भर्खरै : Sorry, your browser does not support inline SVG.
केरुङमा भीषण पहिरो : ७ जनाको मृत्यु, ५५४ जना अझै बेपत्ता | आज पनि बाढीको जोखिम कायमै : भोटेकोसी–त्रिशूलीमा उच्च सतर्कता, यी जिल्लामा बढ्न सक्छ बहाव | क्यान्सरका बिरामीलाई झट्का : सिस्प्लाटिन र कार्बोप्लाटिन तीन महिनादेखि बजारमै अभाव | बाढीले बगाएको बैंकको सेफ फोडेर पैसा निकाल्ने २९ जना पक्राउ, ९२ लाखभन्दा बढी बरामद | रसुवा बाढीको कहर : मृतकको संख्या ६१६ पुग्यो, चितवनमा मात्रै २३३ शव फेला | भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह |

गुराँसको जङ्गलभित्र घोडा र साइकल मार्ग

गुराँसको जङ्गलभित्र घोडा र साइकल मार्ग

म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिकास्थित घोडेपानी क्षेत्रको गुराँसको जङ्गलभित्र घोडा र साइकल मार्ग बनाइएको छ । अन्नपूर्ण–६ मा पर्ने घोडेपानीदेखि वडा नं ७ को प्यारीबाराही ताल जोड्ने साइकल र पोन्नी “ट्रेल” घोडा मार्ग निर्माण भएको हो । गाउँपालिकाले पहिचान गरेको घोडेपानी–प्यारीबाराही ताल जोड्ने मार्गमा प्रदेश सरकारले चरा अवलोकन स्थल र घोडा बाँध्ने तबेलासमेत बनाएको छ ।

घोडेपानी भ्रमणमा आउने पर्यटकको बसाइ लम्ब्याउन प्यारीबाराही ताल जोड्ने पदमार्ग पहिचान गरेर पूर्र्वाधार निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष सुशील पुनले जानकारी दिनुभयो । “घोडेपानीदेखि प्यारीबाराही ताल जोड्ने साइकल र पोन्नी ट्रेक घोडा हिँड्ने मार्गका साथै चरा अवलोकन स्थल र तबेला निर्माण गरिएको छ”, उहाँले भन्नुभयो, “सडकका कारण छोटिएको पर्यटकको बसाइ लम्ब्याउन सहायक गन्तव्य बनाएका हौँ ।”

कोरोनाको जोखिम र निषेधाज्ञाको असहज अवस्था भए पनि वनमा असर नपुग्ने गरी स्थानीय युवकयुवती र मजदुर परिचालन गरेर मार्ग बनाइएको हो । घोडेपानी–प्यारीबाराही मार्गमा पूर्वाधार निर्माणका लागि चालु आर्थिक वर्षमा प्रदेश सरकारले डिभिजन वन कार्यालयमार्फत रु २० लाख बजेट विनियोजन गरेको थियो । सो बजेटबाट फरक–फरक ठाउँमा डेढ मिटर फराकिलो तीनरतीन किलोमिटरको साइकल र घोडा मार्ग निर्माण भएको सहायक वन अधिकृत नवीन विश्वकर्माले बताए ।

“लालिगुराँसको घना जङ्गलको बीचमा समथर चौर भएको कालीसार भन्ने ठाउँमा चरा अवलोकन स्थल बनाइएको छ”, उहाँले भन्नुभयो, “गुराँसे जङ्गलको पृष्ठभूमिमा धौलागिरि, अन्नपूर्ण शृङ्खलाका हिमालको दृश्य अवलोकन गर्न सकिन्छ ।” यसैगरी भालखारामा पर्यटक चढ्ने घोडा बाँध्ने तबेला निर्माण भएको छ । घोडेपानी आसपासका सम्भावित नयाँ पर्यटकीय गन्तव्य स्थलमा पूर्वाधार विकास गरेर पर्यटकको बसाइ लम्ब्याउने उद्देश्यले नयाँ अवधारणाको मार्ग बनाइएको गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताए।

घोडेपानी र प्यारीबाराही क्षेत्रमा ठूलो गुराँसको जङ्गल छ । जङ्गलमा डाँफे, कालिज, मृग, चितुवा, घोरललगायत वन्यजस्तुको बसोबास छ । जैविक विविधताका हिसाबले पनि यो पदमार्ग आकर्षक छ । घोडेपानी र प्यारीबाराही तालको नजिकै पर्ने फूलबारीमा प्रदेश सरकारकै रु १० लाख सहयोगमा गुराँस पार्क स्थापना भएको छ । घोडेपानीबाट पर्यटकहरु घोडा र साइकल दुवै चढेर प्यारीबाराही ताल जान तथा आउन सक्ने भएका छन् ।

जङ्गलको बीचमा रहेको प्यारीबाराही तालको धार्मिक तथा पर्यटकीय सम्भावना छ । तालमा हिमालको छायाँ देखिन्छ । जनैपूर्णिमा पर्वमा यहाँ पूजाआजा गरेमा मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ मेला लाग्ने गर्छ । करिब २०० मिटर लम्बाइ र १०० मिटर चौडाइमा गोलो आकारमा फैलिएको ताल आकर्षक छ । तालमा खस्ने पात एउटा चराले टिपेर फाल्ने गरेको स्थानीयवासी बताउँछन् ।

 


Thali Mobile Pvt.Ltd.