भक्तपुर । ८ सय वर्ष पुरानो भनपा वडा नं. १ दुधपाटीस्थित भाजु पोखरीको मध्यभागमा अवस्थित जलेश्वर मन्दिरको शिलान्यस गरिएको छ । नगर प्रमुख सुनिल प्रजापतिले बिहीबार जलेश्वर मन्दिरको शिलान्यास गरेका हुन् ।
मसम्पदा संरक्षण कार्यले भक्तपुरको आन्तरिक र बाह्य पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेल्ने नगर प्रमुख सुनिल प्रजापतिले बताए । भक्तपुरका मूर्त अमूर्त सम्पदा संरक्षण नै भक्तपुर नगरपालिकाले हासिल गरेको विशेषत भएको र ऐतिहासिक तथा सांस्कृतिक हिसाबले पनि भाज्या पोखरी गौरवको योजना भएको बताए ।
जलेश्वर मन्दिर भक्तपुरकै गहनाको रुपमा हुने भन्दै उनले साँस्कृतिक महत्व बोकेको काठमाडाँैको रानी पोखरी पुनःनिर्माणमा भक्तपुरका जनताको योगदान रहेको र देशको सम्पदा संरक्षणमा भक्तपुरले सहयोग गर्न पाउनु भक्तपुरबासीको लागि गौरवको कुरा भएको बताए ।
नगर क्षेत्रभित्र रहेका सार्वजनिक मठ मन्दिर जीर्णोद्धार र पुनःनिर्माण गरेर मात्र नपुग्ने भन्दै प्रमुख प्रजापतिले त्यस्ता सांस्कृतिक संरचनाहरुको दिगो संरक्षणमा नगरपालिका जुटिरहेको र नपाको कार्यमा स्थानीयबासीहरुको पनि साथ र सहयोग रहँदै आएको बताए ।
कार्यक्रममा प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठ, वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्री, जलेश्वर मन्दिर पुनःनिर्माण उपभोक्ता समितिका अध्यक्ष लक्ष्मीनारायण खत्री, समितिका कोषाध्यक्ष कृष्णप्रसाद दुमरु र रामगोपाल बमनूले मन्दिरको महत्वका बारे प्रष्टयाएका थिए ।
