भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

वन नर्सरी सञ्चालनमा आएपछि स्थानीयवासीमा उत्साह

वन नर्सरी सञ्चालनमा आएपछि स्थानीयवासीमा उत्साह

गण्डकी । वन क्षेत्रको विस्तारसँगै विकास गर्ने लक्ष्यका साथ पोखरा महानगरपालिका–३० खुदीमा वन नर्सरी स्थापना गरी सञ्चालनमा आएपछि स्थानीयवासीमा उत्साह जागेको छ । लेखनाथ सबडिभिजन वन कार्यालयद्वारा यसै वर्षदेखि सञ्चालित वन नर्सरीले यहाँका स्थानीयवासीमा केही गर्नुपर्छ भन्ने आशा जगाएपछि विभिन्न सङ्घसंस्था एवं स्थानीय बासिन्दाको सक्रियतामा सार्वजनिक तथा निजी जग्गामा वृक्षरोपण अभियान सञ्चालन गरिएको हो ।

सामुदायिक वन उपभोक्ता महासङ्घ कास्कीका अध्यक्ष विश्वनाथ लामिछानेले पोखराबाट ओझेलमा परेको लेखनाथ क्षेत्रमा सरकारीस्तरबाटै वन नर्सरी सञ्चालन हुनु आफैँमा महत्वपूर्ण भएको बताए । बोटबिरुवा लगाउनका लागि लेखनाथ क्षेत्रमा पर्याप्त जमिन रहेका कारण पनि सञ्चालित नर्सरीले यस क्षेत्रमा वन पैदावारका साथै औषधीय गुणका वनस्पति लगाउने क्रम बढ्ने उनले बताए ।

एक÷दुईवटा बिरुवा लिन एक दिन लगाएर डिभिजन वन कार्यालयको नर्सरी पोखरा–१६ मा पुग्नुपर्ने बाध्यताको अन्त्य भएको बताउँदै अध्यक्ष लामिछानेले भन्नुभयो, “यसको भरपुर उपयोग गरेर लेखनाथ क्षेत्रमा हरियाली प्रवद्र्धन गर्न स्थानीय बासिन्दा लाग्नु पर्छ । पोखरा–३० द्वारा उपलब्ध गराइएको दुई रोपनी सार्वजनिक जग्गामा यसै वर्ष स्थापना गरी सञ्चालनमा आएको वन नर्सरीमा विभिन्न जातका ५० हजार बिरुवा उत्पादन गरिएको लेखनाथ सबडिभिजन कार्यालयका सहायक वन अधिकृत रामबहादुर विश्वकर्माले जानकारी दिए ।

नर्सरीमा जडीबुटी प्रजातिका कुरिलो, तेजपात, हर्रो, बर्रो, अमलालगायतका १० हजार र निमारो, लप्सी, रिठ्ठा, गुलमोहर, राइखनियो, इपिलइपिल, नासपाती, हलुवावेद, अम्बालगायतका ४० हजार बिरुवा उत्पादन गरेर वितरण गरिएको उहाँको भनाइ छ । उहाँका अनुसार गण्डकी प्रदेश सरकार वन, वातावरण तथा भू–संरक्षण मन्त्रालय, वन निर्देशनालय र डिभिजन वन कार्यालय कास्कीको सहयोगमा नर्सरी स्थापना गरी बिरुवा उत्पादन गर्न आर्थिक वर्ष २०७७–७८ मा रु ५० हजार प्राप्त भएको थियो ।

पोखरा अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थल सञ्चालनका लागि अप्ठेरो परेका कारण कटिङ गरिएको रिठ्ठेपानी डाँडाको माटो लगेर वडा कार्यालयले उपलब्ध गराएको गहिरो जग्गालाई पुरेर नर्सरी स्थापना गरिएको बताउँदै उहाँले भन्नुभयो, “सुक्खा मौसममा पुरिएको जग्गा बर्सातको समयमा भने नर्सरीभरि पानी जमेको छ । विश्वकर्माका अनुसार नर्सरीमा उत्पादन गरिएका अधिकांश बिरुवा वितरण भइसकेका छन् । विशेषगरी उत्पादित बिरुवा सामुदायिक वन समूहको खाली जग्गामा वृक्षरोपण गरिएको छ ।

“सामुदायिक वन उपभोक्ता महासङ्घको साप्ताहिकरूपमा मनाइएको सामुदायिक वन दिवसका अवसरमा चापापानी चिसाकुना सामुदायिक वनमा आयोजित वृक्षरोपण कार्यक्रममा वन नर्सरीबाट २०० बिरुवा निःशुल्क उपलब्ध गराइएको हो”, उहाँले भन्नुभयो, “अर्को वर्षदेखि मागका आधारमा विभिन्न जातका बिरुवा उत्पादन गर्ने तयारी भइरहेको छ ।”

‘सामुदायिक वनको सम्पत्ति, समृद्धि, प्रकृति र संस्कृति’ भन्ने मूल नाराका साथ सामुदायिक वन उपभोक्ता महासङ्घ गण्डकी प्रदेश, जिल्ला महासङ्घ कास्की, स्थानीय महासङ्घको संयुक्तरूपमा आयोजित वृक्षरोपण कार्यक्रममा अमला, वडहर, कटहर, हर्रो, बर्रो, हलुवावेद, तेजपात, नासपातीलगायत विभिन्न जातका २०० वटा बिरुवा रोपिएको चापापानी चिसाकुना सामुदायिक वन उपभोक्ता समूहका सचिव सीता सापकोटाले जानकारी दिए ।

लेखनाथ सबडिभिजन कार्यालयको पक्की भवन

वन नर्सरीसँगै लेखनाथ सबडिभिजन कार्यालयको पक्की भवन निर्माण सम्पन्न भएको छ । पोखरा महानगरपालिका–३० मा प्राप्त जग्गामा डेढतले पक्की भवन निर्माण गरी कार्यालय सञ्चालनमा आएको हो । नेपाल सरकारको रु ६० लाख लागतमा निर्माण सम्पन्न भएको सो भवनमा एउटा हलसहित चार कोठा छन् ।

एकै स्थानमा नयाँ भवन निर्माणसँगै वन नर्सरी स्थापना गरी सञ्चालनमा आएपछि सेवाग्राहीलाई सुविधा पुगेको छ । उक्त सबडिभिजन कार्यालयअन्तर्गत पोखरा महानगरपालिकास्थित लेखनाथ क्षेत्रका वडा नं २६ देखि ३३ सम्मका आठवटा वडा कार्यक्षेत्र रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.