बलेवा । बागलुङ जिल्लाको ताराखोला गाउँपालिकाका एक पुरुष केही वर्षदेखि एचआइभी एड्सविरुद्धको औषधि प्रयोग गरिरहेका छन् । आफूमा संक्रमण रहेको पुष्टि भएपछि उनले धौलागिरि अस्पतालको एआरटी सेन्टरमार्फत औषधि खान शुरु गरेका हुन् । औषधिको प्रयोगले उनको स्वास्थ्य त सुधार भएको छ तर आफू संक्रमित भएको समाजले थाहा पाउला कि भन्ने त्रासले भने उनलाई पिरोलिरहन्छ ।
सामान्य समयमा विभिन्न बहानामा बागलुङ बजार आउने र गोप्य रुपमा एआरटी सेन्टर पुगेर औषधि लिने उनलाई अघिल्लो वर्षको बन्दाबन्दी समयमा सबैभन्दा धेरै समस्या भयो । एक दिन पनि छुटाउन नहुने औषधि बन्दाबन्दीका कारण लिन पाइएन भने समस्या बल्झेला भन्ने त्रासमा उनी थिए ।
‘खुलेर हिँड्न समाज बदलिएको छैन्, महामारीको समयमा गोप्य रहन निकै कठिन हुँदोरहेछ’, उनले भने ‘सामाजिक बहिष्करणको त्रासमा हामी संक्रमित छौं, एचआइभी संक्रमण सामान्य समस्या हो भन्ने चेतनाको अभाव छ ।’ उनी जस्तै जिल्लाभर रहेका सबै संक्रमितले सो महामारीका समयमा निकै कष्टकर दिन बिताए ।
कोरोना महामारीको दोस्रो लहर जिल्लाभर फैलिरहेको छ । एचआइभी तथा यौन रोगका बिरामीलाई महामारीका समयमा थप कठिन हुने देखिएको छ । ‘संक्रमितहरुप्रति सबै सचेत र जिम्मेवार बन्नु जरुरी छ तर हामीले सामाजिक चेतना पु¥याउनमा ध्यान दिएनाँैं’, धौलागिरि अस्पतालमा रहेको एआरटी सेन्टरका इन्चार्ज प्रदीप आचार्य भन्नुहुन्छ, ‘कोरोना संक्रमितको उच्च खतरामा संक्रमितहरु छन्, उनीहरुलाई जोगाउनु, जीवनरक्षा गर्नु मुख्य चुनौतीको विषय हो ।
कोरोनाको उच्च जोखिममा रहेर पनि खुलेर आफ्नै रक्षाका लागि आवाज उठाउन नपाएको संक्रमितहरुको गुनासो छ । वृद्ध, बालक र अन्य बिरामीलाई जोगाउन सरकारले सचेतना अभियान चलाए पनि आफूहरुका विषयमा कहीँकतै आवाज नउठेको संक्रमितको गुनासो छ ।
उनीहरुलाई जोखिमबाट बचाउनका लागि आचार्य आफैँले घरघरमा औषधि पु¥याउने गर्नुभएको छ ।
वर्षाको हिलो होस् वा हिउँदको धुलो, आचार्यले व्यक्तिगत सवारी साधन प्रयोग गरेर बिरामीका घरघरमा औषधि पु¥याइरहनुभएको छ । ‘अन्य मानिसहरुभन्दा एचआइभी तथा यौन रोग संक्रमितहरु खतरामा हुन्छन्’, आचार्य भन्नुुहुन्छ ‘कठिन समयमा सरसफाइ खानपानमा ध्यान दिएर सुरक्षित रहन भनेको छु ।’
बागलुङमा ३८६ एचआइभी संक्रमित छन् । उनीहरुले गोप्य रुपमा एआरटी सेन्टरबाट औषधि प्रयोग गर्दै आएका छन् । जिल्लामा कोरोना संक्रमितको संख्या हजारौंँमा गन्न मिल्ने अवस्थामा पुग्दा पनि एचआइभी संक्रमितलाई जोगाउन सकिएको आचार्यले बताउनुभयो । ‘यसै पनि शरीरको प्रतिरक्षात्मक क्षमता कमजोर हुन्छ
, कोरोनाको संक्रमणबाट जस्तोसुकै अवस्थामा जोगिनु पर्छ’, आचार्य भन्नुहुन्छ ‘संक्रमित निर्धक्क खुलेर आफ्नो सुरक्षा आफैँ गर्ने वातावरण समुदायमा बन्दा मात्रै पनि निकै सजिलो हुने थियो ।’ संक्रमितका लागि स्थानीय सरकार र स्वास्थ्य संस्थाले पनि आफ्नातर्फबाट हुन सक्ने सहयोग गर्नुपर्ने उनीहरुको माग छ ।
