भर्खरै : Sorry, your browser does not support inline SVG.

विदेशमा ६ महिना काम गरेर फर्किएकाले मात्र २ वटा मोबाइल ल्याउन पाउने

विदेशमा ६ महिना काम गरेर फर्किएकाले मात्र २ वटा मोबाइल ल्याउन पाउने

काठमाण्डौ । वैदेशिक रोजगारीमा छ महिनासम्म काम गरेर फर्किएका नेपालीले मात्रै दुई वटा मोबाइल फोन ल्याउन पाउने भएका छन् । भन्सार विभागले आज एक सूचना जारी गर्दै श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको छ महिना पूरा भएकाले मात्रै दुई वटा मोबाइल फोन ल्याउन पाउने जनाएको हो । विभागका निर्देशक पुण्यविक्रम खड्काले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपालीले एउटा चलाइरहेको र एउटा सिलप्याकु वा दुवै चलाइरहेको मोबाइल ल्याउन पाउने बताउनुभयो ।

उहाँका अनुसार अध्ययन तथा अन्य प्रयोजनका लागि विदेशिएका नेपालीले भने एक थानमात्रै मोबाइल ल्याउन पाउनेछन् । ‘श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गई लगातार कम्तीमा छ महिनासम्म काम गरी फर्केका नेपाली नागरिकले महसुल सुविधामा ल्याउन पाउने थप एक थान मोबाइल फोनको भन्सार कार्यालयमा घोषणा गरी भन्सार प्रक्रिया पूरा गर्नुपर्छ’, जारी सूचनामा भनिएको छ, ‘अन्य प्रयोजनका लागि विदेशिएका नेपालीले एक थान मोबाइल फोन सेटको घोषणा भने भन्सार कार्यालयमा गर्नुपर्दैन ।’ यही वैशाख २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले यो निर्णय गरेको थियो ।

यात्रुहरूले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका मालवस्तुसम्बन्धी आदेश २०७७ मा विदेशबाट फर्कने यात्रुले आफूले प्रयोग गरिरहेको मोबाइल फोन थान एक महसुल नतिरी ल्याउन पाउने व्यवस्था रहेको छ । त्यही व्यवस्थाअनुसार नेपाल दूरसञ्चार प्राधिकरणले जेठ १ गतेदेखि अवैध फोन नियन्त्रण गर्ने प्रणाली एमडीएमएस लागू गर्दैछ ।

त्यो फोन नेपाल दूरसञ्चार प्राधिकरणका प्रणालीमा व्यक्ति स्वयंले अनलाइन माध्यमबाट दर्ता गर्नुपर्ने भन्सार कार्यालयले जनाएको छ । दर्ताका लागि राहदानी वा नागरिकता र विदेश जाँदा र फर्किँदा देखिने राहादानीको पृष्ठ वा बोर्डिङ पास अपलोड गर्नुपर्नेछ हुन्छ ।

यसअघि गएको पुस १५ गतेदेखि प्राधिकरणले अवैध फोन नियन्त्रण गर्ने प्रविधि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडीएमएस लागू गर्ने तयारी गरेको थियो । प्राधिकरणले यो प्रणाली लागू गर्ने तयारी गरेकामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा तत्कालका लागि यो काम रोकिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.