भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपीडितका लागि सूर्यविनायक नगरपालिकाको ५५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग | अमेरिकालाई तेलमा पहुँच दिँदै भेनेजुएला : ‘स्रोतसाधन र सार्वभौमसत्ता आफ्नै नियन्त्रणमा’ | बाढी–पहिरोमा नेपाललाई छिमेकीको साथ : भारतबाट डीएनए टोली, र चीनबाट सुरुङ विज्ञ सहित ५० टन राहत | सिराहामा मोटरसाइकलको भाइजरमा लुकाएको ब्राउन सुगरसहित २६ वर्षीय युवक पक्राउ | दुई महिनामै सार्वजनिक खरिद नियमावलीमा दुई संशोधन, ठेक्काको म्याद थप्ने बाटो फेरि खुला | उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन शुरु | कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको चेतावनी, पहिरो र बाढीको जोखिम | भोटेकोशीमा बाढीको जोखिम तत्काललाई कम, हल्लाको पछि नलाग्न आग्रह |

‘गोकर्ण देशे’बाट बिदा भयो नवदुर्गा गण

‘गोकर्ण देशे’बाट बिदा भयो नवदुर्गा गण

काठमाडौँ । गोकर्णेश्वर नगरपालिकामा रहेको ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक महत्वको ‘गोकर्ण देशे’ भक्तपुरबाट आएको नवदुर्गाका गणलाई बिदाइ गरिएको छ ।मल्लकालदेखि भक्तपुरबाट नवदुर्गाका गण आएर गोकर्णेश्वर क्षेत्रमा देखाइने गरेको नवदुर्गा नाच ३३ वर्षपछि गोकर्ण देशेका विभिन्न टोलका साथै त्यहाँस्थित मठ मन्दिर क्षेत्रमा तीन दिनसम्म प्रदर्शन गरिएको थियो । नवदुर्गा नाच प्रस्तुत गर्ने समूहलाई बुधबार बिदाइ गरिएको वडा नं ४ का अध्यक्ष जयराम महतले जानकारी दिनुभयो । ३३ वर्षपछि ऐतिहासिक महत्वको बस्तीमा नाच प्रस्तुत भएपछि स्थानीयवासी खुसी भएका छन् ।स्रोत अभावमा ३३ वर्षपछि यो जात्रा गोकर्ण देशे गाउँमा पुनरागमन भएको हो । रणजीत मल्लको पालामा सुरु भएको नवदुर्गा नाच प्रत्येक वर्ष पौष शुक्ल पक्षमा गोकर्णेश्वरमा आउने चलन भए पनि बीचमा ३३ वर्ष स्रोत अभावमा बन्द रहेको थियो । यस वर्ष गोकर्णेश्वर नगरपालिकाले नाचका लागि बजेट व्यवस्थापन गरेपछि नाच देखाइएको हो ।नवदुर्गा, भैरव, गणेशलगायत देवी देवताको मूर्तिसहित नवदुर्गाका गण भक्तपुर दरबार क्षेत्रबाट पैदल टोखा–साङ्ला–चपली हुँदै सोमबार बेलुकी गोकर्ण देशे गाउँ आइपुगेको थियो । गोकर्ण देशे गाउँको बस्ती नेपालका ऐतिहासिक राजा मानदेवले बसालेको विश्वास गरिन्छ । पैदल आउनेक्रममा पुलबाट समेत नहिँडी नदीमा पैतालाले छोएर तर्नुपर्ने नियम छ ।

नवदुर्गाका गण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवेबाट आई त्यहीँबाट फर्कने गरेका छन् । दुई सय वर्षभन्दा पुरानो नवदुर्गा नाचको मार्गमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि यही मार्ग भएर आउने गरिएको हो । विमानस्थलको सुरक्षामा खटिएको सुरक्षा समूहले समेत नवदुर्गाका गणलाई आउन दिने गरेको छ । पशुपति क्षेत्रमा नाच देखाउन पनि यो मार्गबाट आउने गरेको छ ।नाच देखाउने क्रममा नवदुर्गाका गण पौष शुक्ल तृतीया र चतुर्थी गरी दुई रात गोकर्ण देशे गाउँस्थित नवदुर्गा डबलीअघिको देवता घरमा बस्ने गरेका छन् । तान्त्रिक विधिमा आधारित नवदुर्गा नाचका क्रममा यो संस्कृतिलाई गिज्याउँदा दुष्परिणाम भोग्नुपरेका किम्वदन्तीसमेत प्रचलित छन् ।नवदुर्गा नाच गोकर्णेश्वर क्षेत्रसँगै पशुपति क्षेत्रको जयवागेश्वरी, बनेपाको चण्डेश्वरी, टोखा चण्डेश्वरी, साङ्ला, ठिमीलगायत स्थानमा रहेका देवी मन्दिरअघि समेत लगेर नाच देखाउने परम्परा छ । यस वर्ष पशुपति क्षेत्रमा गत मोक्षदा एकादशीका दिन यो नाच देखाइएको थियो ।जाडो महिनामा जात्राको समय पर्ने भएकाले दुई रातसम्म गोकर्ण देशे गाउँको नवदुर्गा डबलीअघि गणलाई आगो बालेर ताप्ने व्यवस्थासमेत मिलाइन्छ । विगतमा नवदुर्गा गणका नाममा गुठी राखिएकामा मासिएपछि विभिन्न स्थानमा गएर जात्रा देखाउन स्रोतको समस्या हुने गरेको गणनायकको भूमिका निभाउँदै आउनुभएका दयाराम वनमाला बताउनुहुन्छ । गुठी मासिएपछि नाच लैजाने स्थलका स्थानीयवासीको साथ र सहयोगमा यो ऐतिहासिक परम्पराले निरन्तरता पाउँदै आएको छ ।यो नाचका क्रममा नवदुर्गालाई गोकर्णेश्वरको मूल मन्दिर परिसरमा समेत परिक्रमा गराउने विधि रहेको गणका सदस्य बुद्धिबहादुर वनमालाले सुनाउनुभयो । यो जात्राका क्रममा तीन दिनसम्म गोकर्णेश्वर क्षेत्रमा नाचसहितको जात्रा हुन्छ । नवदुर्गा नाच सकेर बुधबार नवदुर्गाका गण पैदलमार्गबाट भक्तपुर फर्केको हो ।

 


Thali Mobile Pvt.Ltd.