सप्तरी । संविधानसभाका पूर्वसदस्य मानपुर चौधरीको कोरोना संक्रमणबाट आज निधन भएको छ । कञ्चनरुप नगरपालिका –४ जगतपुर निवासी चौधरीको उपचारका क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।
सास लिन कठिनाइ भएपछि असोज तेस्रो साता उपचारका लागि कोशी अस्पताल विराटनगर लगिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियाँलाल यादवले बताए । स्वास्थ्यकर्मीको निगरानीमा अक्सिजन लगाई उपचार गर्दा समेत सास फेर्न गाह्रो भएपछि गत असोज २ गते राति थप उपचारका लागि उनलाई बिपी प्रतिष्ठान लगिएको थियो ।
दुई पटक कोरोना परीक्षण गराउँदा पहिलो पटक नेगेटिभ र दोस्रो पटक पोजेटिभ देखिएको थियो । आइसोलेशनमा उपचारकै क्रममा उनको आज मृत्यु भएको नगर प्रमुख वसन्तकुमार मिश्रले बताए ।
