काठमाडौँ । कोरोना कहरबीच कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) तथा कक्षा १२ को राष्ट्रिय परीक्षा सञ्चालनबारे अध्ययन सुरु भएको छ । कोभिड–१९को सङ्कट भइरहँदा आठ लाखभन्दा बढि विद्यार्थीलाई कसरी परीक्षाको निकास दिने भन्नेबारे अध्ययन सुरु भएको हो ।
बोर्डले जेठ १३ गतेबाट एसईई तथा जेठ अन्तिम साताबाट कक्षा १२ को परीक्षा लिने निधो गरेको थियो । कोरोना बढ्दै गई निषेधाज्ञाको चरणमा पुगेपछि परीक्षा स्थगित गरी परिवर्तित परिस्थितिमा परीक्षाको मोडालिटीका विषयमा अध्ययन गर्ने निर्णय गरेको थियो । राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको मोडालिटीका बारेमा अध्ययन गर्न कार्यदल समेत गठन गरेको छ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालको नेतृत्वमा अध्ययन समिति गठन बनाइएको परीक्षा बोर्डले जनाएको छ । वैशाख २७ गते गठन गरिएको कार्यदललाई १५ दिनको समयसीमा दिइएको थियो । राष्ट्रिय परीक्षा बोर्ड उक्त समितिको प्रतिवेदनको प्रतिक्षामा रहेको र प्रतिवेदनले देखाएको बाटोमा परीक्षा बोर्ड अगाडि बढ्ने परीक्षा बोर्डले जनाएको छ ।
