३२ साउन २०७७ काठमाडौं । पहिरोको जोखिम बढेपिछ लिदीमा स्थगित भएको बेपत्ताको खोजीकार्य पुन सुचारू भएकाे छ । उद्धारमा खटिएका नेपाली सेना र प्रहरी काम स्थगित गरेर सुरक्षित स्थानमा पुगेका थिए, तर माैसममा सुधार हुन थालेपछि खाेजी जारी रहेकाे छ ।
पहिरो पन्छाएर सर्च गर्दा हालसम्म १८ जनाकाे शव भेटिएको छ। शुक्रबार बिहान ११ जनाको शव भेटिएको थियो।यस्तै शनिबार दिउँसो पाँच र साँझ थप दुई जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद काफ्लेले बताए । प्रहरी कार्यालयका अनुसार शनिबार स्थानीय ३७ वर्षीय मेकमाइ दोङ, ३० वर्षीय मानबहादुर दोङ, १६ वर्षीय माइलापराङ दोङ, ११ वर्षीया लक्ष्मी दोङ, ११ वर्षीया च्यामा दोङ, ११ वर्षीया विमला दोङ र सातमहिने कबिर दोङको शव पहिरोमा पुरिएको अवस्थामा फेला परेको हो ।
भूकम्पले हल्लाएको त्रासले पहिरो जानसक्ने संकेत र त्रास अझै कायमै छ । अधिकांश स्थानीयले घर छोडेर स्कुलडाँडाआसपास बसेका छन् भने उनीहरूको पीडा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, संघीय सांसद शेरबहादुर तामाङ, बागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलाल, प्रदेश सांसद सरेश नेपालले, गृहमन्त्री रामबहादुर थापा, सभामुख अग्नि सापकोटालगायतले हेरेर पर्किएका छन् ।
उनीहरूको पीडा हेर्ने मात्र होकी मलम पनि लगाउने हुन त्यो हेर्न बाँकी नै छ । तत्कालका लागि नेपाली सेनाले स्थानीय र उद्धारमा खटेका सबैलाई बस्ने वासको व्यवस्थापन गरेको छ । विभिन्न सरकारी निकायले दिएको त्रिपाल र टेन्टमा स्थानीय बसेका छन् । सिन्धुपाल्चोकको जुगल गाउपालिका वडा नं २ लिदी गाउँमा साउन ३० गते बिहान सुख्खा पहिरो जाँदा ३७ घर पूर्ण क्षति भएका र करीब १७९ घर प्रभावित भएका छन् ।
रेडक्रसको सहयोग
१० दिनका लागि पुग्ने खाद्यान्न रेडक्रस जिल्ला शाखाद्धारा नेपाल आर्मीको हेलिकप्टर मार्फत घट्नास्थलमा पठाइएको छ । पठाइएका सामाग्रीमा दाल, चामल, तेल, नुन, गरम मसला रहेका छन् । अस्थाई शौचालयका लागी २ वटा स्कुटिङ प्लेट, खानेपानी कार्यालयको सहजिकरणमा खानेपानीका लागी १४०० मिटर पाइप पठाइएको छ ।
पहिरो प्रभावित स्थानमा भएका घाइतेहरुको उद्धारका लागि आवश्यक समन्वय र पहल रेडक्रसले गरेको नेरेसो सञ्चार निर्देशक दिव्यराज पौडेलले बताए । जिल्ला विपद् व्यवस्थापन समितिसंगको समन्वयमा ३० परिवारका लागी पुग्ने गरी आवश्यक गैह्र खाद्यय सामाग्री पूर्ण सेट पठाइएको उनले जानकारी दिए ।
