इरान युद्ध तत्काल टुंगिने संकेत छैन, शान्ति प्रस्तावमा ट्रम्प असन्तुष्ट

इरान युद्ध तत्काल टुंगिने संकेत छैन, शान्ति प्रस्तावमा ट्रम्प असन्तुष्ट

काठमाडौं, १९ बैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अघि सारेको पछिल्लो शान्ति प्रस्तावप्रति गहिरो असन्तुष्टि जनाएका छन् । उनले उक्त प्रस्ताव आफूलाई स्वीकार्य नभएको भन्दै इरानसँगको द्वन्द्व तत्काल टुंगिने सम्भावना न्यून रहेको बताएका छन् ।

ट्रम्पले इरानले राखेका सर्तहरू आफूले स्वीकार गर्न नसक्ने स्पष्ट पार्दै प्रारम्भिक सम्झौताले भविष्यमा थप जटिल अवस्था निम्त्याउन सक्ने चेतावनी दिएका छन् । विशेषगरी होर्मुज जलडमरूमध्य हुँदै जाने जहाजहरूबाट शुल्क उठाउने विषयमा अमेरिकाले कडा प्रतिक्रिया जनाउन सक्ने देखिएको छ ।

इरानको आणविक कार्यक्रम अहिले वार्ताको सबैभन्दा संवेदनशील विषय बनेको छ । अमेरिकी पक्षको मुख्य अडान इरानले कुनै पनि अवस्थामा आणविक हतियार विकास नगर्ने स्थायी प्रतिबद्धता जनाउनुपर्ने रहेको छ ।

ट्रम्पले अमेरिकी सेनाले इरानी सैन्य क्षमतामा ठूलो क्षति पुर्‍याएको दाबी पनि दोहोर्‍याएका छन् । वार्ताको अवस्थाप्रति असन्तुष्टि जनाउँदै उनले अमेरिका र इरानबीच कुनै सम्झौता नगर्नु नै उपयुक्त हुन सक्ने संकेत गरेका छन् ।

उनले इरानी सरकारमाथि हजारौं निर्दोष प्रदर्शनकारीको हत्या गरेको आरोपसमेत लगाएका छन् । साथै, आवश्यक परे थप सैन्य कदम चाल्न सक्ने चेतावनी पनि दिएका छन् ।

यसैबीच, अमेरिकी केन्द्रीय कमाण्डले ह्वाइट हाउसमा राष्ट्रपति ट्रम्पलाई इरानविरुद्ध सम्भावित सैन्य विकल्पबारे जानकारी गराएको छ । ती विकल्पहरूमा पहिलो पटक अति द्रुतगतिको क्षेप्यास्त्र प्रयोग गर्ने सम्भावनासमेत रहेको बताइएको छ ।

वर्तमान परिस्थितिले इरान–अमेरिका तनाव अझ लम्बिने संकेत देखाएको छ ।

 


Thali Mobile Pvt.Ltd.