काठमाडौं । नयाँ बानेश्वरस्थित मुख्य सडकमा मंगाल खाल्डो परेपछि भासिएको सडक बन्न अझै दुई दिन लाग्ने भएको छ । सोमबार बिहान भासिएको सडक सम्बन्धित निकायले मंगलबार मात्रै ढल र मंगाल मर्मतको काम थालेको छ ।
सडकको बीचमा परेको १५ फिट गहिरो भ्वाङ समयमै नपुर्दा सवारी आवागमनमा समस्या भएको सर्वसाधारणले गुनासो गरेका छन्। भत्किएको मंगाल र ढलपाइप बनाउन दुईदिन लाग्ने उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले जनाएको छ।
ढलको काम सुरु भइसकेको भन्दै ढलको काम मात्रै गर्ने केयुकेएल ढल महाशाखाका प्रमुख उज्ज्वल श्रेष्ठले बताए । ढल र मंगालको काम सकाएपछि सडक बनाउने काम सडक विभागले गर्ने उनको भनाइ छ । सडक पुर्ने र पिच गर्नु पर्ने भएकाले अझै समय लाग्ने श्रेष्ठले बताए ।
