एजेन्सी । विपद्जन्य घटनामा परी भारतको हिमाञ्चल प्रदेशमा २१ जनाको मृत्यु भएको छ । भारतको हिमाञ्चल प्रदेशमा वर्षासँग सम्बन्धित विभिन्न स्थानमा आएको बाढी र पहिरोका कारण अहिलेसम्म २१ जना भन्दा बढीको मृत्यु भएको हो ।
सोलान जिल्लामा चट्याङ पर्दा एकै परिवारका सात जनाको मृत्यु भएको छ भने मण्डीमा पहिरोले घर पुर्दा दुइ जनाको मृत्यु भएको छ । मण्डीको बम्बोला गाउँमा घर भत्किँदा दुई जनाको मृत्यु भएको छ भने सोलन जिल्लाको बलेरा गाउँमा पहिरोमा परी एक जनाको मृत्यु भएको छ ।
भारतको हिमाञ्चल प्रदेश मनसुन सुरु भएयता बढी प्रभावित बनेको छ । खराब मौसमका कारण सोमबार हिमाञ्चल प्रदेशका शैक्षिक संस्थाहरु बन्द गराइएको थियो । सयौँ नागरिकहरु बेपत्ता भएको हिमाञ्चल प्रहरीले जनाएको छ ।
स्थानीय अधिकारीहरुका अनुसार सिमलाको समर हिल क्षेत्रमा रहेको शिव मन्दिरमा पहिरोमा परी पाँच जनाको मृत्यु भएको छ । साथै सो क्षेत्रमा अन्य केही व्यक्ति बेपत्ता भएको आशंका गरिएको छ । त्यस्तै सिमलाको फागलीमा पहिरोमा परी अन्य चार जनाको मृत्यु भएको बताइएको छ ।
