कोभिड –१९ महामारीको पाठ : प्रकृति अनुकूल आचरण गरौँ

कोभिड –१९ महामारीको पाठ : प्रकृति अनुकूल आचरण गरौँ

काठमाडौं । कोभिड–१९ महामारीले मानव समाजले प्रकृति अनुकूल आचरण अवलम्बन शिक्षा दिएको विभिन्न क्षेत्रका विज्ञहरुले जनाएका छन् । त्रिभुवन विश्वविद्यालय, वातावरण केन्द्रीय विभाग, रिसोर्सेज हिमालय फाउण्डेशन, काठमाडौँ विश्वविद्यालयलगायत संस्थाले आज भर्चुअलरुपमा आयोजना गरेको अन्तर्राष्ट्रिय सङ्गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्दै प्रा पीताम्बर शर्माले पहाडको पातलो बस्ती, भौगोलिक दूरी, विकटतामा भएकाहरु यस महामारीमा लाभदायी भएको र घना बस्ती तथा शहरी क्षेत्रका बासिन्दा आक्रान्त बनेको दृष्टान्त प्रस्तुत गर्दै यसलाई मानव समाजले ठूलो शिक्षामा रुपमा ग्रहण गर्नुपर्ने बताउनुभयो ।

अन्तर्राष्ट्रिय पर्वतीय विकास केन्द्र ९इसिमोड० का महानिर्देशक डा पेमा ग्याम्सोले जलवायु परिवर्तनको मार खेपिरहेका पहाड र यसमा आश्रित मानिसमाथि कोभिड–१९ को थप विपत्ति आइपरेको जनाउनुभयो । प्राज्ञ डा दिनेशराज भुजुले पहाडका स्रोतहरुमा निर्भर नेपालले पर्वतीय पारिस्थितिक प्रणालीको संरक्षण र यसको ज्ञान श्रीवृद्धिमा विशेष अभिरुचि लिनुपर्ने बताउनुभयो ।

त्रिविका वातावरण विभाग प्रमुख रेजिना मास्केले पर्वतका महत्व ठूलो रहेर पनि यसबारे बोलिदिने आवाज सानो भएको बताउनुभयो । सङ्गोष्ठीमा नेपालसहित विश्वका विभिन्न मुलुकका १५८ जना वैज्ञानिक तथा विज्ञहरुको सहभागिता थियो । विज्ञहरुका अनुसार पृथ्वीको झण्डै २० प्रतिशत भूभाग पर्वत–पहाडले ढाकेको छ, जहाँ विश्वका १३ प्रतिशत मानिस बस्दछन् । पहाडलाई ताजा पानीको खानी पनि मानिन्छ । रासस

 


Thali Mobile Pvt.Ltd.