भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

छोरीको हत्याको आरोपमा बाबुआमासहित सात पक्राउ

छोरीको हत्याको आरोपमा बाबुआमासहित सात पक्राउ

रौतहट । छोरीको हत्यामा संलग्न रहेको आरोपमा बाबुआमासहित सातजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा हत्याका आरोपी आमा, बाबु र पैसा लिएर अमृता साहलाई गोली हानेर हत्या गरेका अन्य पाँच जनालाई सार्वजनिक गरिएको छ । पक्राउ पर्नेमा बाबु रामअयोध्या साहतेली, आमा सीतादेवी र भाडाका हत्याका आरोपी देवाही गोनाही नगरपालिका–२ करुनिया लक्षमिनियाँका ६० वर्षीय शेख अलियास, सोही ठाउँका ४० वर्षीय बहुदल भने इस्लाम अन्सारी, ३५ वर्षीय शेख इन्ताज, ५० वर्षीय कैमुल देवान र परोहा नगरपालिका–४ का ४५ वर्षीय छोटेलाल साह रहेको प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले बताउनुभयो ।

आरोपी सबैले घटना स्वीकार गरिसकेको तथा उनीहरुमाथि ज्यानसम्बन्धी मुद्दा दर्ता गरी जिल्ला अदालत गौरबाट म्याद थमाएर थप अनुसन्धान गरिरहेको उपरीक्षक शाहले जानकारी दिनुभयो । उपरीक्षक शाहका अनुसार आरोपी बाबु रामअयोध्याकी छोरी अमृताको छिमेकी सोसिन्द्र भगतसँग पछिलो तीन वर्षदेखि प्रेम सम्बन्ध रहेको थियो । उनको प्रमलाई बेवास्ता गर्दै बाबुआमाले २०७६ साल असारमा सर्लाही विशुनपुर गाउँपालिका–३ का रुपेश साहसँग अमृताको बलपूर्वक विवाह गरेका थिए ।

अमृता केही महिना सर्लाही विशुनपुरमा रहेपछि उनका श्रीमान्
रुपेश साहमाथि धारिलो हतियारले आक्रमण भएको थियो । उक्त घटनामा श्रीमान् पक्षले अमृता र उनका प्रेमी सोसिन्द्रमाथि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा ज्यान मार्ने उद्योग मुद्दा दर्ता गराएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । उक्त घटनापछि अमृता माइतीघर लौकाहामै बस्दै आएकी थिइन् र गत असारमा श्रीमान्सँग सम्बन्ध विच्छेद भएको थियो । माइती बसेकी छोरी अमृता प्रेमी सोसिन्द्रसँग भागेमा समाजमा हाम्रो इज्जत जान्छ भन्ने उनका बाबुआमाले छोरीलाई कुनै बहानामा भारतमा लगेर परोहाका छोटेलाल साहलाई रु एक लाख ५० हजार दिएर हत्या गराउने बुबा रामअयोध्या र अर्का ज्वाइँ देवाही गोनाही–२ करुनियाका लक्ष्मण साहले मिलेर योजना बनाएको थियो ।

योजनाअनुसार अमृतालाई उपचार गराउने बहानामा सीमावर्ती भारतीय बजारमा केही महिनाअघि लगिएको थियो तर त्यहाँ योजना सफल हुन सकेन र अमृता माइतीमै आएर बसिरहेकी थिइन् । बुबा रामअयोध्या र ज्वाइँ लक्षुमणले इज्जतका लागि भनेर देवाही गोनाही–२ करुनिया लक्षमिनियाका कैमुल देवानलाई अमृताको हत्या गर्न रु एक लाखको सुपारी दिएको प्रहरी उपरीक्षक शाहले जानकारी दिनुभयो । मुख्य योजनाकार कैमुलले अन्य अभियुक्तसँग मिलेर गत कात्तिक २६ गते राति आमासँग आफ्नो घरमै सुतिरहेका बेला हत्या गरेको बताइएको छ ।

आमा उठेर शौचालय जाँदा राति साढे ११ः०० बजे अमृताको कञ्चटमा गोली हानी हत्या गरिएको पत्रकार सम्मेलनमा बताइएको थियो । घटनापछि मृतकका श्रीमान्, प्रेमी र परिवारका सदस्यको अनुसन्धान गर्दै जाँदा अपराधी पक्राउ तथा हत्याको योजना बाहिर आएको प्रहरी उपरीक्षक शाहले बताउनुभयो । अन्य छ जना आरोपी यसअघि नै पक्राउ परे पनि मुख्य योजनाकार कैमुल भने सर्लाही मलङ्गवामा लुकीछिपी बसेको अवस्थामा आजै पक्राउ परेको उहाँले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । रासस

 


Thali Mobile Pvt.Ltd.