‘१४ दिन पछि कोमाबाट फर्केका राष्ट्राध्यक्षले नेपाली राष्ट्रपतिसँग भेट्दा’…

‘१४ दिन पछि कोमाबाट फर्केका राष्ट्राध्यक्षले नेपाली राष्ट्रपतिसँग भेट्दा’… image

सन् २०१९ जनवरीको एकदिन फेसबुकको म्यासेजले मेरो ध्यान खिच्यो । सोधिएको थियो- नेपाल आएका बेला मलाई तिम्रो राष्ट्रपतिसँग भेट्नुछ, के तिमीले त्यो अवसर जुटाइदिन सक्छ्यौ ?’

आश्चर्य मान्दै सोधें, ‘किन’ ?
उताबाट जवाफ आयो, ‘तिम्रो राष्ट्रपतिलाई चिन्छु । मैले उहाँलाई पोल्यान्डमा भेटेको थिएँ ।’
‘हो र !’ मैले आश्चर्य मानेँ । ‘यहाँ हामी राष्ट्रप्रमुखहरुको बैठक थियो । त्यही समयमा उहाँसँग भेट भएको थियो ।’
अब मन अत्तालिएर आयो ।

सोधें ‘राष्ट्र प्रमुख ?’ भनिदिनुहोस्, हजुर को हुनुहुन्छ ?
जवाफ आयो, ‘उसोभए तिमीले मेरो सन्देश पुरै पढेकी छैनौ। पुनः पढ ।
फेसबुक म्यासेञ्जर फेरि हेरें ।

‘हेलो, जमुना, मैले तिम्रो बारेमा वर्ल्ड इन्डिपेन्डेन्ट लिभिङ नेटवर्कबाट थाहा पाएँ । नेपालमा अपाङ्गता भएका व्यक्तिहरुका लागि स्वावलम्बन जीवन पद्दतिको अवधारणामा तिम्रो संस्थाले पुर्‍याएको योगदान अतुलनीय छ । म सानो गणतान्त्रिक मुलुक सान मारिनोको क्याप्टेन रिजेन्ट (राष्ट्रप्रमुख) हुँ । तिम्रो देश घुम्ने रहर छ । के तिमी मलाई यसका लागि सहयोग गर्न सक्छ्यौ ?’

सुन्दै नसुनेको देशको नाम सुनेपछि मैले गुगल मात्र के गरेकी थिएँ, विश्वकै पुरानो गणतान्त्रिक मुलुक इटालीले चारैतर्फ घेरेको विश्वको चौथो सानो देश, जस्ता सूचनासँगै हृविलचियरमा बसेका क्याप्टेन रिजेन्ट वा राष्ट्रध्यक्षको पुरै जीवनी आयो ।उहाँ अमेरिकाका पूर्वराष्ट्रपति रुजबेल्टपछिका विश्वकै जीवित वहालवाला अपाङ्गता भएका राष्ट्रपति हुनुहुँदोरहेछ ।

जुन मेरा लागि सौभाग्य र गौरान्वित महसुस हुने कुरा थियो । ‘नेपाल आएको समयमा राष्ट्रपतिलाई भेट्नुका अलावा अपाङ्गता भएका बालबालिकाका लागि केही मेडिकल सामाग्री सहयोग गर्ने सोच बनाइरहेको छु । तिम्रो यसमा के राय छ ?’

हामीले नेपालमै उपलब्ध स्रोत र साधनको प्रयोगबाट उपभोक्तामुखी हृविलचियर उत्पादन गरिरहेको र विगतमा नेपाल सरकारबाट राम्रै साथ पाएता पनि यस वर्ष भने अलपत्र परिरहेको अवस्थाबारे बताएपछि उहाँले भन्नुभयो, ‘त्यसोभए तिमीसँग यस विषयमा केही लिखित सामाग्री छ भने मलाई तुरुन्त इमेलमा पठाऊ । म मेरो संस्था एटिभा मेन्टेका साथीहरुसँग छलफल गर्छु । मैले ‘हुन्छ’ भन्दै विदा लिएँ ।

त्यसपछि हामीले प्रदेश ३ सरकारलाई बुझाएको हृविलचियर र स्वावलम्वन जीवन पद्दतिको प्रस्तावना अंग्रेजीमा अनुवाद गरेर पठायौं । नबुझिएका बुँदामा पटक-पटक संवादमा रहेँ । दुई हप्तापछिको बिहानी हाम्रा लागि खबर सुखद रह्यो ।उहाँको संस्था एटिभा मेन्टे, उहाँको सरकार, साथी र जनताबाट सानो बिउ पुँजीका रुपमा हामीलाई हाम्रो हृविलचियर उत्पादनका लागि सहयोग रहने खबर हामी समस्त स्वावलम्बन जीवन पद्दति केन्द्र परिवारका लागि खुशी बोकेर आयो ।

यसरी एक अपरिपक्व फेसबुकको म्यासेजबाट एक संस्थागत साझेदारीमा पुगेको केही समयपछि पुनः उहाँले नेपाल आउन चाहेको सन्देश पाएँ । तर, हामी आफैं १२ वर्षदेखि नेपालमा सबै सार्वजनिक भौतिक संरचना अपाङ्गतामैत्री हुनुपर्छ भनी वकालत गर्दै आएता पनि उहाँहरुले भ्रमण गर्न इच्छाएका गन्तव्य स्थलहरु चितवन, लुम्बिनी, पोखरा, काठमाडौंका पर्यटकीयस्थलको विस्तृत पहुँचयुक्तताबारे अनभिज्ञ नै थियौँ ।

त्यसैले नेपालमा केही वर्षदेखि पहुँचयुक्त पर्यटन व्यवसायमा लाग्नुभएका फोर सिजन ट्राभल एन्ड टुरका निर्देशक पंकज प्रधानाङ्गको साथ लिन पुग्यौं । सबै स्थानमा स्वयं पुगेर तस्वीर पठाएमा आभार हुने थिएँ भन्ने भावसहितको सन्देश पाएपछि म आफैं एक हप्ताको दौडाहामा लागेँ ।

मुख्य पर्यटकीय स्थलहरुसहित पहुँचयुक्त भनिएका होटलहरुको पनि प्रवेशद्वारमा भएको भिरालो बाटो, स्नानघर, बार्दली, बेड फर्निचर आदिको तस्वीर पठाएपछि भने राष्ट्रध्यक्षले नेपाल भ्रमण सुनिश्चित गर्नुभयो । उहाँको सामीप्यले नयाँ मोड पाएको महशुस गरिरहेको स्वावलम्वन जीवन पद्दति केन्द्र काठमाडौंले उहाँको आगमनलाई कसरी सफल बनाउने भन्नेबारे विमर्श गरिहेको थियो ।

एक दिन हिम्मत गरेर मैले सोधेँ, ‘महामहिमज्यू, यहाँका साथीहरुले हजुरको नेपाल बसाइ सुरक्षित होस् भन्ने हेतु हजुरको सुरक्षाका लागि केही व्यवस्था मिलाउनुपर्छ कि भन्ने जिज्ञासा छ । के गर्दा उपयुक्त हुन्छ सुझाव पाऊँ ।’ उताबाट जवाफ आयो, ‘म नेपाल आउने समय (अप्रिल २०१९ ) अगावै मेरो राष्ट्रपति पदको कार्यकाल सकिन्छ, म सामान्य नागरिक हुन्छु ।

त्यसैले मलाई र मेरो समूहलाई कुनै भव्य स्वागत नगरियोस्, उहाँले थप्नुभयो, ‘म यस्तो समयमा नेपाल भ्रमण गर्न चाहन्छु, जुन समयमा नेपाली समाज आफ्नै संस्कार, संस्कृति मनाउन व्यस्त भइरहेको होस् । म धेरै साथीको समूहमा आउँदैछु । मेरा साथीले कुनै किसिमको अवरोधविना नेपालको कला संस्कृति र प्राकृतिक सौन्दर्यको इन्जोय गर्न सकून् ।’

हामीले उहाँको भ्रमण तालिका बनायौँ, दशैँको समयलाई लक्षित गरी १० दिने अनुमानित तालिका पठायौँ । यता राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्र प्रमुख (क्याप्टेन रिजेन्ट) को सन्देश मजस्तो समान्य नागरिकले लिएर जान प्रायः असम्भव जस्तै थियो । त्यसमा पनि प्रटोकोल लाग्ने र परराष्ट्र मन्त्रालयमार्फत पुग्नुपर्ने प्रकृयाले निक्कै समय लिनेजस्तो देखियो । भेट गराउने प्रयास जारी नै रहृयो । तर, सोचेजस्तो सजिलो भने रहेन ।

एक दिन नेपाली सेनामा हुनुभएका मेरा काकासँग सहायता मागेँ । सौभाग्यवस उहाँका साथी भेषराज अधिकारी राष्ट्रपतिको स्वकीय सचिव हुँनुहुँदोरहेछ । काकाको सहयोगमा उहाँलाई भेट्न केही कागजात बोकी २३ अगष्ट राष्ट्रपति कार्यालय पुगेँ र सबै बेलिबिस्तार लगाएँ ।

निरन्तरको फलोअप र अपडेट हुदै जाँदा ४ अक्टोबरका दिन १० जनाका लागि मात्र शिष्टाचार भेटघाटका लागि समय पाइयो । समूहका सबैजनाको इच्छा भने पूरा भएन । समय सुनिश्चितसँगै दुबैतर्फको शिष्टाचार पत्रहरु पनि तयार भए ।अक्टोबर ३ का बिहान उहाँहरु सवार टर्किस एयरलायन्सको विमान अवतरण गर्‍यो । तर, विमान अवतरण गरेको दुई घण्टासम्म पनि उहाँहरु बाहिर आउन सक्नुभएन ।

अध्यागमनको भिसा प्रक्रिया लामो र पट्यारलाग्दो भएको बताउँदा निकै दुःख लाग्यो । उहाँहरुको बस्ने व्यवस्था होटल मेरिएटमा गरिएको थियो । उहाँहरु नेपाल रहुन्जेल पुगिने स्थान र तिनको विशेषताबारे जानकारी गराएपछि उहाँहरुलाई विश्राम गर्न समय दिँदै बेलुका रात्रीभोजमा भेट्ने वाचाका साथ कार्यालयतर्फ लागें ।

माननीय प्रकाश पन्त, विवेकशील नेपाली दलका महासचिव गोविन्द नारायण, बालाजु स्कुल अफ टेक्नोलोजीका पि्रन्सिपल निर्मलप्रसाद न्यौपानेसहित हामी स्वावलम्बन जीवन पद्दति केन्द्रका साथीहरुले स्वागत स्वरुप रातिको खाना सँगै खायौँ ।यसैक्रममा महामहिमज्यूले आफ्नो राजनैतिक दृष्टिकोण, संघर्षबारे बताउनुभयो ।

सन् १९९८ मा मोटरसाइकलबाट यात्रा गर्दागर्दै अचानक खस्नुभएछ, विपरीत दिशाबाट द्रुत गतिमा आएको कार उहाँको शरीरमाथि चढेन मात्र, उहाँको शरीरलाई दुई सय मिटरसम्म घिसारेछ । त्यस दुर्घटनाबाट उहाँको छातीका करङ, मेरुदण्ड र घाँटीमा गम्भीर असर परेछ ।

चिकित्सक र परिवारले समेत आश मारिसकेको अवस्थामा करिब १३/१४ दिनपछि कोमाबाट र्फकनुभएछ । जसलाई उहाँ आफै चमत्कार महसुस गर्नुहुँदोरहेछ । सन् २००४ मा उहाँले केही आफूजस्तै साथीहरुसँग मिलेर एटिभा-मेन्टे नामक संस्थाको स्थापना गरी अपाङ्गता भएका व्यक्तिहरुप्रतिको धारणा परिवर्तन गर्न सक्रिय जीवन बाँच्न थाल्नुभयो ।

सन् २००४ मा अमेरिकाको न्यूयोर्कमा हृविलचियर प्रयोगकर्ताहरुको म्याराथनमा हिस्सा लिन पुग्दा अन्तरराष्ट्रिय अपाङ्गता भएका व्यक्तिहरुका अधिकारका लागि तयार हुँदै गरेको महासन्धिबारे जानकारी प्राप्त गर्नुभयो । आफ्नो देश फर्केपछि उहाँले उक्त महासन्धिको अध्ययन र स्वीकार्यताका लागि विभिन्न सञ्चार माध्यमबाट रचनात्मक रुपमा वकालत गर्न थाल्नुभयो ।

सन् २००६ मा उहाँले समरिन लोकतान्त्रिक समाजवादी पार्टी प्रवेश गर्नुभयो । त्यही वर्ष चुनाव जितेर उहाँ गणतान्त्रिक सान मरिनोको अपाङ्गता भएको पहिलो सभासद चुनिनु भयो । विभिन्न अन्तर-संसदीयको सक्रिय सदस्यका रुपमा विभिन्न आयोगहरुसँग सहकार्य गर्दै अपाङ्गता भएका व्यक्तिहरुको अधिकारका लागि महासन्धि, २००६ लाई गणतान्त्रिक मुलुक सान मारिनोकोतर्फबाट अनुमोदन र कार्यान्वयनका लागि ठूलो पैरवी गर्नुभयो ।

सन् २००७ देखि २००८ सम्मका लागि गणतान्त्रिक सान मारिनोका क्याप्टेन रिजेन्ट (राष्ट्रपति) का रुपमा चुनिनुभयो । यो अपाङ्गता अधिकार आन्दोलनका लागि निकै ठूलो उपलब्धि थियो । उहाँको कार्यकालमा नै महासन्धि पारित त भयो । तर, पूर्ण कार्यान्वयनका लागि भने निक्कै संघर्ष गर्नु परिरहेको अनुभव सुनाउनुभयो ।

राष्ट्रपति पद सर्वोच्च पद भए पनि संविधानले धेरै अधिकारमा खुम्च्याउने हुदाँ अपाङता भएका नागरिकको स्वतन्त्र र स्वावलम्बन जीवनका लागि गरेको बहसलाई बारम्बार आर्थिक संकटको नाम दिई कार्यान्वयन गर्न हिच्किचाएका आफ्नै सहकर्मीहरुबाट दिक्क भई राजीनामा पनि दिनु परेछ ।

उक्त अवस्थाको स्मरण गर्दै उहाँले भन्नुभयो, ‘सान मारिनोमा यतिका माथिको ओहदामा पुगेको मान्छेले राजीनामा दिएको त्यो पहिलो र दुर्लभ घटना थियो, जसले सान मारिनोको सरकारलाई चौतर्फी दबाव दियो । मलाई बारम्बार प्रश्न गरियो किन राजीनामा दिएको ? मैले पनि बारम्बार महासन्धि कार्यान्वयनमा भएको ढिलासुस्ती र उदासीनताका कारण राजीनामा दिएको हो भन्ने जवाफ दिइरहेँ । अन्ततः महासन्धिको पूर्ण कार्यान्वयन गर्ने बाचासहित तीन महिनापछि म पुन: बहाली भएँ ।

सायद मैले धेरै नै तनाव महसुस गरेको रहेछु कि त्यही समय मलाई मेरो ठूलो आन्द्रामा क्यान्सर भएको पत्ता लाग्यो । भाग्यवस मलाई किमोथेरापीजस्तो पीडादायी उपचार पद्दतिबाट भने गुज्रनु परेन, शल्यक्रियामार्फत आधाभन्दा बढी आन्द्रा काटेर फालियो । अहिले म स्वस्थ छु ।’ यति सुनिरहँदा म भने पुरै आँशु आँशुमा डुबेकी थिएँ । कुनै सिनेमाको पात्रको जस्तो कहालीलाग्दो संघर्ष ! पटकपटक मृत्युको नजिक पुगेको मान्छे, अनि त्यो आत्मविश्वास ! कहाँबाट आयो होला है !

उहाँले थप्नुभयो ‘म राष्ट्रपतिमा पुनः बहाली भएपछि मैले आफैं पनि अलिकति रणनीति अपनाएँ, सक्रिय जीवन रोजेँ । मैले सिनेमा हल, थिएटर, विद्यालय, चर्च, विश्वविद्यालय आदि जहाँ पनि जाने इच्छा गरिरहेँ । यसले चमत्कारिकरुपमा पहुँचयुक्त अर्थात्, व्हिलचियर प्रयोगकर्ताहरुका लागि मात्र नभई ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती महिला तथा साना शिशु बोक्ने अभिभावक (सबैका लागि योग्य) संरचनाहरुको निर्माण रातारात हुन थाल्यो ।

यसले यति छिटो प्रगतिको रुप लियो कि पुरै सान मारिनोका सार्वजनिक भवनहरु युनिभर्सल डिजाइनमा आधारित पुनः निर्माण वा रेट्रोफिट भए । मैले महसुस गरेको कुरा म राष्ट्रपति हुदाँ कति छिटो सबैका लागि अनुकूल विकास भयो । त्यसैले पनि हामी अपाङ्गता भएका व्यक्तिहरुले त्यो निर्णायक ठाउँमा पुग्न सधैँ कोशिस गरिरहनुपर्छ ।’ त्यस साँझको बसाइले हामी सबैले निक्कै प्रेरणा पाएको महसुस गर्‍यौं र उहाँको भोलिदेखि सुरु हुने नेपाल अनुभव कार्यक्रम सुखद् रहोस् भन्ने कामना गर्दै विदा भयौं ।

काठमाडौंको धुलो, खाल्डाखुल्डीसँगै उहाँको यात्रा सुरु भयो । दोस्रो दिन बिहान भक्तपुरको भ्रमण भयो । दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट भयो । पूर्वनिर्धारित समय अनुरुप हामी १० जना राष्ट्रपति भवन प्रवेश गर्‍यौं । भेटमा महामहिम मिरकोले सान मारिनोको सरकार र जनताका तर्फबाट सन्देश निक्कै शिष्टताका साथ पढनुभयो ।

राष्ट्रपति भण्डारीले राष्ट्रपति मिरकोलाई आफूले पोल्यान्डमा भेट्दा अपाङ्गता हुँदाहुँदै पनि देशकै प्रमुखको जिम्मेवारी सम्हाल्नुभएको थाहा पाउँदा अदभूत अनुभव गरेको स्मरण गर्नुभयो । उहाँले आज आफ्नो देशमा स्वागत गर्न पाउँदा निक्कै हर्ष महशुस गरिरहेको बताउँदै यो भ्रमणले दुई देशको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले मिरको लगायतको समूहको नेपाल भ्रमण सफल होस् भन्ने कामना गर्नुभयो ।

स्वावलम्वन जीवन पद्दति केन्द्रका तर्फबाट अध्यक्ष गणेश केसीले नेपालमै उपलब्ध स्रोत साधनको प्रयोग गर्दै उत्पादन भैरहेको हृविलचियर, आम अपाङ्गता भएका व्यक्तिहरुको जीवनस्तर उकास्नुको अपरिहार्यता र कठिनाइबारे राष्ट्रपतिलाई संक्षेपमा बताउनुभयो । राष्ट्रपति भण्डारीले पनि यस्तो असल कामका लागि सरकार ऐक्यवद्ध रहेको जानकारी दिनुभयो ।

राष्ट्रपतिको भनाइले हामीलाई हाम्रो मिसन हृविलचियर उत्पादनमा केही आशावादी बनायो । त्यसपछि हामी बालाजुको औद्योगिक क्षेत्रभित्र रहेको बालाजु स्कुल अफ टेक्नोलोजीस्थित हाम्रो हृविलचियर उत्पादन केन्द्रमा पुग्यौं । बालाजु स्कुल अफ टेक्नोलोजी, सीटीईभीटी र इन्फिनिटी ल्याबले उहाँहरुको भव्य स्वागत गर्दै हृविलचियर उत्पादनमा भइरहेको प्रगतिबारे जानकारी गरायो ।

अक्टोबर ६ बाट काठमाडौं बाहिरको यात्रा सुरु भयो । एक ठूलो पर्यटन बस र एकमात्र पहुँचयुक्त भ्यानको प्रयोग गर्दै चितवनतर्फको यात्रामा २१ जनाको समूह निस्कियो । मेरा लागि पनि सौरहा र चितवनको राष्ट्रिय निकुञ्जको भ्रमण पहिलो थियो । नेपालमा अपाङ्गता भएका व्यक्तिहरुको अवस्था, संस्कृति, नेपाली नागरिक, भूगोल र विकासबारे गफिँदै गर्दा दासढुङ्गाको जम्काभेटले भावुक बनायो ।

हामी दासढुङ्गामा रोकियौँ । स्तम्भमा भएको सूचना पढ्दा मैले मेरो कनेक्टिभिटी भेटेँ । मदन भण्डारीको निधन भएकै वर्ष मेरो दुर्घटना भएको हो । जसका कारण म अपाङ्गतापूर्ण जीवनमा छु र अपाङ्गता भएका व्यक्तिहरुको अधिकारका लागि काम गरीरहेकी छु । दासढुङ्गाको यो स्मारक बनाउन अथक मेहनत गर्नुभएका तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको पनि दुर्घटनामा नै निधन भएको छ ।

करिब एक वर्षअघि पोखराको अन्तर्राष्ट्रिय पहुँचयुक्त पर्यटन सेमिनार र पहुँचयुक्त ट्रेकिङ ट्रेलको उदघाटन गर्दा उहाँसँग भेट भएको थियो । हाम्रो भेट मेरा गुरु रविन्द्रराज पाण्डेले गराउनुभएको थियो । हामीले पनि पहुँचयुक्त ट्रेकिङ ट्रेलको निमार्णमा काम गरेका थियौँ । चितवनमा थारु बस्ती, थारु समुदायको जीवनशैलीमा आधारित संग्र्रहालय, हात्ती प्रजनन केन्द्र र जङ्गल पैदलयात्रा गर्दै बेलुका थारु कला संस्कृतिको अवलोकन गर्‍यौंं ।

दोस्रो दिन डुंगा चढेर नदी वरिवरिको प्राकृतिक सौन्दर्य अवलोकन गर्‍यांै । साँघुरो र जोखिमपूर्ण यात्रा हुने आशंकामा पहिले डुंगा चालकहरुले हामी तीनजना हृविलचियर प्रयोगकर्तालाई नचड्न सुझाए पनि पछि भने क्यानोइङ गर्ने अवसर जुट्यो । जंगल सफारीका लागि जङ्गल पस्यौं । त्यो घना जंगल र जंगलभित्र भएका वनस्पति र जनावर, पशु पंक्षी प्रत्यक्ष देख्दा कसको मन कान्तिले नभरिएला र ?

भोलिपल्ट विजयादशमीको दिन रातो पहिरन र रातो सजावटमा जब म बाहिर निस्किएँ, सबै विदेशी साथीहरु आश्चर्यमा परे । हाम्रो साथमा रहनुभएका भाषा अनुवादक कविन्द्रजीले विजयादशमीको महत्व र त्यसदिन नेपाली समुदायले गर्ने हर्षोल्लास बारेमा जानकारी गराउँदा थप जिज्ञाशा पैदा गरेको थियो । जब हामी चितवनबाट लुम्बिनीतर्फ विस्तारै लाग्यौँ, बाटोमा टीका र जमरासाथ सजिएका मानिसको लर्को देख्दा जागेको उहाँहरुको जिज्ञासा मेटाउने प्रयास गरिरहेका थियौं ।

टीकाकै साइतमा हामी सबै सुनवल १२, नवलपरासीमा रहेको मेरो माइतीघर पुग्यौँ । नेपाली संस्कृति अनुसारको स्वागत आतिथ्यताबीच पाहुनाहरुले नेपाली परिवारको मौलिकताको अनुभव गर्ने अवसर प्राप्त गरे । लुम्बिनी यात्रा भने निर्माणाधीन बाटोका कारण केही कठिन रहृयो । लुम्बिनी परिसरमा रहेका अवरोधहरुले यात्रा अरु चुनौतीपूर्ण भयो ।

मायादेवी मन्दिर केही हदसम्म पहुँचयुक्त भए पनि अन्य गुम्बाहरुमा गाईबस्तु, साइकल र मोटरसाइकल यात्रुलाई अवरोध गर्न खडा गरिएका पिल्लरहरुले गर्दा बारम्बार चुनौतीको सामना गरिरहनुपर्‍यो । ठाउँ-ठाउँमा चामलको बोराजस्तै उचालिनु, बोकिनु र ओरालिनु पर्दा उहाँहरुले ‘डिग्निटी गुमेको महशुस’ गरेको कुराले भने मेरो मन पोलिरहृयो ।

अक्टोबर ९ मा भैरहवाबाट हवाइ मार्ग हुँदै पोखरा लाग्यौँ । बस्नका लागि लेकसाइडस्थित स्विस इन्टरनेसनल होटलमा व्यवस्था गरिएको रहेछ । होटलमा पुगी फ्रेस भएर लञ्चका लागि लेक साइडमा पहुँचयुक्त रेस्टुरेन्टको खोजी गर्दा त्यो पनि भेटिएन । पुनः महामहिम र रोसानोलाई बोकेर नै खुडि्कलामा उकाल्नु र ओराल्नु पर्दा सारै लज्जाबोध भयो ।

फेवातालको सयरमा पनि पहुँचयुक्त स्लोप र ढुङ्गा फेला परेन । यसपटक त महामहिमज्यूको पनि हिम्मतले हारेजस्तो देखियो । उहाँले भन्नुभयो, ‘होस् ग्राहो हुन्छ । हजुरहरु जानुहोस् म, रोसानो र जमुना यही रहन्छौँ ।’ योभन्दा दिक्दारीको अवस्था के हुन्थ्यो होला ? सबैका लागि खुला गरिएको भनिएको फेवाताल वास्तवमा हाम्रा लागि कति खुला रहेछ त ?

तर, सबै साथीहरुको अनुरोध र नेपाली दाजुभाइको सहयोगमा डुंगाको यात्रा गर्‍यौं । पारि बराही मन्दिर वरिवरि भने पहुँचयुक्त स्लोपहरुको निर्माण पोखराका स्वावलम्बन जीवनपद्दति समाजका साथीहरुले अस्ट्रेलियन सरकारसँगको सहकार्यमा गरेका कारण सुखद् रहृयो ।

१० अक्टोबर बिहानीको सूर्योदय र सुन्दर हिमाल हेर्न समयमै सारङकोट पुग्यौँ । पुग्नु नै पर्ने गन्तव्य करिब तीनतला जति माथिको पहाडको ढिस्को रहेछ । कुनै स्लोप वा लिफ्टको व्यवस्था नभएका कारण पुनः खुडि्कलै खुडकिलाका बाटोमा बोकिनु पर्ने नियतिलाई रोज्नुपर्ने भयो ।

हृविलचियरसहित विस्तारै माथि उकाल्दा र ओराल्दा त्रस्त हाम्रो मनोदशाको वयान गरीसाध्य छैन । तैपनि सहयोगी साथ र मनकारी नेपालीका हातका कारण डाँडामा पुगी सूर्योदय र सुन्दर हिमालको दृश्यको अवलोकन गर्ने अवसर मिल्यो ।कैयौँपटक म आफैं पनि पोखरा पुगें । तापनि यसरी अन्नपूर्ण, माछापुच्छ्र्रे र सूर्योदयलाई त्यतिको उचाइबाट नियाल्ने अवसर पहिलोपटक नै पाएकी थिएँ । त्यहाँ रहुन्जेल मिलेका अदभूत अनुभव अहिले पनि ताजै छन् ।

११ अक्टोबर बिहान बुद्ध एयरबाट काठमाडौं फर्कने योजना थियो । तर, पुनः उही सकस दोहरियो । बुद्ध एयरले अपाङ्गता भएका र जेष्ठ नागरिकका लागि पहुँचयुक्त स्लोपको व्यवस्था गरेको छ भनेता पनि न पोखरा, न भैरहवामा न त काठमाडौंमा यसको प्रयोग गर्न पाइयो । हामीलाई बुद्ध एयरले झुक्यायो मात्र । चामलको बोरा बोकिए सरह व्यक्तिका पिठ्युँमा बोकिएर झर्दा होस् वा उक्लँदा, महामहिमका आखाँले ‘बुद्ध एयरले पहुँचयुक्त स्लोपको व्यवस्था गरेको छ भनेको होइन खै त ?’ भनेर प्रहार गरेको अनुभूति मैले गरेँ ।

हामी बारम्बार पैरवी गर्छौँ । तर शून्य भएर फर्कन्छौँ । यद्यपि अर्को यात्रामा यस्तो नहोस् भन्ने झिनो आशा पनि राख्छौँ । ११ अक्टोबर स्वावलम्बन जीवन पद्दति केन्द्रका काठमाडौं र एटिभा मेन्टेका साथीहरुबीच केन्द्रमा नै विविध पक्षमा कुराकानी भयो । स्वावलम्बन जीवन पद्दति केन्द्र र एटिभा मेन्टेले आ-आफ्नो देशमा अपाङ्गताका आन्दोलनमा पुर्‍याएको योगदान, उपलब्धि र स्वालम्बन जीवन पद्दतिको अवधारणामा भएको समबुझाइबारे छलफल भयो ।

एटिभा मेन्टेले नेपालमा अपाङ्गता भएका बालबालिकाका लागि हृविलचियर उत्पादनमा पुर्‍याएको योगदानका लागि सम्मान गर्दै सम्मान पत्र हस्तान्तरण गरियो । साथै दुबै पक्षबाट मायाको चिनो आदान प्रदान भयो । सन् २०११ मा सान मारिनोमा तोमासोनीकै पहलमा विश्वकै पहिलो अन्तर्राष्ट्रिय पहुँचयुक्त पर्यटन व्यवसाय सम्मेलन रहेछ त्यसको स्मरण गर्दै उहाँले भन्नुभयो, हामीलाई गर्व छ कि हामीले रोपेको पहुँचयुक्त पर्यटन व्यवसायलाई नेपालले पनि २०१७ मा भव्यताका साथ सम्पन्न गरेको रहेछ । यद्यपि यहाँ निकै सुधार आवश्यक छ ।

नेपाल भ्रमण २०२० पनि नजिकिँदै गरेको अवस्थामा अपाङ्गता भएका व्यक्तिहरु पनि पर्यटक भई नेपाल आउँछन् र आफ्नो होलिडेलाई निकै उल्लासका साथ बिताउन चाहन्छन् भन्ने सोच राख्दै काम गरेमा मात्र सबैका लागि पयर्टन व्यवसाय हुनेछ ।उहाँले आफूहरुको टर्किसको हवाई यात्रा त्यत्ति सहज नभएको र नेपालमा पनि पहुँचयुक्त छौं भनेर भनिएको बुद्ध एयरको यात्रा पनि कष्टकर रहेको गुनासो गर्नुभयो । उहाँका अनुसार टर्किस एयरले हृविलचियरका ब्याट्री र चार्जर बोक्न नदिएको र निक्कै पैरवी गर्नुपरेको बताउनुभयो ।

अपाङ्गता भएका व्यक्तिहरुको सकृय जीवनका लागि पहुँचयुक्तता, सहायक सामग्री र मानव सहयोग सेवालाई प्राथमिकतामा राखेर पैरवी गर्नुपर्ने सुझाउनुभयो । राजनीतिक इच्छाशक्ति, स्रोतको पहिचान, अपाङ्गता भएका साथीहरुबीच एकता र नेटवर्किङलाई बलियो बनाइरहन आवश्यक हुने बताउदै आम समुदायले पनि अपाङ्गता भएका व्यक्तिहरुलाई एलियनहरुलाई जस्तो व्यवहार नगरेर आफ्नै देशका नागरिक, दाजुभाई दिदी बहिनी साथीभाइको जस्तो व्यहार गरेमा अपाङ्गता भएका व्यक्तिहरु पनि सक्रिय जीवन विताउन सक्षम हुने कुरामा जोड दिनुभयो ।

१० दिनसम्मको बसाइमा मैले महामहिमज्यू र उहाँका साथीहरुको जीवनप्रतिको दृष्टिकोणबाट धेरै सिक्ने मौका पाएँ । विशेषतः महामहिमज्यूको साधारण जीवनशैली, गुनासो नगर्ने बानी, सबैलाई संवेदनशीलतासाथ निर्देशन दिने कला, जस्तै अप्ठ्यारो परिस्थितिलाई पनि हार्दिकताका साथ सामाधानका लागि उपाय खोज्ने, सानो सानो सहयोग पाउँदा कृतज्ञता व्यक्त गर्ने व्यवहार, विश्वको राजनीति र उक्त राजनीतिले ल्याएको असल वा खराब प्रभाव दुबैका बारेमा स्पष्ट दृष्टिकोण आदि गुणहरुले निक्कै प्रभावित बनायो ।

साथै उहाँको समूहमा हुनु भएका साथीहरु डा. मार्काे, पुलिस अधिकृत सब्रिना, बच्चाका लागि टोय व्यवसायी सुसी, सांसद मरिना, एटिभा मेन्टेका साथीहरु ग्युलियानो, मकिना, मरिना मिस र क्यारोलिना आदि सबै मनमा असल मित्रका रुपले अटाएका छन् । त्यसमा पनि मिस ग्लोरिया जसले सेतो रक्तकोषिकामा लागेका क्यान्सरलाई जितेर नयाँ जीवन पाएकी छन्, उनको साहस र संघर्षपूर्णको जीवनले हर कोहीलाई जीवनको मूल्यबोध गराउँछ ।

भौगोलिक विविधता, प्राकृतिक सुन्दरताले भरिपूर्ण शान्तिका जन्मदाता बुद्ध भगवानको देश, वीर गोर्खालीको देश, आफ्नै मौलिकता र इमानदार नेपालीको हँसिलो अनुहारले हृदय जितेको महसुस गर्नुभएका सबै अतिथिहरु खुलेर नेपालको प्रशंशा गर्दै नेपालको विकास र समृद्धिका लागि साथ रहने वाचाका साथ आफ्नो देश र्फकनुभएको छ । अब हामी आफैंले धेरै गर्न बाँकी छ ।

यी १० दिन मैले जीवनमा कल्पनासम्म नगरेको एक च्याट सम्वादबाट शुरु भएर समाज रुपान्तरणका लागि जटिल तर प्रेरक यात्रामा परिणत भयो । अब विश्वास छ, प्रत्येक मानिसले स्वतन्त्र र पहुँचयुक्त जीवनका लागि आज गरेको संघर्षका प्रत्येक कठिन कोसिसहरु भोलि सफलतामा परिणत हुनेछन् । (From nline khabar)

(सुवेदी स्वावलम्वन जीवन पद्दति केन्द्र काठमाडौंकी महासचिव हुन्)

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

  • मध्यपुरको कला सँस्कृति जोगाउँन भित्ते चित्रमा जोड image

    मध्यपुरको कला सँस्कृति जोगाउँन भित्ते चित्रमा जोड

    बिमल कुमार विश्वकर्मा/ भक्तपुर । कला संस्कृतिमा निकै धनी छ भक्तपुर । चारवटै नगरपालिकाले पहिलो प्राथमिक्तामा राखेका छन् सस्कृतिलाई । त्यही भएर त होला लोपउन्मुख अवस्थामा रहेका कला सँस्कृति...

  • हिलेमा आजदेखि खाना महोत्सव image

    हिलेमा आजदेखि खाना महोत्सव

    धनकुटा । धनकुटाको व्यापारिक केन्द्र हिले बजारमा पाँच दिने तेस्रो खाना महोत्सव सुरु भएको छ । पर्यटन प्रवर्द्धनको माध्यमबाट आर्थिक गतिविधि बढाउने उद्देश्यले महोत्सव सुरु भएको हो । ‘रैथाने...

  • कुपिन्डे ताल image

    कुपिन्डे ताल

    सल्यान । बनगाड कुपिन्डे नगरपालिका ८ मा अवस्थित कुपिन्डे तालमा गर्मी छल्न जाने आन्तरिक पर्यटक बढ्दै छन् । यस याममा गर्मी छल्न तथा मनमोहक सो तालको अवलोकन गर्न दाङ,...

  • देवर भाउजू, नन्द भाउजू र साली भिनाजु एकापसमा सिस्नु पानी छ्यापेर बिसु पर्व मनाइँदै image

    देवर भाउजू, नन्द भाउजू र साली भिनाजु एकापसमा सिस्नु पानी छ्यापेर बिसु पर्व मनाइँदै

    काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा आज ‘बिसु’ पर्व मनाइँदैछ । नयाँ वर्षको दिनलाई धूमधामसंग बिस पर्वका रूपमा मनाउने चलन छ । बिसुमा मीठा मीठा खानाका परिकार बनाउने र विशेष गरेर...


hotelghyampedanda