काठमाण्डौ । चक्रवात ताउ–ते र पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले नेपालमा पनि असर गरिरहेको छ । भारतमा बनेको चक्रवातको असर अस्तिदेखि नेपालमा पनि परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । चक्रवात विस्तारै कमजोर बन्दै गएको र उत्तर–पूर्वतर्फ सरिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
भारतको गुजरात आसपासमा रहेको चक्रवात ताउ–ते र पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले मौसम बदली भएको हो । उच्च हिमाली केही ठाउँमा हिमपात र वर्षाको सम्भावना छ । त्यस्तै आजराति पनि पश्चिमका केही ठाउँमा ठूलो पानी पानी पर्ने र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
मेघगर्जन र हावाहुरीसहित पानी पर्ने, खोलामा पानीको सतह बढ्ने भएकाले घरबाहिर निस्कँदा या कतै यात्रा गर्दा सुरक्षित रहन महाशाखाको आग्रह छ । कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशमा एकरदुई ठाउँमा ठूलो र अरु ठाउँमा सामान्य पानी पर्ने सम्भावना छ । बाँकी वाग्मती, प्रदेश दुई र एकका पहाडी केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना रहेको ।
