भर्खरै : Sorry, your browser does not support inline SVG.
गाजाको ९९ प्रतिशतभन्दा बढी भूभाग प्रदूषित, २३ लाख प्यालेस्टिनीको स्वास्थ्य जोखिममा | सुनकोशी-मरिणको १६ अर्बको ठेक्का रद्दमा बालेन टिममाथि प्रश्न, सात दिनभित्र कागजात बुझाउन निर्देशन | मलेसिया जाने कामदारबाट अर्बौँ ठगीको आरोप : दुई पूर्वमन्त्रीसहित १० जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति | बङ्गलादेशमा राजनीतिक हिंसा चर्कियो, आगजनी र बम विस्फोटका घटनापछि १२४ जना पक्राउ | पोखरामा प्यारापाइलट उत्पादन गर्ने पहिलो स्कुल सञ्चालनमा, १ करोड ५० लाख लगानी | भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरु, ८४ विद्यालयका ३२ सयभन्दा बढी विद्यार्थी सहभागी | असोजमा महँगी ६.३७ प्रतिशत पुग्यो, घिउतेल र फलफूलको मूल्य सबैभन्दा धेरै बढ्यो | नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी बढुवा लिएको आरोपमा अनुसन्धान विभागका अधिकृतविरुद्ध मुद्दा |

पहिराका कारण सडक र बत्ती अवरुद्ध

पहिराका कारण सडक र बत्ती अवरुद्ध

नवलपुर । केही दिनअघि आएको पहिराले बिजुलीको पोल ढलाउँदा नवलपरासी बर्दघाट–सुस्तापूर्वको देवचुली नगरपालिकाको एउटा गाउँ अन्धकारसँगै सञ्चार सम्पर्कबाट टाढिएको छ । गत बुधबार परेको अविरल वर्षाका कारण देवचुली–६ कीर्तिपुर जाने सडकमा पहिरो जाँदा सडक सञ्जाल र बिजुलीको पोल ढल्दा बिजुली अवरुद्ध भएको हो ।

नगरपालिकाको दलदलेबाट मुन्डे हुँदै कीर्तिपुर जाने सडक पहिराका कारण अवरुद्ध भएपछि यातायात सञ्जालबाट समेत गाउँ टाढिएको स्थानीवासीको भनाइ छ । देवचुली–६ का वडाध्यक्ष मीनबहादुर सोतीले पहिराले सडक अवरुद्ध भएपछि कीर्तिपुरवासीलाई बजारसम्म आउनै समस्या भएको छ ।

“पहिराका कारण सडक अवरुद्ध मात्रै भएको छैन”, सोतीले भन्नुभयो, “बिजुलीको पोल ढल्दा गाउँवासी अँध्यारोमा बस्नुपर्ने बाध्यता आएको छ भने बत्ती नहुँदा मोबाइल तथा सञ्चारका उपकरण चार्ज गर्न नपाउँदा सञ्चार सुविधाबाट समेत गाउँको सम्पर्क विच्छेद भएको छ ।”

पहिरो गएर सडक अवरुद्ध भएको पाँच दिन पुग्दासमेत पहिरो हटाएर यातायात सञ्चालन गर्ने तथा विद्युत् आपूर्ति सहज गराउन नसकिएको सोतीले गुनासो गर्नुभयो । गाउँमा बत्ती नभएपछि मोबाइलसँगै रेडियो, टेलिभिजनसमेत सञ्चालन गर्न नपाउँदा सञ्चार सञ्जालबाट निकै टाढिएको जस्तो महसुस गरिएको सोतीले बताए ।

कीर्तिपुरको सडक सञ्जाल विच्छेद भएसँगै बिरामीलाई अस्पतालसम्म ल्याउन पनि निकै कठिन हुने गरेको स्थानीयवासी बताउँछन् । पहिराले सडक अवरुद्ध गरेपछि खाद्यान्नसमेत ढुवानी हुन नपाउँदा गाउँमा दैनिक उपभोग्य वस्तु अभाव हुने चिन्ताले सताएको वडाध्यक्ष सोतीले बताए ।

सडकमा झरेको पहिरो हटाउने काम शनिबारदेखि शुरु गरिएको भए पनि सडकको पूरै अवरोध हटाएर सवारी साधन नियमित गर्न दुई,–तीन दिन लाग्न सक्ने सोतीको भनाइ छ । बर्खे झरी नरोकिएमा उक्त सडक नै भासिन सक्ने जोखिमसमेत रहेको बताए ।

कुश्मामा पाँच दिनपछि आंशिकरूपमा खानेपानी आपूर्ति शुरु

पर्वत– पर्वत सदरमुकाम कुश्माबजारमा पाँच दिनपछि खानेपानीको आंशिक आपूर्ति भएको छ । पहिरो र बाढीले क्षतविक्षत भएको क्यादीखोलाको मुल मर्मतपछि उपभोक्ताको धारामा पानी आउन थालेको हो । पातीखोलाको पाइप लाइन अझै सञ्चालन हुनसकेको छैन ।

मङ्गलबारको बाढी र पहिराले क्यादीखोला र पातीखोलाको पाइप लाइन पुरिँदा कुश्मामा पानी आपूर्ति रोकिएको थियो । क्यादीखोलाको पानी आएपछि उपभोक्ताको आधा माग मात्रै पूरा भएको छ । शिवालय खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष रविकुमार श्रेष्ठले पातीखोलाको पाइप लाइन मर्मतको काम पनि शुरु भएको बताए ।

पाइप लाइनमा क्षति भएपछि कुश्मा नगरपालिका र खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको खर्चमा पाइप परिवर्तन गरेर खानेपानीको आपूर्ति सञ्चालन गरिएको अध्यक्ष श्रेष्ठले बताए । क्यादीखोलासहित गोदाम र खुर्कोटको बर्खेमुलबाट पनि पानी ल्याइएको अध्यक्ष श्रेष्ठले बताए।

कुश्मा–८ चुवास्थित सुन्दरे खोलामा आएको बाढीले पातीखोलाको पाइप लाइन क्षतविक्षत बनाएपछि उक्त लाइन मर्मत गर्न केही दिन लाग्ने अध्यक्ष श्रेष्ठले बताए । संस्थाका प्रबन्धक राजेन्द्र रोकाका अनुसार पानी आपूर्तिका लागि राखिएका चार ठूला ट्याङ्कीमा क्यादीखोला र पातीखोला दुवैतर्फको मुहानबाट दैनिक २६ लाख लिटर पानी आउने गरेको थियो ।

त्यसमध्येको करिब २० लाख लिटर खपत हुने गरेको छ । बजारमा संस्थामार्फत दुई हजार ५६१ वटा धारा जडान गरिएका छन् । पानी आपूर्ति नहुँदा उपभोक्ताले आकाशेपानी जोहो गरेर पिउने गरेका थिए । कतिपयले नजिकैका पँधेरामा पुगेर पानीको खाँचो टार्दै आएका थिए । शिवालय खानेपानी उपभोक्ता संस्थाले उमालेर पानी पिउन पनि उपभोक्तालाई अनुरोध गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.