म्याग्दी । कोरोना कहर र बाढी पहिरोका कारण जोखिमयुक्त बाटोलाई छिचोल्दै दशैंका लागि मुस्ताङबाट ल्याइएका च्याङ्ग्राहरु ग्यादी सदरमुकाम ल्याइपुर्याइएको छ। दशैंका ल्याइएका च्याङ्ग्रा कम्तीमा ३० हजार रुपैयाँ मूल्य कायम गरिएको छ। यस वर्ष चीनको तिब्वतबाट भेंडा च्याङ्ग्राको आयात रोकिएसँगै मूल्य ह्वात्तै बढेको छ। कोरोना भाइरसको जोखिमसँगै तिब्वतबाट भित्रिने २० हजारभन्दा धेरै भे्रडा च्याङ्ग्रा रोकिएपछि मुस्ताङ र डोल्पाबाट मात्र ल्याइँदा मूल्य आकाशिएको हो।
मुस्ताङमै एउटा च्याङ्ग्राको मूल्य २८ हजार रुपैयाँ परेको व्यापारीहरु बताउँछन्। मुस्ताङ र डोल्पामा नै महँगो भएपछि ठूला ब्यापारी रित्तै फर्किएको छन्। बर्सेनि भेंडा च्याङ्ग्रा खरिद गर्ने व्यापारीभन्दा विचौलियाको सक्रियताले पनि भाउ महँगो भएको सिन्धुपाल्चोकबाट आएका व्यापारी अमरबहादुर ठकुरीको भनाइ छ। यस वर्ष मुस्ताङी च्याङ्ग्राको जिउँदो प्रतिकिलो एक हजार रुपैयाँमा बिक्री गर्दा समेत लगानी नउठ्ने व्यापारीहरु बताउँछन्। मुस्ताङमा करिब १० हजार र डोल्पाबाट ४०० वटा भेंडा च्याङ्ग्रा बाहिरिने अनुमान गरिएको छ। गत वर्ष मुस्ताङबाट २५ हजारको हाराहारीमा भेडाच्याङ्ग्रा निर्यात भएको थियो।
