फोरजीमा आधारित भ्वाइस ओभर एलटीई सेवाको परीक्षण सुरु

फोरजीमा आधारित भ्वाइस ओभर एलटीई सेवाको परीक्षण सुरु

काठमाडौं । नेपाल टेलिकमले सोमबारदेखि फोरजीमा आधारित भ्वाइस ओभर एलटीई सेवाको परीक्षण सुरु गरेको छ । विश्व दूरसञ्चार तथा इन्फरमेसन सोसाइटी दिवसको अवसर पारेर नेपालमै पहिलो पटक यस्तो सेवा कम्पनीले सुरूवात गरेको हो । यो सेवाको उपलब्धतासँगै फोरजी मोबाइलमा हाई डेफिनेसन (एचडी) भ्वाइस, डायल गर्ना साथ सम्पर्क कायम हुने नेटवर्कको सहज उपलब्धताका साथै सेवामा थप गुणस्तरीयता महसुस गर्न सकिने छ भने कम्पनीले ग्राहकको माग अनुसार आफ्ना सेवाहरुमा आधुनिकीकरण गर्ने क्रममा वायरलेस प्रविधिको चौथो पुस्ताको फोरजीमा एलटीई प्रविधिअन्तर्गत यस्तो सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।

यो सेवा कम्पनीका प्रिपेड तथा पोस्टपेड फोरजी मोबाइलमा परीक्षणको रुपमा सुरूवात भएको हो । कम्पनीले जनाएको छ । माग बमोजिम उपलब्ध हुने यो सेवाका लागि नेपाल टेलिकमका सेवाग्राहीसँग भीओएलटीई सपोर्ट गर्ने मोबाइल सेट हुन जरुरी छ । प्रयोगकर्ताले आफ्नो मोबाइलबाट  *444#  डायल गरी प्राप्त निर्देशन अनुसार यो सेवा एक्टिभ गराउन सक्नेछन् । यो सेवा मोबाइलमा सक्रिय गर्नका लागि मोबाइलको सेटिङमा गएर भीओएलटीई कल फर एनटीसी सिम समेत इनेबल गर्नुपर्ने हुन्छ । त्यसलगत्तै मोबाइल सेटको माथिल्लो लहरमा भीओएलटीईको संकेत देखा पर्दछ ।

त्यसपछि *111# डायल गर्नुपर्ने हुन्छ । यदि तपाईंको मोबाइलबाट यो अङ्क डायल हुन्छ भने सोच्नुहोस्, तपाईंको मोबाइलमा टेलिकमको यो नयाँ सेवा चलाउन सकिन्छ । अन्यथा भीओएलटीई सपोर्ट नगर्ने अवस्थामा  यो नम्बरमा तपाईंले डायल गर्न सक्नुहुन्न । नेपाल टेलिकमले यो सेवा प्रयोग गर्ने ग्राहकलाई आफ्नो नेटवर्कमा २८ दिनसम्म प्रयोग गर्न सकिने गरी एक पटकका लागि १०० मिनेट भीओएलटीई भ्वाइस सुविधा निःशुल्क उपलब्ध गराउने छ ।

 


Thali Mobile Pvt.Ltd.