काठमाडौं । सन् २०२१ मा विद्युतीय कार प्रयोग गर्नेको सङ्ख्या इजरायलमा चार सय प्रतिशतले वृद्धि भएको जनाइएको छ । सन् २०२० मा इजरायलमा दुई हजार सात सय ८३ वटा विद्युतीय कार रहेकामा सन् २०२१ को अन्त्यमा विद्युतीय कारको सङ्ख्या १३ हजार नौ सय ३९ पुगेको इजरायलको केन्द्रीय तथ्याङ्क ब्युरोले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
बढ्दो पेट्रोलियम मूल्य र जलवायु परिवर्तनको असरबारे सचेतना अभिवृद्धिका कारण इजरायलमा नयाँ विद्युतीय सवारी किन्ने तथा आफूसँग भएका सवारी साधनलाई अपग्रेड गरेर विद्युतीय बनाउने क्रम बढेकोउल्लेख गरिएको छ । सन् २०२० मा ट्रक, बस र मोटरसाइकलसहित कुल चार हजार चार सय ९१ वटा विद्युतीय सवारी साधन रहेकोमा सन् २०२१ को अन्त्यमा १६ हजार दुई सय ५१ पुगेको प्रतिवेदनले जनाएको छ ।
