भर्खरै : Sorry, your browser does not support inline SVG.
परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट |

पर्यटकीय लेक चढ्न पदमार्ग

पर्यटकीय लेक चढ्न पदमार्ग

बाग्लुङ । पर्यटकीय लेक घुम्टे चढ्ने पदमार्ग निर्माण गरिएको छ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत गलकोट नगरपालिकाले गत आवमा विनियोजन गरेको रु पाँच लाख ६७ हजार बजेटबाट ८०० मिटर पदमार्ग बनाइएको हो ।गलकोट–१० पाण्डवखानीको सिद्धथानदेखि गोठथरीसम्म पदमार्ग जोडिएको निर्माण समितिका अध्यक्ष गङ्गबहादुर काउचाले जानकारी दिनुभयो । उहाँका अनुसार ४५५ मिटरमा ढुङ्गाको ‘सोलिङ’ र ३५० मिटरमा सिँढी निर्माण गरिएको छ । पदमार्गमा स्थानीयवासीले रु ५० हजार बराबरको श्रमदानसमेत गरेका थिए । गत असार १५ गतेदेखि असार ३० गतेसम्म दैनिक ५० जना श्रमिक पदमार्ग निर्माणमा खटिएका थिए । श्रमिकले एक दिनको रु ५१७ का दरले ज्याला पाएको समितिले जनाएको छ ।

वर्षायाममा जोखिम मोलेर पदमार्गको काम गरिएको अध्यक्ष काउचाले बताउनुभयो । व्यवस्थित पदमार्ग बनेपछि घुम्टे आउजाउ गर्न सहज हुने भएको छ । “घुम्टे चढ्ने पर्यटकलाई लक्षित गरी पदमार्ग बनाइएको हो, यसले पर्यटन प्रवद्र्धनमा पनि टेवा पुग्ने हाम्रो विश्वास छ”, सिद्धथान सामुदायिक घरबासका अध्यक्ष खिमबहादुर पुनले बताउनुभयो । पदमार्गले घुम्टे चढ्न सजिलो र छरितो बनाएको उहाँको भनाइ छ । सिद्धथानका सात घरमा सामुदायिक घरबास सेवा छ । घरबाससँग घुम्टेको पर्यटन पनि जोडिएको छ । तीन हजार ११० मिटरको उचाइमा अवस्थित घुम्टे जिल्लाकै आकर्षक गन्तव्यस्थलमा पर्छ । त्यहाँ बर्सेनि वैशाखे पूर्णिमा र नयाँ वर्षका अवसरमा मेला लाग्ने गर्छ । घुम्टेको धुरीमा रहेको सिद्ध र भैरवको दर्शन गर्नाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ ।

गलकोट घुम्टे पर्यटन विकास केन्द्रले विगत आठ वर्षदेखि नयाँ वर्षको अवसर पारेर घुम्टेमै गुराँस उत्सव आयोजना गर्दै आएको छ । जैविक विविधताले भरिएको घुम्टेमा चैत÷वैशाखमा दर्जनौँ थरीका गुराँस फुल्छन् । घुम्टेको चुचुरोबाट छिमेकी जिल्लाका समेत रमणीय ठाउँको अवलोकन गर्न सकिन्छ । सूर्योदय र सूर्यास्त पखको दृश्यावलोकनका लागि घुम्टे उपयुक्तस्थल हो । गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाभित्र समेटिएको घुम्टे लेक चढ्न यसअघि हरिचौर, मल्म हुँदै पनि पदमार्ग जोडिएको छ । घुम्टेलाई सडक सञ्जालसँग जोड्न अहिले मार्ग खोल्ने काम भइरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.