भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग कर्णाली प्रदेशको दैलेख जिल्ला दुल्लू नगरपालिकाका जनप्रतिनिधि टोलीले बुधबार भेट गरेको छ । बुधबार भएको भेटमा उनीहरुबीच शिक्षा, स्वास्थ्य, सम्पदा पुनःनिर्माणलगायतका विषयमा भएका विविध कार्यहरुबारे अनुभव आदानप्रदान भएको हो ।
भेटमा नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाद्वारा सञ्चालित सातवटा शैक्षिक संस्थाहको सञ्चालन र उद्देश्यबारे प्रष्ट पार्दै भूगोल, इतिहास, संस्कृति, राजनीतिशास्त्र र नेपालभाषामा उच्च शिक्षा हासिल गर्न पी. एच. डी. सम्मका विद्यार्थीहरुलाई भक्तपुर नपाले पूर्ण छात्रवृत्तिको व्यवस्थालाई निरन्तरता दिँदै आइरहेको जानकारी दिए ।
नगरबासीहरूलाई सहज स्वास्थ्य उपचारको लागि घरदैलो नर्सिङ सेवा र वडा वडामा चिकित्सक सहित स्वास्थ्य केन्द्रहरु स्थापना गरी उपचार सेवा प्रदान गर्दै आइरहेको बताउदै उनले भक्तपुरमा बीएएलएलबी र बीबीएम विषय सञ्चालनको तयारीमा जुटेको बताए । भक्तपुर नगरपालिकाले आफ्ना हरेक गतिविधि जनसमक्ष पारदर्शी ढंगले प्रस्तुत गर्दै आइरहेको बताउदै उनले विदेशी सहयोगविना भक्तपुर नपाले यहाँका सम्पदाहरुको पुनःनिर्माण तथा जीर्णोद्धार कार्यलाई जोड दिएको बताए ।
भेटमा दुल्लु नपा वडा नं. ८ का वडाध्यक्ष सुशिलकुमार भण्डारीले बाइसे चौबिसे राज्यकालमा दुल्लु राज्यको राजधानीको रुपमा चर्चित दुल्लु नपा ६ वटा गाविसलाई समायोजन गरी बि.सं. २०७१ साल वैशाख २५ गते दुल्लु नपाको रुपमा घोषणा भएको ऐतिहासिक एवम् सांस्कृतिक महत्व बोकेको नगरपालिका भएको जानकारी दिए ।
दुल्लु नपाको आन्तरिक आम्दानी निकै कम रहेको र त्यहाँ अवस्थित ऐतिहासिक सम्पदाहरु संरक्षण चुनौतीपूर्ण हुँदै गएको बताउँदै भक्तपुर नपाले गरिरहेको कामबाट निकै प्रभावित भएको र यहाँबाट सिक्ने मनसायले भक्तपुर अवलोकन भ्रमणमा आएको बताए । भेटमा भक्तपुर नपा वडा नं. १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौंमिखा, दैलेख नपा ११ का महारुप खत्री र ८ कै मिलन फुयालको उपस्थिति रहेको थियो ।
