११ साउन २०७७ महेन्द्रनगर । भीमदत्तनगरपालिका उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुई वर्ष बितिसक्दा हत्यारा पत्ता लगाउन अझै प्रहरी असक्षम छ । दुई वर्षअघि साउन १० गते साथीको घरमा स्कूलको गृहकार्य गर्न आएकी बालिका पन्तको शव साउन ११ गते नजिकैको उखुबारीमा भेटिएको थियो ।
घटनापछि मुलुभर दोषीलाई कानूनी कारवाहीको दायरामा ल्याउन आन्दोलन हुनुका साथै उक्त मुद्दा अन्तर्राष्ट्रियस्तरमा पनि चर्चाको विषय बने पनि पछिल्लो समय प्रहरी अनुसन्धान सुस्ताएको देखिन्छ । यसअघि प्रहरी प्रमुख रहिसक्नुभएका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र त्यसपछिका प्रमुख ठाकुरप्रसाद ज्ञवालीले घटनास्थलसमम्म पुगेर चासोका साथै अनुसन्धानमा जोडबल गरे पनि अपराधी भने पत्ता लगाउन सकेनन् ।
सरकारले उच्चस्तरीय छानबिन समितिका साथै राष्ट्रिय मानवअधिकार आयोग र प्रहरीले विभिन्न छुट्टाछुट्टै छानबिन समिति गठन गरेर पनि घटनाको सुक्ष्म अनुसन्धान गरेको थियो । विभिन्न समितिका प्रतिवेदनले घटनाबारे थप आशङ्का व्यक्त गर्नुका साथै प्रमाण मेटिएकाले हत्यारा पत्ता लगाउन कठिन हुनेसमेत बताए ।
तत्कालीन प्रहरी अतिरिक्त महानिरीक्षक धिरु बस्न्यातको टोलीले कञ्चनपुर पुगेर घटनाबारे अनुसन्धान गर्दै जिल्ला प्रहरी कार्यालयको घटनाप्रतिको लापरवाही र प्रमाण सङ्कलनमा चुकेको भन्दै तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक डिल्लीराज विष्टसहित सात जना निलम्बल गरेको थियो ।
हाल प्रहरी उपरीक्षक विष्ट र प्रहरी निरीक्षक जगदीशप्रसाद भट्ट बर्खास्तीमा छन् भने तत्कालीन प्रहरी अनुसन्धान ब्यूरो (सिआइबी)का प्रहरी नायब उपरीक्षक अङ्गुर जिसीसहित अन्य पाँच प्रहरी कर्मचारीको टोली निलम्बनमा छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले हरेक आयामबाट अनुसन्धान जारी रहेको बताए । RSS