बाह्रबिसे । घुम्थाङ पहिरोमा परेका नौ जनाको शव भेटिएको छ । मृतक सबैको सनाखत भएको प्रहरीले जानकारी दिएको छ ।
पहिरामा ज्यान गुमाउनेमा नागपुजे गाउँका ६३ वर्षीया भक्तिमाया श्रेष्ठ, ९८ वर्षीय ट्याक्से शेर्पा र ४२ वर्षीया ज्ञानीमाया प्रधान, भिरखर्क विक टोलका २३ वर्षीया जुनु विक, २४ वर्षीय सुकुलाल विक, आठ वर्षीय सन्देश विक तथा नेवार टोलका ६० वर्षीया सर्किनी नेवार, ६५ वर्षीय धनलाल नेवार र ४२ वर्षीया हीरामाया श्रेष्ठ छन् । क्षतिको विवरण सङ्कलन भइरहेको छ ।
पहिरामा २२ जना अझै बेपत्ता रहेको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले बताए । भिरखर्क पहिरामा बेपत्तामध्ये पाँच जनाको उद्धार गरिएको छ । पुरिएका अवस्थामा फेला परेका उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको छ । यसैबीच सभामुख अग्निप्रसाद सापकोटाले पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी पहिरो प्रभावितलाई तत्काल सहयोग हुने जानकारी दिए ।
भौगोलिक अध्ययन गराएर बस्ती सार्नुपर्ने/नपर्ने विषयमा राष्ट्रियस्तरमै पहल गरिने समेत प्रतिबद्धता जनाए । यता वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले प्राकृतिक विपत्तिको सामना गर्नाको विकल्प नरहेको भन्दै नागपुजेमा पहिराबाट भएको क्षतिले आफू अत्यन्त दुःखित भएको बताए ।
