भर्खरै : Sorry, your browser does not support inline SVG.
पलाँता गाउँपालिकाको सडक निर्माणमा भ्रष्टाचार आरोप, १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा | ‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु | त्रिभुवन विमानस्थल आसपास खुला फोहोर थुप्रिँदा सरुवा रोग र बर्ड स्ट्राइकको उच्च जोखिम | अर्घाखाँचीमा ‘बाँदर हेरालु’का लागि दरखास्त खुल्यो, मासिक १२ हजार ५०० रुपैयाँ तलब | स्ट्रेट अफ होर्मुजमा आक्रमण भए इरानका पूर्वाधार ध्वस्त पार्ने ट्रम्पको चेतावनी | फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच अभियान, गाँजा सेवन गरेका ३ डुङ्गा चालक पक्राउ | बिलबिजक नराख्ने खाद्य स्टोरलाई ५ हजार रुपैयाँ जरिवाना | पहाडी क्षेत्रका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह |

पर्यटकलाई आकर्षित गर्दै ‘छन्त्याल’ होमस्टे

पर्यटकलाई आकर्षित गर्दै ‘छन्त्याल’ होमस्टे

गलेश्वर, । म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जा गाउँमा पुग्ने आन्तरिक पर्यटक यहाँ सञ्चालित छन्त्याल होमस्टेको खानपान र आतिथ्य सत्कारबाट प्रभावित हुने गरेका छन् । प्राकृतिक सुन्दरता, छन्त्याल संस्कृति र ग्रामीण जीवनशैलीको अध्ययन अवलोकनका लागि गुर्जामा पुग्ने पर्यटकको खानेबस्ने सुविधाका लागि स्थानीयवासीले होमस्टे सुरु गरेपछि यहाँ पुग्नेलाई सजिलो भएको छ । अल्पसङ्ख्यक छन्त्याल समुदायको बसोबास रहेको गुर्जा गाउँमा होमस्टे घरबास सञ्चालन गरिएको हो ।

गुर्जाका ६ वटा घरमा ५० जना क्षमताको होमस्टे सञ्चालन गरिएको वडाध्यक्ष झकबहादुर छन्त्यालले बताए । पाहुनाका लागि छुट्टै कोठाको व्यवस्था गरेका गुर्जावासीले फूलमालाले स्वागत गर्नुका साथै छन्त्याल संस्कृति पस्कनेछन् । होमस्टेमा च्याउ, टुसा, स्थानीय कुखुरा, खसी, फाँपरको रोटी, ढिँडोलगायत स्थानीय परिकारको स्वाद चाख्न पाइन्छ । छन्त्याल समुदायको मौलिक संस्कृति, ग्रामीण जीवनशैली, जैविक विविधता, वन्यजन्तु तथा पृष्ठभूमिमा देखिने हिमालको सुन्दरता गुर्जा गाउँको आकर्षण हो ।

गुर्जाबाट देखिने गुर्जा, चुरेन, पुथा र गुर्जा पश्चिम हिमालको मनमोहक दृश्यले पर्यटकलाई थप लोभ्याउछ । लुलाङदेखि जङ्गल र भिरको बाटो आठ घण्टाको पैदलयात्रापछि पुगिने गुर्जादेखि ढोरपाटन शिकार आरक्षको रुघाचौर जोड्ने सिकारी पदमार्ग निर्माण गरिएको छ । गाउँपालिकाको दश लाख अनुदानमा निर्माण गरिएको पदमार्गको प्रचारप्रसार गरेर पर्यटकलाई आकर्षित गर्ने योजना छ । पैदल यात्रामात्र नभएर घोडचढी सुविधा पनि यहाँ उपलब्ध छन् । ढोरपाटन शिकार आरक्षको घुस्तुङ र वार्षे ब्लक यही गुर्जामा पर्दछ ।

गुर्जामा यार्सागुम्बा, निरमसी, पाँचआँैलेलगायत जडीबुटी पाइन्छन् । कस्तुरी, मृग, रतुवा, झारल, घोरललगायत वन्यजन्तु यहाँ अवलोकन गर्न पाइन्छ । पर्यटक आउन थालेपछि स्थानीयवासीले गाउँलाई सफा र सुन्दर बनाएको स्थानीयवासी प्रेम छन्त्यालले जानकारी दिए । आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्न थालेपछि उत्साहित बनाएको यशोदा होमस्टेकी सञ्चालिका भीममाया छन्त्यालले बताउनुभयो । धौलागिरि गाउँपालिकाको केन्द्र मुनाबाट ११ घण्टाको पैदलयात्रापछि गुर्जा गाउँ पुग्न सकिन्छ ।

 


Thali Mobile Pvt.Ltd.