवाकोटमा एक हजार छ सय हेक्टरमा सिँचाइ सुविधा

नुवाकोटमा एक हजार छ सय हेक्टरमा सिँचाइ सुविधा

त्रिशूली, । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय नुवाकोटले एक वर्षमा एक हजार छ सय हेक्टर खेतीयोग्य भूमिमा सिँचाइ सुविधा विस्तार गरेको छ । नुवाकोटमा सिँचाइ कुलो, नदी नियन्त्रण र बस्ती संरक्षण तथा ऊर्जासम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको डिभिजन कार्यालयले आर्थिक वर्ष २०७८–७९ मा सो बाझो भूमिमा सिँचाइ सुविधा विस्तार गरेको डिभिजन प्रमुख हरिप्रसाद गुरागाईले जानकारी दिनुभयो । खेतीयोग्य उर्बरभूमि भएर पनि हालसम्म सिँचाइ नपुगेको दुई सय हेक्टरमा नयाँ योजनामार्फत र यसअघि निर्माण गरिएको भए पनि जीर्ण बनेका कुलोलाई सुदृढीकरण गरेर थप एक हजार चार सय हेक्टर भूमिमा सिँचाइ सुविधा पुर्‍याइएको छ ।

जिल्लामा नयाँ र पुराना गरेर सिँचाइका ७१ योजना अघि बढाइएकामा ६१ योजनाको काम सम्पन्न भएको छ । “मागमा आधारित भएर निर्माण तथा मर्मतसम्भार गरिएका सिँचाइ कुलोको उपभोग गरेर किसानलाई कृषि कर्ममा सहज बनाइएको छ”, गुरागाईँले भन्नुभयो, “सिँचाइको उपलब्धताले खेती लगाउन मात्र नभई बहुआयामिक प्रयोजनका रुपमा खानेपानी, सरसफाइ, पशुपन्छी तथा कुखुरा र माछापालन गर्न सहज भएको छ ।” नुवाकोटको कूल भूमि एक लाख १२ हजार एक सय हेक्टर भए पनि अध्ययनअनुसार जिल्लाको खेतीयोग्य भूमि ४५ हजार दुई सय ५२ हेक्टर मात्र छ ।

खेतीयोग्य भूमिमध्ये हालसम्म १८ हजार ४७ हेक्टरमा सिँचाइ सुविधा पुगेको डिभिजन कार्यालयले जनाएको छ । बागमती प्रदेशअन्तर्गत रहेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले सिँचाइ योजनाको निर्माण तथा सुदृढीकरण, नदी तथा खोलाले पुर्‍याएको कटानको नियन्त्रण, जोखिममा परेका बस्ती तथा सामुदायिक भौतिक संरचनाको संरक्षण, ग्रामीण विद्युतीकरण एवं केन्द्रीय प्रसारण प्रणाली नपुगेका स्थानमा नवीकरणीय ऊर्जाको कार्यक्रम सञ्चालन गर्दै आएको छ । आव २०७८–७९ मा प्राप्त बजेटमध्ये सिँचाइका नयाँ योजना र सुदृढीकरणमा रु २० करोड ११ लाख जिल्लामा एक सयभन्दा बढी योजनामा विनियोजन गरिएको डिभिजन कार्यालयले जनाएको छ । चालु आवमा जिल्लामा नयाँ र पुराना एक सयभन्दा बढी सिँचाइ योजनाका लागि झण्डै रु २५ करोड बजेट विनियोजन गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.