काठमाडौं । नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाको मेयरमा सिर्जना सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आज दिउँसो शान्तिबाटीकामा भेला भएर उम्मेदवारी दर्ता गराउन जाने नेपाली काँग्रेस काठमाडौंले जनाएको छ ।
को हुन सिर्जना सिंह ?
नेपाली कांग्रेसकी महासमिति सदस्य हुन सिर्जना सिंह । काठमाडौंको मुहार बदल्न अब महिला मेयर बनाउनुपर्छ भन्ने धारणा राखेकी सिर्जनालाई नै अहिले काठमाडौंको मेयर बनाएको छ ।
महानगर सुधारका काम गर्न र व्यवस्थित सहर बनाउने सिर्जनाको यसपाली चर्चा निकै चल्न थालेको छ । विद्यार्थी राजनीतिबाट सक्रिय राजनीतिमा आएकी सिर्जना नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहका धर्मपत्नी हुन् ।
लौहपुरुष गणेशमान सिंहको बुहारी भएपनि उनले नेपाली काँग्रेसको राजनीतिमा महत्वपूर्ण भूमिका निर्वाह गरेकी छन् । नेविसंघको सक्रिय राजनीति पृष्ठभूमिबाट नै राजनीति बुझेकी सिर्जनाले काठमाडौंको मात्रै होइन नेपालकै मुहार फेर्न बहुमत महिलालाई नै योगदानका आधारमा अग्रपंतिमा पु¥याउनु पर्ने बताउँदै आएकी छन् ।
कसैको बुहारी वा श्रीमती भएका कारण राजनीति आएको हो भन्ने धारणा राख्नु भन्दा पनि पार्टी भित्र स्वयम व्यक्तिको योगदान स्थापित हुनु पर्ने बताउँछिन् ।
काठमाडौं क्षेत्र नम्बर ७ बाट १४ औं महाधिवेशनमा निर्विरोध महाधिवेशन प्रतिनिधि निर्वाचित भएकी सिर्जना अहिले पनि बहुमतका साथ काठमाडौंबासीले जिताउनेमा ढुक्क छिन् ।
गत चैत २२ गते नेपाल महिला संघ काठमाडौं जिल्ला समितिको बैठकले सिर्जना सिंहलाई काठमाडौंको मेयर बनाउनुपर्ने सर्वसम्मत निर्णय गरेको हो । आसन्न स्थानीय तहको निर्वाचनमा गठबन्धनबाट सिर्जना मेयरको साझा उम्मेदवारका रुपमा आएकी छन् ।
१४ औं महाधिवेशनमा सभापतिका लागि दोस्रो चरणको निर्वाचनअघि सिंहले शेरबहादुर देउवालाई समर्थन दिएको कुरालाई मध्यनजर गरी देउवापनि सकारात्मक भएको नेताहरुले बताएका छन् । सिंहकै साथमा सभापतिमा दोहोरिएका देउवाले उनको मुल्याङ्कन गर्न पछि नपरेको कतिपय नेताहरुले बताए ।
लोकतान्त्रिक आन्दोलनमा सिंह परिवारको योगदान
नेपालको लोकतान्त्रिक आन्दोलनमा सिंह परिवारको योगदान नजरअन्दाज गर्न नहुने छ । नेपाली कांग्रेसका संस्थापक नेता गणेशमानको चाक्सीबारीस्थित निवासकै आँगनबाट २०४६ सालको जनआन्दोलन घोषणा गरिनुले पनि यो परिवारको योगदान कति छ भन्ने कुरा सहजै बुझ्न सकिन्छ ।
अंकगणित
अघिल्लो स्थानीय तह निर्वाचनमा काठमाडौ महानगरपालिकाको प्रमुखमा एमाले र उपप्रमुखमा कांग्रेसले जित हासिल गरेका थिए । मेयरमा एमालेका विद्यासुन्दर शाक्य र उपमेयरमा कांग्रेसकी हरिप्रभा खड्गी विजयी भएका थिए ।
शाक्यले ६४ हजार ९ सय १३ मत ल्याउँदा कांग्रेसका राजुराज जोशीले ४५ हजार २ सय ६९ मत ल्याएका थिए ।यसअघि मेयरमा राप्रपाले एमालेलाई र उपमेयरमा एमालेले राप्रपालाई सघाएका थिए ।
उपमेयरमा हरिप्रभा खड्गीले ५८ हजार ९ सय ५२ मत ल्याएर विजयी भएकी थिइन् । राप्रपाका राजाराम श्रेष्ठले ३४ हजार ८ सय ५४ मत ल्याएका थिए । माओवादी उम्मेदवार सर्वोत्तम डंगोलले मेयरमा ७ हजार ९ सय ६ मत ल्याएका थिए ।
तर यसपालीको चुनावमा गठबन्धनको बलियो आधार रहेको काँग्रेसले बताएको छ । चुनावी तालमेल हुँदा कांग्रेस, माओवादी र एमालेबाट विभाजित भएको एकिकृत समाजवादीको मतले जित लगभग निश्चित जस्तै देखिएको कतिपयले बताएका छन् ।
तर स्वतन्त्र उम्मेदवारहरूले कसको कति मत काट्छन् भन्ने विषयले परिणाममा फेरबदल हुनसक्ने कुरालाई पनि नकार्न सकिदैन ।
