म्याग्दी । मालिका गाउँपालिका पहिरोको जोखिममा रहेका २० बस्ती स्थानान्तरण गर्न सिफारिस गरिएको छ । पालिका स्तरीय विपद् व्यवस्थापन समितिले जोखिममा परेका ति बस्तीको पहिचान गरी जिल्ला विपद् व्यवस्थापन समिति, प्रदेश र सङ्घीय सरकार समक्ष स्थानान्तरणका लागि सिफारिस गरेको हो ।
गाउँपालिकाका जनप्रतिनिधि, प्राविधिक, रेडक्रसकर्मी र सुरक्षाकर्मीको संयुक्त टोलीले पहिरो, कटान र बाढीले क्षति पु¥याएका बस्तीको स्थलगत निरीक्षण गरी प्रतिवेदन तयार पारेको प्रमुख प्रशासकीय अधिकृत सुर्य विश्वकर्माले जानकारी दिए । जमिन धाजा फाटेर चिरा परेका र पहिरो नजिकै भएका बस्तीमा रहेका घरलाई थप क्षति हुन नदिन तत्काल सुरक्षित ठाउँमा स्थानान्तरण गर्न सिफारिस गरिएको उनले बताए ।
मालिका–५ जुग्जामा पूर्ण क्षति भएका २० घर र आंशिक क्षति भएका २९ घर, सोही वडाको तल्लो भेगका १० घर, घरथोकको तल्लो भेगका ४ घर, ओखलढुङ्गाको १३ घर, मगरदाङको तल्लो भेगका ५ घर, पन्थोकको ११ घर तथा न्याबोटका दुई घर स्थानान्तरणका लागि सिफारिस गरिएको छ ।
मालिका– ७ बिमका पूर्ण क्षति भएका ३४ घर र आंशिक क्षति भएका १७ घर तथा बिमको नौरुङ, कुटवाङ, नराले, ओखरढुङ्गा, नौमाने, काउरा, बन्सार, गौरीखेत र अर्कलाका झण्डै ८० परिवारलाई स्थानान्तरण गर्नुपर्ने गाउँपालिकाले जनाएको छ । गत असार २५ र २६ गतेको पहिरोले बिममा ८ जनाको मृत्यु भएको थियो भने एक जना बेपत्ता भएका थिए ।
