भर्खरै : Sorry, your browser does not support inline SVG.
स्वर्णिम वाग्लेको अभिव्यक्तिप्रति कमल थापाको आपत्ति, सरकारसँग मागे जवाफ | कांग्रेसको नयाँ कार्यसमितिमा १४ सांसद निर्वाचित, १० जना पराजित | एनपीएलको भव्य तयारी, कीर्तिपुर मैदानमा थपियो नयाँ सुविधा | असोजमा झण्डै ६ अर्बको विद्युत निर्यात, बङ्गलादेशमा पनि बिक्री सुरु | सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना |

रातो मच्छिन्द्रनाथको महास्नान सम्पन्न

रातो मच्छिन्द्रनाथको महास्नान सम्पन्न

ललितपुर । वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको महास्नान गराउने कार्य आज सम्पन्न भएको छ । प्रत्येक वर्ष चैतकृष्ण प्रतिपदाका दिन मच्छिन्द्रनाथलाई लगनखेल चोकस्थित आमा मायादेवीको मन्दिरमा लगेर महास्नान गर्ने परम्परा रहँदै आएको छ । मच्छिन्द्रनाथलाई आज दिउँसो साढे पाँच बजे विधिपूर्वक तःबहालको मन्दिरबाट बाहिर झिकेर साइतअनुसार साँझ सवा ६ बजे महास्नान गराउने कार्य सम्पन्न भएको पुजारी मोतिरत्न बज्राचार्यले बताउनुभयो ।

“महास्नानका क्रममा मच्छिन्द्रनाथको मुख पश्चिमपट्टि फर्काएर विभिन्न तीर्थका जल अर्पण गर्नाका साथै पञ्चामृत, फलफूल, घ्यू, सखर, दूध आदि चढाइएको छ”, उहाँले भन्नुभयो, “आजकै दिनमा रथ निर्माणका लागि पुल्चोकको दमकल चोकस्थित जोगाम्बर पीठमा गएर दुईजना मानिसले चार खम्बासमेत गाड्नेछन् ।” उहाँले मुलुकमा दिनानुदिन बढ्दै गएको दोस्रो लहरको कारोना कहरलाई ध्यानमा राखी हामीले यसपटक छिट्टै लोकेश्वरलाई मन्दिर लैजाने तयारी गरिरहेका छाँै भन्नुभयो । महास्नानका दिन राति मच्छिन्द्रनाथलाई कसैले नदेख्ने गरी मन्दिर लानुपर्ने चलन रहँदा यसपटक भने ८ देखि ९ बजे नै लगिने भएको उहाँको भनाइ छ ।

काठमाडौँमा इन्द्रजात्रा र भक्तपुरमा बिस्केट जात्राको जति ठूलो महत्व छ, यसैगरी पाटनमा पनि रातो मच्छिन्द्रनाथ रथजात्राको उत्तिनै ठूलो महत्व रहेको छ । उपत्यकाको सबैभन्दा लामो जात्राका रुपमा मच्छिन्द्रनाथ जात्रालाई मनाउने गरिन्छ । मच्छिन्द्रनाथलाई छ महिना पाटनको तःबहाल र छ महिना बुङ्मतीमा राख्ने चलनानुसार गत मङ्सिरमा पाटनको तःबहाल मन्दिरमा ल्याएर राखिएको छ । रातो मच्छिन्द्रनाथको रथजात्रा हेर्न दुई वर्ष अघिसम्म काठमाडौँ उपत्यकाका तीनै शहरका मानिसका साथै विदेशी पर्यटकसमेत नेपाल आउने गर्थे तर गत वर्षबाट मुलुकमा देखिएको कोभिड त्रासका कारण रथजात्रामा सहभागी हुन असहज भयो ।

किंवदन्तीअनुसार एकपटक भिक्षा माग्न आएका गोरखनाथलाई कान्तिपुरवासीले नदिएपछि त्यसैको झोँकमा उनले पशुपति मृगस्थलीमा नवनागलाई आसन बनाए । यसरी १२ वर्षसम्म वर्षा नभई अनिकाल भएपछि यसको समाधान खोज्दै जाँदा गोरखनाथका गुरु मच्छिन्द्रनाथलाई कान्तिपुर ल्याएमा गोरखनाथ आसनबाट उठी वर्षा र सहकाल हुने थाहा पाएर भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौँका राजा बन्धुदत्त बज्राचार्य र ललितपुरका कृषक ललित रथचक्र मिलेर मच्छिन्द्रनाथलाई भारतको कामारुकामाक्षबाट नेपाल ल्याएका थिए ।

काठमाडौँ उपत्यकामा मुहार रातो भएका रक्तवलोकेश्वर करुणामयको स्थान निकै उच्च छ । यिनलाई लोकनाथ, रातो मच्छिन्द्रनाथ वा मत्स्येन्द्रनाथ, बुङ्गमलोकेश्वर, बुँगद्यः, आर्यावलोकितेश्वर, वृष्टिदेव आदि विभिन्न नामले पुकार्दै उपत्यकावासीले श्रद्धाका साथ पूजापाठ र जात्रा मनाउँदै आएका छन् । मच्छिन्द्रनाथ पूजा तथा रेखदेखका लागि ३१ पानेजु अर्थात् पुजारी गठन भइरहेका छन् । लिच्छविकालमा देशभर अनिकाल र खडेरी लाग्दा अन्न, वर्षा, सहकाल, करुणामय तथा लाकेश्वर अनेकौँ नामले पुकारिने रातो मच्छिन्द्रनाथको नेपाल प्रवेशले सहकाल भइरहेको बुझाइ छ ।

नेपाल संवत् ४३३ अर्थात् विसं १३६९ मा गण्डकीका राजा रिपु मल्लले पहिलोपटक रातो मच्छिन्द्रनाथको महास्नान गर्ने चलन चलाएका पाटनका सूर्यमान डङ्गोलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मच्छिन्द्रनाथलाई हिन्दू धर्मावलम्बीले ऐतिहासिक सन्तगुरु करुणामयका रुपमा पुज्छन् भने बौद्ध धर्मावलम्बीले पद्यपाणि ९पञ्चबुद्धमध्येका चौथो बुद्ध० का स्वरुपमा पुज्ने गर्छन् ।” पुल्चोकको दमकलचोकस्थित जोगाम्बर पीठमा लोकेश्वरको रथ ३२ हात ४८ फिट अग्लो निर्माण गर्ने गरिन्छ । मच्छिन्द्रनाथको रथ ८०० सालमा राजा बरदेवले बनाउने चलन चलाएका पाटनवासीको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.