भर्खरै : Sorry, your browser does not support inline SVG.
गाजाको ९९ प्रतिशतभन्दा बढी भूभाग प्रदूषित, २३ लाख प्यालेस्टिनीको स्वास्थ्य जोखिममा | सुनकोशी-मरिणको १६ अर्बको ठेक्का रद्दमा बालेन टिममाथि प्रश्न, सात दिनभित्र कागजात बुझाउन निर्देशन | मलेसिया जाने कामदारबाट अर्बौँ ठगीको आरोप : दुई पूर्वमन्त्रीसहित १० जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति | बङ्गलादेशमा राजनीतिक हिंसा चर्कियो, आगजनी र बम विस्फोटका घटनापछि १२४ जना पक्राउ | पोखरामा प्यारापाइलट उत्पादन गर्ने पहिलो स्कुल सञ्चालनमा, १ करोड ५० लाख लगानी | भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरु, ८४ विद्यालयका ३२ सयभन्दा बढी विद्यार्थी सहभागी | असोजमा महँगी ६.३७ प्रतिशत पुग्यो, घिउतेल र फलफूलको मूल्य सबैभन्दा धेरै बढ्यो | नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी बढुवा लिएको आरोपमा अनुसन्धान विभागका अधिकृतविरुद्ध मुद्दा |

मुहान सुकेपछि खोलाको दूषित पानी पिउन बाध्य

मुहान सुकेपछि खोलाको दूषित पानी पिउन बाध्य

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ औलाका बासिन्दा खोलाको दूषित पानी पिउन बाध्य भएका छन् । तेइस वर्षअघि निर्माण भएको औला खानेपानी तथा सरसफाइ आयोजनाको मुहान सुकेपछि पानीको हाहाकार मच्चिएको हो । उपभोक्ता समितिका अध्यक्ष डिलप्रसाद फगामीले खोलाकाई भन्ने ठाउँमा रहेको मुहान सुकेपछि पानी आपूर्ति हुन नसकेको बताउनुभयो ।

“एक सय ४३ घरधुरीका करिब आठ नौ सय र मण्डली आधारभूत विद्यालयका विद्यार्थी खानेपानी अभावमा प्रभावित भएका छन्”, उहाँले भन्नुभयो, “मुहान सुकेपछि खोलाको पानी ल्याएर बाँडेका छौँ । फोहोर पानीले रुघाखोकी लागेर बिरामी पर्न थालेका छन् ।” विसं २०५४ मा निर्माण भएको आयोजनाका १३ वटा सार्वजनिक धारामार्फत औलाका विभिन्न टोलमा खानेपानी वितरण गरिएको थियो । पछिल्लो समय प्रायजसोले सार्वजनिक धारामा निजी पाइप जोडेर घरमै पानी लगेका थिए ।

पहाडको फेदी र संसारेखोलाको किनारमा रहेको मुहान पूर्णरुपमा सुकेको चार महिना भयो । मुहान सुकेपछि रिजर्भ ट्याङ्कीमा संसारेखोलाको पानी हालिएको छ । खोलाको पानी दूषित भएको, गाईबस्तुले बिगारिदिने, दैनिक मर्मत गरिरहनुपर्ने समस्या रहेको औलाका बासिन्दा सन्देश रन्तिजा पुनले बताउनुभयो । “खोलाको पानी दूषित छ”, उहाँले भन्नुभयो, “गाईभँैसीले पाइप बिगारीदिने भएकाले दैनिकजसो बनाउनुपर्छ । नियमित पानी लैजान सकेका छैनौँ । साह्रै गाह्रो भएको छ ।” पिउन, शौचालयमा प्रयोग, सरसफाइ गर्न र गाईबस्तुलाई खुवाउन समस्या भएको छ ।

मण्डली आधारभूत विद्यालयका विद्यार्थी पनि खानेपानी पिउन धारामा लाइन बस्ने गरेका छन् । विद्यालय परिसरमा रहेको मुहान पनि खडेरीले सुकेर पानी सानो आउँछ । धारामा पानी नआउँदा औलावासी घण्टाँै पालो कुरेर त्यही मुहानको पानी भर्छन् । बुहउद्देश्यीय सभाहल निर्माण योजनासमेत पानीको समस्याले प्रभावित भएको छ । मसला बनाउन र पर्खालमा क्युरिङ गर्ने पानीको समस्या भएको उपभोक्ता समितिका पदाधिकारीले बताएका छन् ।

खोलाको मुहानभन्दा केही माथि संसारेखोलामा मोटरेबल पुल निर्माण भइरहेको छ । पुल निर्माणका क्रममा खोलामा डोजर प्रयोग गरिएकाले पानी धमिलो हुन्छ । लामो खडेरीले भूकम्पले खल्बलाएको मुहानमा असर परेर सुकेको हुनसक्ने स्थानीयवासीको अनुमान छ । अन्नपूर्ण गाउँपालिका–७ का वडाध्यक्ष गमबहादुर फगामीले तत्काल सुरक्षित र स्वच्छ खानेपानी आपूर्ति गराउने तथा दीर्घकालीन हिसाबले निजी धारासहितको आयोजना निर्माण गर्न पहल गरेको बताउनुभयो ।

“अन्तिम अवस्थामा रहेको यो आर्थिक वर्षमा बाँडफाँट भइसकेकाले बजेटको अभाव भयो”, उहाँले भन्नुभयो, “आउने वर्षमा गाउँपालिका, प्रदेश र सङ्घ सरकारमार्फत बजेट विनियोजन गरेर नयाँ आयोजना निर्माणका लागि पहल गरेको छु ।” रिमामा यो वर्ष प्रदेश सरकारले ‘एक घर एक धारा’सहितको खानेपानी आयोजना निर्माण गरिरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.